ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सोयाबिन तेलको निर्यात ४०६% बढ्यो

२०७७ मंसिर, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । पछिल्लो समय पहिलो निर्यातयोग्य वस्तु बनेको प्रशोधित भटमास (सोयाबिन) तेलको निर्यात चालू आर्थिक वर्ष (आव) कात्तिकसम्म ४०६ प्रतिशतले बढेको छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले हालै सार्वजनिक गरेको चाल आवको पहिलो चौमासिक प्रतिवेदनले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार यस अवधिमा रू. १० अर्ब २६ करोड ३४ लाख बराबरको प्रशोधित सोयाबिनको तेल निर्यात भएको छ । केन्द्रका अनुसार त्यो तेल भारततर्फ नै निर्यात भएको हो । गत आवको सोही अवधिमा भने रू. २ अर्ब २ करोड ८३ लाखको सोयाबिनको तेल निर्यात भएको थियो ।

नेपालबाट निर्यात हुने वस्तुमध्ये शीर्षस्थान ओगटेको प्रशोधित पाम तेलमा भारतले गत वैशाखदेखि प्रतिबन्ध लगाएपछि अहिले त्यसको स्थान भटमास तेलले लिएको छ । तथ्यांकअनुसार चालू आवको शुरूदेखि नै प्रशोधित भटमासको तेल नेपालको पहिलो निर्यातयोग्य वस्तु बनेको हो ।

चालू आवको पहिलो चौमासमा रू. ४० अर्ब २० करोड बराबरको विभिन्न वस्तु निर्यात भएको छ । त्यसमा सोयाबिन तेलले २५ प्रतिशत अंश ओगटेको तथ्यांकमा उल्लेख छ ।

गत आवमा नेपालबाट भारत निर्यात हुने वस्तुमा प्रशोधित पाम आयल अग्रस्थानमा थियो । आव २०७६/७७ मा नेपालबाट रू. १८ अर्ब ३१ करोडको पाम आयल भारत निर्यात भयो । गत वैशाखको अन्तिम साता भारतको वैदेशिक व्यापार निर्देशनालयले पाम आयल आयातकर्ताको लाइसेन्स खारेज गरेपछि नेपालबाट यसको निर्यात ठप्प छ । त्यसपछि नेपालका व्यवसायीहरूले सोयाबिन तेलको उत्पादन बढाएका छन् । उत्पादन बढेपछि निर्यात पनि स्वतः बढेको व्यवसायीहरू बताउँछन् ।

विराटनगरस्थित श्रीराम रिफाइन उद्योगका सञ्चालक प्रदीप मुरारका भारतले प्रशोधित पाम आयलमा रोक लगाएपछि भटमासको तेल उत्पादन गर्न थालेको बताउँछन् । फलस्वरूप यसको निर्यात पनि बढेको उनको भनाइ छ ।

नेपाली व्यवसायीहरूले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इन्डोनेशिया तथा युक्रेनबाट भटमास आयात गर्छन् र प्रशोधन गरी भारत निर्यात गर्छन् । सबैभन्दा बढी कच्चा भटमास तेल अर्जेन्टिनाबाट आयात हुने गरेको छ । चालू आवको पहिलो ४ महीनामा ११ अर्ब ६ करोड ३१ लाख रुपैयाँको भटमास आयात भएको तथ्यांकमा उल्लेख छ । नेपालमा पनि सोयाबिन तेलको खपत उच्च मात्रामा हुने गर्छ ।

पहिलो त्रैमासमा भटमास तेलपछि सबैभन्दा बढी निर्यात हुने वस्तुहरूमा क्रमशः उनी कार्पेट, धागो, चियालगायत वस्तु रहेका छन् । समीक्षा अवधिमा कार्पेट रू. २ अर्ब ६० करोड, धागो रू. २ अर्ब ३३ करोड र चिया २ अर्ब ३० करोडको निर्यात भएको छ ।

चालू आवको पहिलो ४ महीना नेपालले कुल ४० अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० दशमलव ८ प्रतिशतले बढी हो । आयात भने १० दशमलव ६ प्रतिशतले घटेको छ । चालू आवको समीक्षा अवधिमा रू. ४ खर्ब २ अर्ब बराबरको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा भने ४ खर्ब ५० करोड बराबरको वस्तु आयात भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)