ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उत्तरी नाका बन्द : चीनसँगको व्यापार २० अर्ब घट्यो

२०७७ मंसिर, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । कोभिडपछि बन्द उत्तरी नाका सञ्चालनमा आउन नसक्दा त्यसको प्रभाव नेपाल र चीनबीचको व्यापारमा परेको छ । गतवर्ष माघदेखि उत्तरी नाका बन्दप्रायः भएपछि नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीनसँगको व्यापारमा गिरावट आएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ को पहिलो ४ महीनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा द्विदेशीय व्यापार रू. २० अर्बले कमी आएको छ । विभागका अनुसार चालू आव २०७७/७८ मा रू. ६० अर्ब ४१ करोडको द्विदेशीय व्यापार भएको छ । अघिल्लो वर्ष यही अवधिमा नेपालले चीनसँग रू. ८० अर्ब ८९ करोडको व्यापार गरेको थियो । २०७२ को भूकम्पपछि नेपालको चीनसँगको व्यापारमा आयात र निर्यात दुवै बढ्दै गएकोमा यस वर्ष आयात र निर्यात दुवै घटेको हो ।

अघिल्लो वर्ष नेपालबाट चीनमा रू. ७१ करोडको सामान निर्यात भएको थियो भने रू. ८० अर्ब १८ करोडको सामान आयात भएको थियो । यस वर्ष आयात रू. ६० अर्ब १२ करोड र निर्यात २९ करोडमा सीमित भएको छ ।

कोभिडका कारण गतवर्ष माघदेखि बन्द चीनसँग जोडिएका उत्तरी नाकाहरू अझैसम्म बन्दप्रायः छन् । उत्तरतर्फका नाकामध्ये तातोपानी र रसुवागढी नाकामात्र आंशिक रूपम सञ्चालनमा आएका छन् ।

दैनिक सयौं कन्टेनर सामान आउने नाकाबाट हाल मुश्किलले ५ कन्टेनर सामान आयात भइरहेको व्यवसायीहरू बताउँछन् । नेपाली कन्टेनरहरू सीमापारि जान नपाउँदा चीनसँगको व्यापार प्रभावित भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले बताए ।

गत माघपछि बन्द नाका सरकारले जेठ दोस्रो सातादेखि सञ्चालनमा ल्याएको बताएको थियो । तर, हालसम्म पनि नाका पूर्णरूपले सञ्चालनमा आइनसेको उनी बताउँछन् । उनले भने, ‘दैनिक सयौं कन्टेनर सामान आयात निर्यात हुने नाकाबाट अहिले दैनिक ५ कन्टेनरसम्म मात्र सामान आयात भइरहेको छ ।’

भन्सार विभागले चिनियाँ नाका प्रभावित भए पनि समग्र वैदेशिक व्यापार भने सुधारोन्मुख रहेको विभागको भनाइ छ । विभागका अनुसार चालू आवको पहिलो ४ महीनामा रू. ४ खर्ब २ अर्ब रुपैयाँको सामान आयात भएको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १० प्रतिशत मात्र कम हो । अघिल्लो वर्षको यही अवधिमा नेपालबाट रू. ३६ अर्ब २७ करोडको सामान निर्यात भएकोमा यस वर्ष निर्यात १० प्रतिशतले वृद्धि भई रू. ४० अर्ब २ करोड पुगेको छ । आयातमा कडाइ गर्ने र निर्यात प्रवर्द्धन गर्ने सरकारी नीति नै भएकाले वैदेशिक व्यापार सुधारोन्मुख रहेको विभागका महानिर्देशक सुमन दाहालले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)