ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्माण सामग्री उत्पादनका सकस

खुल्यो बन्दाबन्दी, बढेन बजार

२०७७ मंसिर, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । कोरोना महामारी र नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीका कारण खस्किएको निर्माण सामग्रीको बजार अझै उँभो लाग्न सकेको छैन । बन्दाबन्दी हटे पनि विकास निर्माणका कामले अझै स्वाभाविक गति नलिएकाले सिमेन्ट, डन्डीलगायत उत्पादनको मागमा सुधार नआएको उत्पादकहरूले बताएका छन् ।

निर्माण सामग्री उत्पादनमा पछिल्लो समय ठूलो लगानी आएपछि आन्तरिक बजारमा प्रतिस्पर्धा तीव्र बढेको छ । उत्पादनको तुलनामा बजार नबढेपछि उत्पादकबीच मूल्यमा मात्र नभएर कसले बढी समयका लागि उधारो दिने भन्ने प्रतिस्पर्धा चलेको थियो ।

मागको तुलनामा अधिक उत्पादनले बजार समस्याग्रस्त बनिरहेका बेला कोरोना महामारीले झन् समस्या थपिएको उत्पादकहरू बताउँछन् । अहिले उद्योगहरू पूर्ण क्षमतामा चल्ने हो भने मागको तुलनामा सिमेन्ट ३ गुणा र डन्डी दोब्बर उत्पादन हुने लगानीकर्ता बताउँछन् ।

बन्दाबन्दी खुलेयता अन्य उत्पादनको बजारले गति समाते पनि निर्माण सामग्रीको माग नबढेको उनीहरूको भनाइ छ । उत्पादकहरूले दैनिक खर्च चलाउन पनि लागतभन्दा कम मूल्यमा उत्पादन बेच्न थालेका छन् । यो अवस्थामा चाँडै सुधार नआए निर्माण सामग्री उत्पादनमा भएको लगानी संकटमा पर्ने उद्योगी प्रदीपकुमार केडिया बताउँछन् । सरकारी लगानीका ठूला विकास आयोजनालाई गति दिएर बजार बढाउनुपर्ने माग केडियाको छ ।

घट्यो सिमेन्टको मूल्य
केही महीनायता सिमेन्टको मूल्य निरन्तर ओरालो लागेको छ । सिमेन्टको बजारमा उच्च प्रतिस्पर्धा भइरहेका बेला कारोना महामारीले अर्को समस्या थपेको नारायणी सिमेन्ट उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुरले बताए । ‘बजारमा मागभन्दा अधिक आपूर्तिका कारण सिमेन्टको बजार यसै पनि शिथिल थियो । त्यहीँमाथि कोरोना महामारीले मन्दी थप्यो,’ ठाकुरले आर्थिक अभियानसँग भने, ‘बन्दाबन्दी खुले पनि निर्माणका कामले गति नसमातेकाले बजार खुम्चिएको छ ।’

बजारमा माग नभएपछि उत्पादकले सिमेन्ट सस्तोमा बेच्न थालेका छन् । बन्दाबन्दीयता क्लिंकर र तयारी सिमेन्टको भाउ घटेको उत्पादकहरू बताउँछन् । क्लिंकरको मूल्यमा ३५ प्रतिशतसम्म कमी आएको उत्पादकले जानकारी दिए । तयारी सिमेन्टको मोल २० देखि २५ प्रतिशतसम्म खस्किएको छ ।

कोरोना महामारी शुरू हुनुअघि प्रति मेटिकटन (मेट) १० हजार रुपैयाँमा विक्री हुने क्लिंकर अहिले ६ हजार ५ सय रुपैयाँमा विक्री भइरहेको उद्यमी बताउँछन् । बन्दाबन्दीअघि प्रतिबोरा ८५० पर्ने अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी)को मूल्य अहिले ६७० रुपैयाँमा झरेको ठाकुरले बताए ।

पोर्टल्यान्ड पोजोलना सिमेन्ट (पीपीसी)को पनि मोल घटेको छ । बोराको ८ सय रुपैयाँसम्म पर्ने यो सिमेन्ट अहिले ५७० रुपैयाँमा विक्री भइरहेको उत्पादकहरू बताउँछन् ।
स्वदेशमै भाउ सस्तिएपछि क्लिंकरको आयात करीब बन्दजस्तै भएको छ । अघिल्लो वर्षसम्म मुख्य आयातित वस्तुमा पर्ने सिमेन्ट अहिले यो सूचीबाट हटिसकेको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले जानकारी दिए ।

फलाम आयात आधा
बजारबाट अपेक्षित माग नआएपछि डन्डी उद्योगले कच्चा पदार्थको आयात पनि घटाएका छन् । स्वदेशी बजारमा मागमा मन्दी आएकै बेला भारतमा फलामको भाउ बढेपछि उत्पादकले फलाम भित्र्याएका छैनन् । यहाँका उद्योगले अधिकांश कच्चा पदार्थ भारतबाट भित्र्याउँछन् ।

बन्दाबन्दी खुलेलगत्तै चाडपर्व शुरू भएकाले बजार नबढेको अनुमान उद्यमी राजेश क्यालको छ । भर्खरै दशैंतिहार र छठजस्ता चाडपर्व सकिएकाले अब निर्माण सामग्रीको बजार बढ्ने उद्योगी क्यालको अपेक्षा छ । बजार बढेसँगै फलामको आयात पनि बढ्ने उनले बताए ।

वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासमा फलाम आयात करीब आधामा झरेको छ । यो वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा बन्दरगाहबाट १ लाख ८५ हजार मेट फलाम भित्रिएको छ ।

वर्ष २०७६/७७ को समीक्षा अवधिमा यो परिमाण ३ लाख ५९ हजार मेट थियो । वीरगञ्ज भन्सारबाट पनि फलामको आयात घटेको तथ्यांकले देखाउँछ । अघिल्लो वर्ष पहिलो ४ महीनामा ४८ हजार मेट एमएस बिलेट आएकोमा यो वर्षको त्यही अवधिमा ३४ हजार मेटमात्र भित्रिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)