ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चाडपर्व सकिएलगत्तै रोजगारीका लागि भारत जाने बढे

२०७७ मंसिर, १०  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । दशैं, तिहार र छठ सकिएलगत्तै रोजगारीका लागि भारत जाने युवाहरू बढेका छन् । रोजगारीका लागि भारत प्रवेश गर्न कञ्चनपुरका गौरीफन्टा र गड्डाचौकी नाकामा उनीहरूको लर्को लाग्ने गरेको छ ।

कोरोनाको सन्त्रासले घर फर्किएकाहरू स्वदेशमा रोजगारीका अवसर नभएपछि घरखर्च टार्नकै लागि पुनः भारत जान थालेका हुन् । पछिल्लो एक सातामा मात्रै करीब १० हजार नेपाली रोजगारीका लागि भारत पसेको जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरको तथ्यांक छ ।

कार्यालयका अनुसार मंसिर २ देखि ८ गतेसम्म गड्डाचौकी नाकाबाट १ हजार ७१३ जना र गौरीफन्टा नाकाबाट ८ हजार १८ जना जना रोजगारीको खोजीमा भारत गएका छन् । रोजगारीका लागि भारत जान पश्चिमी सीमा नाका गड्डाचौकी र गौरीफन्टामा मुख्यतः सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिकको भीड लाग्ने गरेको छ ।

गाउँ–घरमा काम नपाएपछि परिवार पाल्नकै लागि महामारीकै बीच भारत जानुपरेको दार्चुलाको लेकम गाउँपालिका–४ का तुला गिरीले बताए । ‘कोरोना देखापरेपछि घर आएको थिएँ, ६÷७ महीना यत्तिकै बित्यो, गाउँमा काम पाइँदैन,’ उनले भने, ‘घर खर्च चलाउनै मुश्किल भएपछि कामको खोजीमा भारत जान बाध्य छौं ।’ त्यस्तै जीविकोपार्जन गर्न धौ–धौ परेपछि कामका लागि आपूm भारत जान लागेको बैतडीको सिगास गाउँपालिकाका तेज धामीले बताए । भारतबाट फर्किएका युवा जनशक्तिलाई सरकारले स्वदेशमै रोजगारीका अवसर दिन नसक्दा उनीहरू पुनः भारततर्फ जानुपरेको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष जंगबहादुर मल्लले बताए ।

तीनै तहका सरकारले श्रमशक्तिलाई अवसरमा बदल्न नसकेको उनको टिप्पणी छ । ‘ठूलो जनशक्ति स्वदेश भित्रिएको थियो । तर, सरकारले शीपमूलक रोजगारी सृजना गर्न सकेन । सरकारले केही रणनीतिक योजना नै ल्याएन,’ उनले भने, ‘त्यसैले महामारीमा दुःखकष्ट खेप्दै स्वदेश आएका जनशक्ति पुनः बाहिरिन बाध्य भएका छन् ।’

जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका अनुसार भारत जानेको तुलनामा उताबाट स्वदेश भित्रिनेको संख्या आधा छ । पछिल्लो एक साता अवधिमा ५ हजारभन्दा बढी नेपाली भारतबाट फर्किएका छन् । प्रशासनको तथ्यांक अनुसार पछिल्लो एक साता अवधिमा गड्डाचौकी नाकाबाट २ हजार १११ जना र गौरीफन्टा नाकाबाट ३ हजार ४२६ जना स्वदेश फिर्ता भएका छन् । भारतमा कोरोना संक्रमण उत्कर्षमा रहेका बेला नाकामा कुनै स्वास्थ्य परीक्षणविना उनीहरू फर्किंदा स्थानीयस्तरमै संक्रमणको जोखिम बढेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)