धनगढी । कैलाली र कञ्चनपुरमा अधिकांश क्रसर उद्योग लामो समयदेखि मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । कैलालीमा सञ्चालित ६ ओटा उद्योगमध्ये चारओटा मापदण्ड विपरीत सञ्चालित छन् भने कञ्चनपुरमा ११ मध्ये ९ ओटा क्रसर उद्योगले सामान्य मापदण्डको समेत पालना गरेका छैनन् । ‘विभिन्न आयोजनाका लागि सञ्चालनमा रहेका क्रसर उद्योगमध्ये अधिकांशले मापदण्ड पूरा गरेको पाइएको छैन,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने, ‘वातावरणीय प्रभाव मूल्यांकन समेत गराएका छैनन् ।’ यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीले गरेको अनुगमनमा जिल्ला भित्रका चारओटा क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ ।
राजमार्गभन्दा ५०० मिटर टाढा उद्योग सञ्चालन गर्नुपर्नेमा अधिकांशले त्यो मापदण्ड पूरा गरेका छैनन् । ‘उद्योग दर्ता अभिलेखमा मापदण्ड अनुसार देखाइए पनि व्यवहारमा त्यो देखिँदैन,’ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले भने, ‘क्रसर उद्योगीले नयाँ मापदण्ड अनुसार बालुवा धुने र प्रशोधन गर्ने मेशिन (फिरफिरे) तथा ढुंगा प्रशोधन उद्योग स्थापना गर्दा साइड ड्रेन, हिलो थिग्रेन पोखरी, फोहोर पानी प्रशोधनको व्यवस्था र वायु प्रदूषण नियन्त्रणका लागि समेत आवश्यक व्यवस्था गरेका छैनन् ।’ जिल्लामा क्रसर उद्योगहरूको विवरण सहितको प्रतिवेदन गृह मन्त्रालयमा पठाइएको उनले बताए ।
घरेलु तथा साना उद्योग कार्यालय धनगढीमा हालसम्म नदीजन्य पदार्थमा आधारित १२ उद्योग दर्ता भएका छन् । यीमध्ये दुईओटा बालुवा प्रशोधन केन्द्र र चारओटा क्रसर उद्योग रहेको कार्यालयका उद्योग अधिकृत नवराज भट्टले बताए । क्रसर उद्योगहरूलाई नयाँ मापदण्ड अनुसार दर्ता हुन १ वर्षको म्याद दिइएको भए पनि दर्ताका लागि नभएको उनको भनाइ छ । नयाँ मापदण्ड अपनाउन नसके यस्ता उद्योग बन्द गर्नुपर्ने उनले बताए ।
कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारी सहितको टोलीले गरेको अनुगमनमा अधिकांश क्रसर उद्योग दर्ता नै नभएको तथा एउटाको अनुमति लिएर अर्कैले काम गरिरहेको पाइएको छ । आयोजनाका लागि सञ्चालन हुने क्रसर उद्योगले आयोजना कार्यालयको सिफारिशमा स्थानीय तहबाट स्वीकृति लिनुपर्नेमा कुनै पनि उद्योगले नलिएको प्रजिअ महतोले बताए ।
जिल्लाका कृष्णपुर र वेदकोटमा सञ्चालित दुईओटा क्रसर उद्योग पनि मापदण्ड विपरीत रहेको प्रजिअ महतोको भनाइ छ । कृष्णपुर नगरपालिकाभित्र सञ्चालित आकांक्षा नेचुरल गिट्टी सप्लायर्स र वेदकोट नगरपालिकामा सञ्चालित वेदकोट निर्माण सामग्री बालुवा प्रशोधन केन्द्र मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको हो ।
आकांक्षाले सप्लाई गर्न मात्रै अनुमति लिएकोमा क्रसर उद्योग नै सञ्चालन गरेको र वेदकोटको प्रशोधन केन्द्रले पनि बालुवा प्रशोधनको मात्रै अनुमति पाएकोमा क्रसर उद्योग चलाएको हो । दुवै उद्योगलाई तत्काल बन्द गराउन निर्देशन गरिएको प्रजिअ महतोले जानकारी दिए । मापदण्ड विपरीत सञ्चालित क्रसर उद्योगले खोलानालाको जभाभावी दोहन गरेको भन्दै अनुगमनका लागि केन्द्रबाट निर्देशन आएपछि कैलाली र कञ्चनपुर प्रशासनले संयुक्त टोली बनाएर छुट्टाछुट्टै अनुगमन गरेका थिए ।