वीरगञ्ज । तेस्रो मुलुकबाट नेपालका लागि आउने कन्टेनर कार्गो घटेको छ । वर्ष सन् २०२०/२१ को पहिलो ८ महीनामा समुद्रपारबाट भारतीय बन्दरगाह हुँदै आउने कार्गोमा कमी देखिएको हो ।
वर्ष २०२०/२१ को अप्रिलदेखि नोभेम्बरसम्ममा तेस्रो मुलुकबाट आउने कन्टेनर कार्गो २० प्रतिशतले घटेको भारतको कोलकातास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी (एनटीडब्ल्यूसी)को तथ्यांक छ । यो वर्षको नोभेम्बरसम्ममा तेस्रो मुलुकहरूबाट ५५ हजार ६६४ ओटा २० फिटे कन्टेनर मालसामान आएको एनटीडब्ल्यूसी कोलकाताका प्रमुख लक्ष्मण खड्काले बताए ।
यस अवधिमा कोलकाता बन्दरगाहबाट ३४ हजार १७ र विशखापत्तनम् बन्दरगाहबाट २१ हजार ६४७ कन्टेनर भित्रिएका छन् । ती बन्दरगाहबाट ३७३ ¥याक कन्टेनर वीरगञ्ज सुक्खा बन्दरगाहमा आएको एनटीडब्ल्यूसीको तथ्यांकले देखाउँछ ।
वर्ष २०१९/२० को यसै अवधिमा भारतको कोलकाता र विशाखापत्तनम्बाट नेपालका लागि ६९ हजार ९४५ कन्टेनर मालसामान भित्रिएको थियो ।
बन्दाबन्दी र निषेधाज्ञा हटे पनि वैदेशिक व्यापारमा कोरोनाको असर देखिन छोडेको छैन । महामारीबाट थलिएको व्यापारले पुरानै गति समात्न समय लाग्ने व्यवसायीहरू बताउँछन् । पछिल्लो समय भारतबाट हुने व्यापारमा केही सुधार आए पनि तेस्रो मुलुकसँगको समग्र व्यापार परिमाण भने घटेको तथ्यांकले देखाउँछ ।
करीब ६ महीनाको बन्दाबन्दी र निषेधाज्ञा असोजको शुरूदेखि हटेसँगै बजार र व्यापार लयमा फर्किने प्रयत्नमा छ । बजार क्रमशः बढेपछि उत्पादनसँगै व्यापारमा केही सुधार पनि आएको छ । तर, पहिलाकै अवस्थामा फर्किन भने कम्तीमा १ वर्षजति समय लाग्ने चाचान समूहका अध्यक्ष बाबुलाल चाचान बताउँछन् । गत मार्च तेस्रो सातादेखि नेपालमा बन्दाबन्दी शुरू भएको थियो । जुलाई दोस्रो साता बन्दाबन्दी हटाइएकोमा १ साता नबित्दै ५० भन्दा बढी जिल्लामा फेरि निषेधाज्ञा लगाइएको थियो ।
त्यसपछि करीब २ महीना बजार र आवागमन ठप्प भएको थियो ।
सञ्चालनमा रहेका उद्योगसमेत क्षमताको १५÷२० प्रतिशतमा चलेका थिए । त्यतिबेला उद्योग र व्यापारमा परेको असर वैदेशिक व्यापारमा देखिएको उद्यमी प्रदीप केडियाले बताए ।
कोरोना संक्रमण र बन्दाबन्दीको त्रास रहेसम्म उद्योग व्यापार सामान्य अवस्थामा फर्किन नसक्ने उद्यमी व्यवसायीको भनाइ छ । अहिले उद्योग व्यापारले विस्तारै गति समाते पनि कोरोना संक्रमण बढिरहेकाले फेरि बन्दाबन्दी हुने हो कि भन्ने आशंका कायमै रहेको उद्योगी राजेश क्याल बताउँछन् ।
‘अहिले पनि बन्दाबन्दी हुन्छ कि भन्ने आशंका छ । यही कारण उद्योगीहरूले पूर्णक्षमतामा उद्योग चलाउन सकेका छैनन् । अधिकांशले खर्च धान्ने उपायमात्र अपनाएका छन्,’ क्यालले आर्थिक अभियानसँग भने ।