ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विप्रेषण वृद्धि जारी

असोजमा मात्र रू. ९३.१३ अर्ब भित्रियो

२०७७ मंसिर, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिनेको संख्या घटे पनि चालू आर्थिक वर्ष २०७७/७८ को असोज महीनामा समेत विप्रेषण आप्रवाह वृद्धि भएको छ ।

नेपालमा औसतमा मासिक ७३ अर्ब रुपैयाँको हारहारीमा विप्रेषण भित्रिने गर्छ । तर, गत असोजमा औसतभन्दा बढी अर्थात् रू. ९३ अर्ब १३ करोड विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकको असोजसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले यस्तो देखाएको हो । गत आवको असोजमा भने ७६ अर्ब ५१ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो ।

दशैंतिहारको समयमा अघिपछि भन्दा बढी विप्रेषण आउने गरेको रेमिट कम्पनीहरू बताउँछन् । नेपाल रेमिटर्स एशोसिएशनका महासचिव रीतेश मित्तलले चाडपर्वकै कारण असोजमा विप्रेषण आप्रवाह राम्रो देखिएको बताए । ‘वैदेशिक रोजगारमा गएका नेपालीले दशैं, तिहार र छठ पर्वका लागि आवश्यक खर्च पठाउँदा असोजमा विप्रेषण आप्रवाह बढेको हो,’ उनले भने, ‘यो समयमा अघिपछि भन्दा बढी नै विप्रेषण आउँछ । तर, यसपटक भने अझ बढी नै विप्रेषण आएको देखियो ।’

चालू आवको पहिलो त्रैमासमा विप्रेषण आप्रवाह १२ दशमलव ६ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा रू. २ खर्ब ५८ अर्ब ८६ करोड विप्रेषण भित्रिएको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ५ प्रतिशतले घटेर २ खर्ब ३० अर्ब २४ करोड रुपैयाँमा कायम भएको थियो ।

कोरोना महामारीका कारण विप्रेषण आप्रवाहमा कमी आउने आकलन गरिए पनि नेपालमा गत जेठदेखि नै औसतभन्दा माथि अर्थात् ७३ अर्बभन्दा बढी विप्रेषण आप्रवाह भइरहेको छ ।

बन्दाबन्दीका शुरूका २ महीनामा वैदेशिक रोजगारीका प्रमुख गन्तव्यहरूमा समेत बन्दाबन्दी लगाइँदा पैसा पठाउन सक्ने स्थिति थिएन । त्यसैले चैत र वैशाखमा विप्रेषण आप्रवाह घटेको थियो । जेठ यता भने विप्रेषण आप्रवाहमा सुधार हुँदै आएको छ ।

बन्दाबन्दीका कारण हुन्डीजस्ता अनौपचारिक माध्यमबाट रकम आउन कम भएकाले विप्रेषण आप्रवाहमा सोचेजस्तो कमी नआएको बताइएको छ । बेलायत, अस्ट्रेलिया, यूएई, कोरियाजस्ता मुलुकबाट आउने विप्रेषणको ठूलो अंश हुन्डीमार्फत नै आउने गर्छ । तर, यस अवधिमा ती मुलुकबाट औपचारिक माध्यमबाट बढी विप्रेषण आएको बताइएको छ ।

पहिला विदेशमा भएका नेपालीले उपहारमा मोबाइल, ल्यापटपलगायत जिन्सी सामग्री किनेर नेपाल पठाउने गर्थे । तर, अहिले कोरोना प्रभावका कारण अन्तरराष्ट्रिय आवातजावत प्रभावित हुँदा त्यसको सट्टा पैसा नै आउँदा पनि विप्रेषण आप्रवाह बढेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।

कोरोनाको महमारीका कारण गत आवमा १० प्रतिशतले विप्रषण आप्रवाह घट्ने अनुमान थियो । तर, शून्य दशमलव ५ प्रतिशतले मात्र घटेको थियो । चालू आवमा भने शुरूदेखि नै विप्रेषण आप्रवाह बढ्दै गएको छ ।

विश्व बैंकले २०२० मा नेपाल आउने विप्रेषण १४ प्रतिशत, एशियाली विकास बैंक (एडीबी)ले २८ दशमलव ७ प्रतिशतले घट्ने प्रक्षेपण गरेका छन् । तर, गत असार यताको दरमा विप्रेषण आइरहने हो भने उनीहरूको प्रक्षेपण नमिल्ने देखिन्छ ।

दशैंतिहारपछि भने विप्रेषणमा केही कमी आएको नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृतसमेत रहेको रीतेश मित्तलले बताए । ‘दशैंतिहारपछि कम्तीमा १ महीना विप्रेषण आप्रवाह कमी हुने नै गर्छ । त्यसपछि भने विप्रेषण आप्रवाह पुनः बढ्न सक्छ,’ उनले भने, ‘अब सीमा नाकाहरू खुल्ला हुँदा हुन्डी जस्ता अनौपचारिक कारोबार पुनः शुरू हुन सक्छन् । त्यसो भयो भने विप्रेषण आप्रवाह प्रभावित हुन सक्छ ।’

राष्ट्र बैंकका प्रवक्ता भट्टले भने अबका दिनमा विप्रेषण आप्रवाहमा अनुमान गरे जस्तो संकुचन नआउने बताए । ‘कोरोनाको यो विषम परिस्थतिमा पनि श्रम गन्तव्य मुलुकहरूले त्यहाँ भएका कामदारहरूलाई स्वदेश नफर्क भनेका छन् । साथै, थप कामदारको माग गरेका छन्,’ उनले भने, ‘यो अवस्थामा अबका दिनमा विप्रेषण आप्रवाहमा संकुचन आउने सम्भावना कम छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)