ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारकै कारण भ्रष्टाचार बढ्यो : ट्रान्सपरेन्सी इन्टरनेशनल

२०७७ मंसिर, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलको ग्लोबल करप्सन ब्यारोमिटर एशियाको प्रतिवेदनअनुसार अनुसन्धानमा सहभागीमध्ये ८४ प्रतिशत नेपालीले भ्रष्टाचारको मूल कारण सरकार रहेको बताएका छन् ।

सर्वेक्षणमा सहभागी १२ प्रतिशतले पछिल्लो १२ महिनामा सार्वजनिक सेवा लिन घुस दिएको बताएका छन् । २९ प्रतिशत नेपालीले सार्वजनिक सेवा प्रयोग गर्न व्यक्तिगत पहुँच नै प्रयोग गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । ७ प्रतिशत नेपालीले सार्वजनिक सेवा लिँदा यौन दुर्व्यवहारको समस्या झेल्नुपरेको समेत प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा सहभागी १३ प्रतिशत नेपालीले घुससँग मत साट्ने प्रस्ताव आएको बताएका छन् ।

प्रतिवेदनले एशियामा भ्रष्टाचार एउटा प्रमुख समस्या भएको पनि देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचारको विषयमा मार्च १९ देखि सेप्टेम्बर २०२० सम्म एशियाका नेपालसहित १७ देशका करिब २० हजार मानिसमा सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणले एशियामा भ्रष्टाचार बढ्दै गएको देखाएको छ । साथै, सरकारप्रतिको विश्वासमा पनि कमी आएको प्रतिवदेनमा उल्लेख छ । इन्टरनेशनलको प्रतिवेदनअनुसार भ्रष्टाचार सूचकांकमा नेपाल कुल सय अंकमा ३४ अंकका साथ ११३ स्थानमा रहेको छ । अघिल्लो वर्ष नेपाल ३१ अंकसहित १२४ औं स्थानमा रहेको थियो ।

एशियामा स्वास्थ्य सेवा जस्ता आवश्यक सेवाहरू उपयोग गर्दा ५ मध्ये १ जनाले घुस दिने गरेको सर्वेक्षणले देखाएको छ ।

गत वर्षमा सार्वजनिक सेवा प्रयोग गरेका व्यक्तिहरू मध्ये १९ प्रतिशतले घुस दिएको प्रतिवेदनमा उल्लेख छ ।

उक्त अनुसन्धानले एशियामा सरकारी भ्रष्टाचार नै ठूलो समस्या भएको देखाएको छ । सर्वेक्षणमा सहभागीहरूले आफ्नो देशमा सरकारी भ्रष्टाचार नै ठूलो समस्या भएको बताएका छन् । सर्वेक्षणले घूसखोरीबाहेक सरकारी सेवाको प्रयोगमा व्यक्तिगत पुहँचको पनि ठूलै मात्रामा प्रयोग हुने गरेको देखाएको छ । सार्वजनिक सेवा प्रयोग गर्ने ५ व्यक्तिमध्ये एक अर्थात् २२ प्रतिशतले आफूलाई आवश्यक पर्ने सेवा प्रयोग गर्न व्यक्तिगत पहुँच प्रयोग गरेको रिपोर्टमा उल्लेख छ ।

यस्तै, घुसको मामिलामा उमेर समूह पनि प्रमुख कारण बनेको सर्वेक्षणले  देखाएको छ । १८ देखि ३४ वर्ष उमेरका युवाहरूले कुनै अन्य उमेर समूहलाई भन्दा घूस दिने वा व्यक्तिगत पुहँच प्रयोग गर्ने सम्भावना बढी भएको प्रतिवेदनमा उल्लेख छ ।

सर्वेक्षणले निर्वाचन वरपर झन भ्रष्टाचार हुने गरेको देखाएको छ । एशियामा पछिल्लो ५ वर्षमा कुनै पनि चुनावमा ७ मध्ये १ जनालाई घुस दिएर भोट हाल्न प्रस्ताव गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यसै सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष डेलिया फेरेरा रुबियोले भ्रष्टाचारले लोकतन्त्रलाई कमजोर बनाउने छैन भन्ने कुरा सुनिश्चित गर्न निर्वाचनको निष्ठाको रक्षा गर्नुपर्ने बताए । एशियाका ७६ प्रतिशत मानिस मुलुकको एन्टीकरप्सन एजेन्सीसँग परिचित छन् । त्यसमध्ये ६३ प्रतिशतले त्यस्ता एजेन्सीले राम्रो काम गरेको विश्वास गरेका छन् ।  

ट्रान्सपरेन्सी इन्टरनेशनलले एशियाको भ्रष्टाचार र घुसखोरीको विषयमा नागरिकको धारणाबारे गरेको यो विस्तृत सर्वेक्षण हो । कोरोनाको त्रासलाई लक्षित गदै सर्वेक्षणका लागि अधिकांश अन्तर्वार्ता टेलिफोनबाट गरिएको बताइएको छ । सर्वेक्षणमा सहभागी ३ मध्ये १ जनाले सांसदहरू नै भ्रष्ट भएको बताएका छन् । भ्रष्टाचारमा प्रधानमन्त्री र राष्ट्रपति तथा उनीहरूको कार्यालयको कर्मचारी पनि संलग्न रहेको सर्वेक्षणमा सहभागीहरूले बताएका छन् । त्यहाँका २६ प्रतिशत कर्मचारी भ्रष्टाचारमा संलग्न रहेको बताइएको छ ।

नेपालको हकमा भने ४३ प्रतिशत सहभागी नेपालीले सबै सांसद भ्रष्ट भएको बताएका छन् । अरूले भने केही सांसद मात्र भ्रष्ट भएको बताएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, ४३ प्रतिशत नेपालीले नेपालका सबै सरकारी कर्मचारी भ्रष्ट भएको बताएका छन् । अरूले केही कर्मचारी मात्र यसमा संलग्न रहेको बताएका छन् ।

यस्तै, स्थानीय तहका जनप्रतिनिधिहरू पनि भ्रष्ट रहेको प्रतिवेदनले देखाएको छ । सर्वेक्षणमा सहभागी ४० प्रतिशत नेपालीले स्थानीय तहका अधिकांश जनप्रतिनिधि भ्रष्ट रहेको बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)