ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्माण सामग्रीको मूल्य बढ्यो

२०७७ मंसिर, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । पूर्वाधार निर्माण सिजनको शुरुआतमै अधिकांश निर्माण सामग्रीको मूल्य बढेको छ । सिमेन्टबाहेक गिट्टीबालुवा र फलामे छडको मूल्यमा उच्च वृद्धि भएको छ । सरकारले गिट्टी, बालुवा उत्खनन र नयाँ उत्पादनमा रोक लगाउँदा र अन्तरराष्ट्रिय बजारमा फलामे छड तथा कच्चा पदार्थ बिलेटको मूल्य बढेपछि यी निर्माण सामग्रीको मूल्यमा उच्च वृद्धि देखिएको हो । यद्यपि सिमेन्टको मूल्य भने यथावत् नै रहेको छ ।

नेपालमा मङ्सिरदेखि जेठसम्मको सिजनलाई पूर्वाधार निर्माणको पिक’ सिजन नै मानिँदै आएको छ । तर, सिजनको शुरूमै अत्यावश्यक निर्माण सामग्रीको मूल्य वृद्धि हुँदा निर्माण व्यवसायीहरू चिन्तित भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले यतिबेला निर्माण क्षेत्र सबै कुराबाट समस्याग्रस्त भएको बताए ।

‘सरकारले अवैध उत्खननमा रोक लगाउने भन्दै गरेको निर्णयले बजारमा अहिले गिट्टीबालुवाको अभावजस्तै देखिएको छ,’ सिंहले भने, ‘यी पदार्थ पाइए पनि मूल्य भने उच्च भएको छ । केही समयअघि काठमाडौंमा रू. २२ हजारमा झारिने गिट्टीको मूल्य अहिले रू. ३० हजारसम्म पुगेको छ ।’ यतिबेला गिट्टी, बालुवाको माग अधिक हुने भए पनि अभाव शुरू हुन थालेको उनको भनाइ छ । निर्माण व्यवसायीहरूले स्टकमा रहेको सामानको मूल्य ती व्यवसायीले जथाभावी बढाएको आरोप लगाएका छन् ।

अवैध रूपमा गिट्टीबालुवाको उत्खनन र क्रशिङ उद्योग सञ्चालन हुँदा पर्यावरणमा असर गरेको, सरकारलाई राजस्व पनि नआएको र पूर्वाधार आयोजनाहरू पनि प्रभावित भएको भन्दै सरकारले कात्तिक तेस्रो हप्ता यी सामग्रीको उत्पादन तथा उत्खननमा रोक लगाएको थियो । सरकारको यो कदमपछि अहिले गिट्टीबालुवाको अभाव हुन थालेको छ । मागअनुसार आपूर्ति नहुँदा मूल्य पनि वृद्धि भएको हो ।

गृह मन्त्रालयका प्रवक्ता चन्द्रबहादुर बुढाले यी पदार्थको उत्पादन र उत्खननमा रोक लगाएपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा अध्ययन समूह बनाइएको र १ हप्तामा अध्ययन सक्ने भनिए पनि चाडपर्वलगायत कारणले केही ढिलाइ भएको बताए । उनले अध्ययनका क्रममा सरकारी मापदण्ड तथा नियमअनुसार चलेकालाई उत्पादन र उत्खननलाई निरन्तरता दिइने तर यस्तो नपाइए पहिला उत्पादित सामग्री विक्री गर्न दिए पनि पुनः उत्पादनमा रोक लगाउने बताए ।

महासंघले आइतवार प्रेस विज्ञप्ति जारी गरी सरकारको निर्णयपछि डन्डीको मूल्य प्रतिकेजी रू. १५ देखि रू.२० सम्म वृद्धि भएको र ढुङ्गा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर वृद्घि भएको उल्लेख गरेको छ । अन्तरराष्ट्रिय रूपमै फलामे छडको मूल्य बढिरहेको छ । हालै फलामे छडको कच्चा पदार्थ बिलेटको मूल्य अत्यधिक भएपछि नेपालमा यसको प्mयाक्ट्री मूल्य नै अहिले प्रतिकेजी रू.७७ रुपैयाँ पुगेको छ भने केही दिनभित्र रू.८० सम्म पुग्ने देखिएको छ । यद्यपि बन्दाबन्दी र केही समयअघि यसको औसत मूल्य प्रतिकेजी रू. ६५ देखि रू. ७० सम्म रहेको थियो ।

अम्बे स्टीलको ब्रान्डमा छड उत्पादन गर्दै आएको अम्बे ग्रूपका अध्यक्ष हरि न्यौपानेले पूर्वाधार निर्माणको सिजन हो भनी नाफा कमाउने हेतुले मूल्य वृद्धि नगरिएको दाबी गरे ।

‘आन्तरिक रूपमा भन्दा पनि अन्तरराष्ट्रिय स्तरमै कच्चा पदार्थको मूल्य बढेको हुँदा नेपालमा पनि बढेको हो,’ न्यौपानेले भने, ‘प्mयाक्ट्री मूल्य नै बढी हुँदा यसको मूल्य कतिसम्म वृद्धि हुने हो, हामी नै अन्योलमा छौं, फलामे छडको मूल्य अभैm बढ्ने अनुमान गरिएको छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)