ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रचण्डका आरोपप्रति ओलीको कडा प्रतिवाद

२०७७ मंसिर, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । प्रधानमन्त्री तथा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि सचिवालयमा पेश गरेको प्रतिवेदनलाई अभियोगपत्रको संज्ञा दिँदै प्रचण्डका आरोपप्रति कडा प्रतिवाद गर्नुभएको छ । नेकपा सचिवालयको शनिवार बसेको बैठकमा ओलीले प्रचण्डको प्रतिवेदनमाथि ५३ बुँदे प्रतिउत्तर प्रतिवेदन पेश गर्दै प्रचण्डमाथि संगीन खालका प्रश्नहरू तेस्र्याउनु भएको छ । यद्यपि अध्यक्ष ओलीले पेश गरेको प्रतिवेदनमाथि शनिवार छलफल भने हुन सकेन । शनिवारको बैठकमा पार्टी अध्यक्ष ओलीले आपूmविरुद्ध लगाइएका आरोपहरूको प्रतिवाद गर्दै जवाफसहितको राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो । उहाँले पेश गरेको प्रस्ताव अध्ययनका लागि खामबन्दी गरेर सचिवालय सदस्यहरूलाई दिइएको र उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मङ्सिर १६ गते दिउँसो १ बजे बस्ने सचिवालय बैठकमा छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा दुई अध्यक्षसहित झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमले पार्टी एकतालाई जोगाउनुपर्नेमा जोड दिँदै आफ्नो धारणा व्यक्त गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । नेकपाले मङ्सिर १८ गते बिहीवार स्थायी कमिटी र मङ्सिर २५ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । ओलीले प्रण्डलाई प्रचण्डद्वारा वितरित प्रस्ताव नभएर कुण्ठा भएको भन्दै नीतिगत बहस हो कि वारपारको लडाइँ ? भन्दै प्रतिप्रश्न गर्नु भएको छ । ‘तपाईंको यो प्रस्ताव वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको अभियोगपत्र हो र यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ । पार्टी एकीकरण अगाडिका, त्यस क्रममा भएका र त्यसयताका समग्र समझदारी र सोच विपरीत, आम निर्वाचनका क्रममा जनतामाझ गरिएका संकल्पका विपरीत, पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन, अन्तरिम विधान, एकीकरणको घोषणाको भावना तथा प्रावधान विपरीत एवं आम पार्टी पंक्ति, समर्थक–शुभचिन्तक र राजनीतिक स्थायित्वका पक्षधर आम जनताको चाहना विपरीतको यस प्रस्तावले देशैभरि चिन्ता फैलाइदिएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डलाई गिरिजाप्रसाद कोइरालादेखि माधवकुमार नेपालसम्मलाई धोका दिएको उल्लेख गर्दै जनयुद्ध, शान्ति प्रक्रियादेखि संविधानसभाको निर्वाचन त्यसपछिका महत्त्वपूर्ण घटनाक्रममा प्रचण्डको भूमिका र व्यवहारमाथि समेत प्रश्न उठाउनु भएको छ ।

प्रधानमन्त्री ओलीले पार्टी र सत्ता सञ्चालनमा एकलौटी गरेको भन्दै उहाँको कार्यशैलीप्रति प्रश्न उठिरहेको समयमा प्रचण्डको लिखित प्रस्ताव र त्यसको प्रतिउत्तर सहितको ओलीको प्रतिवेदनले नेकपाभित्रको विवाद छताछुल्ल भएको छ । यद्यपि आउने १६ गते बस्ने सचिवालय बैठकबाट विवादको निरूपण गर्दै नयाँ एकता कायम हुने अपेक्षा नेकपाका शीर्ष नेताहरूले गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)