ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुस्तायो ठूला आयोजनाको गति

अध्ययन थाल्दै आयोग

२०७७ मंसिर, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । सामान्य अवस्थामा समेत सुस्त गतिमा अघि बढेको राष्ट्रिय गौरवका आयोजनाहरूमा कोरोनाका कारण थप सुस्त भइरहेको सन्दर्भमा सरकारले यसबारे अध्ययन थालेको छ ।

ठूला आयोजनाले अपेक्षित रूपमा गति लिन नसकेपछि संसदीय समिति, राष्ट्रिय योजना आयोगले विशेष चासो देखाएर अध्ययन थालेका हुन् ।

राष्ट्रिय गौरवका आयोजनाहरूमा कोभिडको असरसम्बन्धी सूक्ष्म अध्ययन गर्न राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले उपसमिति गठन गरेर अध्ययन थालेको छ भने योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल स्थलगत अध्ययनमा निस्किएका छन् ।

समिति सभापति दिलकुमारी रावल थापाका अनुसार ठूला आयोजनाको स्थलगत अध्ययनपछि सरोकारवाला पक्षसँग छलफल गरेर सरकारलाई निर्देशनसँगै सुझाव दिने तयारी छ । ‘स्थलगत अनुगमन गरी त्यस्ता आयोजनामा परेको असरबारे अध्ययन गरेर सरकारलाई उपयुक्त सुझाव दिनेछौं,’ समिति सभापति थापाले भनिन् ।

राष्ट्रिय गौरवका आयोजनामा परेको प्रभावबारे राष्ट्रिय योजना आयोगले गरिरहेको अध्ययनमा बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गमा पानी परीक्षण गरिए पनि त्यसयता थप उपलब्धि हुन नसकेको, सिक्टा सिँचाइ आयोजना, रानीजमरा कुलरिया र बबई सिँचाइ आयोजनाको गति सुस्त भएको पाइएको छ । ती आयोजनाले कामदारको अभाव र ढुवानी समस्या भोगिरहेका छन् ।

प्रारम्भिक अध्ययनबाट पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काममा पनि कोरोनाले असर गरेको, मध्यपहाडी (पुष्पलाल) लोकमार्गको कामसमेत प्रभावित भएको पाइएको छ । कोभिड महामारीका क्रममा सेनाले निर्माण गरिरहेका उत्तर–दक्षिण (कोशी लोकमार्ग), उत्तर–दक्षिण (कालीगण्डी कोरिडोर) लोकमार्ग र उत्तर–दक्षिण कर्णाली लोकमार्ग, हुलाकी राजमार्गको कामसमेत सुस्ताएको आयोगको प्रारम्भिक अध्ययनबाट देखिएको छ । द्रुतमार्ग आयोजनामा कटिङ र फिलिङको काम प्रभावित भएको आयोगको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

आयोगका उपाध्यक्ष डा. कँडेल सोमवार मात्रै पुष्पलाल (मध्यपहाडी) लोकमार्गको स्थलगत अवलोकनमा गएका थिए । उनले उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर सडकको समेत स्थलगत अनुगमन गरेका छन् ।

कँडेलले राष्ट्रिय गौरवको परियोजना काठमाडौं निजगढ द्रुत मार्ग अनुगमन तथा निरीक्षण गरेका छन् । उनले आयोजना प्रमुखहरूसँग छलफल गरी समस्या पहलमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने असरको समेत विवरण लिएका छन् । आयोजनाको काम तीव्र रूपमा अघि बढाउनसमेत उनले निर्देशन दिइरहेका छन् ।

आयोगका उपाध्यक्ष कँडेलले छिट्टै नै विस्तृत रूपमा अध्ययन गरेर सरकारलाई वास्तकिताबारे जानकारी गराउने बताए । योजना आयोगका अनुसार आयोगले निर्माणका क्रममा रहेका २१ ओटै राष्ट्रिय गौरवका आयोजनाको बारेमा सूक्ष्म रूपमा भइरहेको छ ।

योजना आयोगले गरिरहेको अध्ययनमा कोरोना महामारीको समयमा ठूला आयोजनाहरूमा जनशक्ति र निर्माण सामग्रीको आपूर्तिमा समस्या रहेको देखाउँदै काम प्रभावित भएको देखिन्छ । कतिपय आयोजनामा कामदारहरू विदेशबाटै ल्याउनुपर्ने भएकाले पनि आयोजनाहरूको काम प्रभावित भएको देखिएको छ ।

आयोजनाको कामहरू प्रभावित भएसँगै लागतसमेत बढिरहेको छ । सरकारले कोरोनाका कारण मुलुकको विकास निर्माणको क्षेत्रमा परेको दीर्घकालीन प्रभावका बारेमा अध्ययन गर्ने जिम्मासमेत आयोगलाई दिएको थियो । सोहीअनुसार आयोगले आफ्नो अध्ययनलाई जारी राखेको हो । आयोगले दिएको अध्ययन प्रतिवेदनका आधारमा यसअघि लिएका आर्थिक परिसूचकहरू हेरफेरसमेत हुने आयोगको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

sushil

[Dec 2, 2020 04:25am]

Hamro desh ma janta vhanda neta dherai vhaye ra yesto susta vhayeko ho aayojana gaurab ko aayojana ta maximum 4 to five year ma saknu parne ho tara yaha dune gahi banaexa.tukka budhijibhi kadhi ma anpad singadarbar ma vhayeko le yesto vhayeko ho. RASTRIYA GAURAB KO AAYOJANTA TA 2OTA MAXIMUM 3 OTA PO HUNU PARXA EK DARJAN BANAYO COMPLETE HUNE KAHILE HO TUNGO THAHA XAHINA HAAAAAAAAAAAAAA



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)