ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयरबजार उच्च : स्थायित्वसहितको बजार विस्तार आवश्यक

२०७७ मंसिर, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । शेयरबजारमा पछिल्लो समय देखिएको उतारचढावबाट नयाँ लगानीकर्ता जोखिममा पर्ने सक्ने देखिएपछि यसको स्थायित्वको पक्षमा आवाज उठ्न थालेको छ ।

बजारको अहिलेको उतारचढावलाई सूक्ष्म रूपमा अध्ययन गरी स्थायित्वका लागि नियामक निकाय तथा नीतिनिर्माताका बीच समन्वय हुनुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष एवम् अर्थविद् डा. रेवतबहादुर कार्कीले कोभिडका कारण अन्य क्षेत्रमा नकारात्मक असर परिरहेको बेला पूँजी बजारमा देखिएको उतारचढाव अस्वाभाविक रहेको बताएका छन् ।

देशको अर्थतन्त्र पहिलाको तुलनामा कमजोर भएको र सूचीकृत कम्पनीहरूको प्रगति पनि पहिलाभन्दा कमजोर रहेको अवस्थामा बजार बढ्नु जोखिमपूर्ण हुनसक्ने उनको अनुमान छ । लगानीकर्ताहरू हल्लाको पछि लागेको उनको भनाइ छ । बजार बढ्ने वा घट्ने सम्भावनाका कारण पहिचान नगरी बजार अझै माथि पुग्छ भन्ने हल्लाको पछि लगानीकर्ता लागेको कार्की बताउँछन् ।

बैंकले सस्तो ब्याजमा सहज कर्जा प्रदान गरेर पूँजी बजारका लागि प्रोत्साहन गरेकाले बैंक तथा वित्तीय संस्थाहरूलाई पनि चुनौती थपिएको उनको विश्लेषण छ । यो अवस्थामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेप्सेले संयुक्त रूपमा पूँजी बजारबाट कोही पनि नडुब्ने स्थिति बनाउन संयुक्त पहल गर्नुपर्ने सुझाव कार्कीले दिएका छन् ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा शेयरबजारमा उच्च उतारचढाव आउनुको आधारभूत कारण अन्य क्षेत्रको कारोबारमा सुस्ती आउनु, बैंकमा अधिक तरलतासँगै ब्याजदर घट्नुलाई लिन्छन् । कोभिडका कारण अन्य क्षेत्रहरूमा लगानी गर्ने स्थिति नहुँदा ती क्षेत्रको पैसा पनि पूँजी बजारमा भित्रिएको थापाको भनाइ छ । यति बेला लगानीकर्ताहरूले अर्थतन्त्रको आधारभूत पक्षभन्दा पनि शेयरबजारको आधारभूत पक्षलाई हेरेर लगानी गरेको थापाको अनुमान छ ।

यससँगै शेयरबजार राम्रो भयो भने अर्थतन्त्र पनि राम्रो हुन्छ भन्ने चाहनाले गरिएको नीतिगत परिवर्तनलाई पनि थापाले बजार बढ्नुको कारण बताएका छन् । राष्ट्र बैंकले शेयर धितो कर्जा अनुपात ६५ प्रतिशतदेखि बढाएर ७० प्रतिशत पुर्‍याएकाले पनि बजारमा वातावरण बनेको उनी बताउँछन् ।

नेपालको शेयरबजार संस्थागत लगानीकर्ताहरूको नेतृत्वमा नभएकाले त्यसको प्रभाव भोलिका दिनमा देखा पर्ने उनको विश्लेषण छ । ‘बजार अस्वाभाविक ढंगले माथि नजाओस्, साना लगानीकर्ता पीरमर्कामा नपरून् भन्नका लागि स्थायित्वसहितको बजार विस्तारका लागि नीतिनिर्माताहरू बीच समन्वय हुनुपर्छ,’ उनी सुझाव दिन्छन् । नेपाल लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले भने लामो समय घटेको बजारले बल्ल गति लिन लागेको बताए ।

बजारमा ८० प्रतिशतभन्दा बढी अंश ओगटेको वाणिज्य बैंकमा गरेको लगानीको लागत मूल्य अहिलेको बजारबाट प्राप्त भइनसकेकाले यो गतिले अझै निरन्तरता पाउने विश्वास अर्यालको छ । उनी भन्छन्, ‘नियामकले अस्वाभाविक रूपमा हुने कम्पनीको शेयर कारोबारलाई ध्यानमा राखेर आवश्यक कदम चलाए बजारले स्थायित्व पाउनेछ ।’

पछिल्लो १ महीनामा नेप्से परिसूचक ३५९ अंक माथि उक्लिएको छ । गत कात्तिक १६ गते १ हजार ६४० दशमलव ९५ विन्दुमा रहेको नेप्से परिसूचक मङ्सिर १६ गते २ हजार दशमलव ४० विन्दुमा पुगेको हो । दैनिक ३ अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुँदै आएको बजारमा पछिल्लो दिन ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।लगानीकर्ताहरूको सम्पत्ति पनि १ महीनाको बीचमा २१ खर्ब रुपैयाँदेखि बढेर २६ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)