ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चीनबाट सामान नआउँदा व्यापारीले बढाए अन्य देशसँगको कारोबार

२०७७ मंसिर, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar काशीराम बजगाईं

काठमाडौं । गतवर्ष माघदेखि बन्द चिनियाँ नाकाहरू एकपक्षीय रूपमा अझैसम्म बन्दै छन् । कोरोनाका कारण सीमा खुलेपछि चिनियाँ पक्षले सीमावारिसम्म दैनिक बढीमा ५ कन्टेनरसम्म सामान पुर्‍याइदिने गरेकोमा नेपाली कन्टेनरहरू सीमा पारि जान पाएका छैनन् ।

सीमा पारि सामान रोकिएपछि व्यवसायीहरूले अन्य देशसँगको कारोबार बढाउन थालेको नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले बताए । माघदेखि बन्द नाका दुई देशबीच समझदारी भई गत जेठदेखि नाका खुला गर्ने भनिए पनि पूर्णरूपमा नाका खुल्न सकेको छैन । दैनिक सय कन्टेनर सामान आयात हुने नाकाबाट हाल मुश्किलले ५ कन्टेनरसम्म सामान आयात भइरहेको उनको भनाइ छ । धेरै व्यवसायीहरू व्यवसाय छोड्न बाध्य भएको र कामदार बेरोजगार भएपछि क्रमशः चिनियाँ व्यापारको विकल्प खोज्न थालिएको उनले बताए । हाल नेपाली कन्टेनर नाकाभन्दा पारि जान नपाएपछि चिनियाँ कन्टेनरले नै सीमा वारिसम्म सामान छोडिदिने गरेका छन्, जसकारण भाडा दशौं गुणासम्म बढेकाले लागत पनि बढेपछि व्यापारीहरूले वैकल्पिक माध्यम खोज्न थालेको उनको भनाइ छ ।

११ महीनादेखि नाका पारि नै सामान रोकिएकाले थुप्रै व्यवसायीहरू पलायन हुनुपरेकोमा कतिपयले आफ्नो व्यवसाय नै बदलेको उनी बताउँछन् । उनका अनुसार सामान्य अवस्थामा नेपाल–चीन व्यापार गर्ने व्यवसायीले चीनसँगै बढी कारोबार गर्ने गरेकोमा हाल भारत, बंगलादेश, थाइल्याण्ड लगायत देशसँग कारोबार बढाएका छन् ।

कतिपय व्यवसायीले चीनमा रोकिएका सामान समुद्री बाटो हुँदै भारतीय नाकाबाट सामान आयात गर्न थालेको बताउँछन् । लामो समयदेखि नेपाल चीन कस्मेटिक तथा रेडिमेट गार्मेन्ट व्यापार गरिरहेका नयनबहादुर पण्डित क्षेत्रीले चिनियाँ नाका बन्द भएपछि वैकल्पिक माध्यमबाट सामान आयात गरिरहेको बताए । दशैं, तिहारमा कस्मेटिक सामानको माग बढेको र हाल चिसोमा रेडिमेट गार्मेन्टको माग बढेकोमा नाका बन्द भएकाले वैकल्पिक माध्यमबाट सामान आयात गरिरहेको उनले बताए । भारतीय नाकाबाट सामान आयात गर्दा कुनै समस्या नभएकाले हाल चीन लगायत अन्य देशबाट आयात गरिएको सामान भारतीय नाका हुँदै ल्याउन थालिएको क्षेत्रीले बताए । यद्यपि, अन्य देशबाट सामान आयात महँगो हुने भएकाले चिनियाँ सामान नै प्राथमिकतामा राखेर व्यापार गरिरहेको उनको भनाइ छ ।

सरकारले सीमा खुलिसकेको दाबी गरिरहे पनि सामान नाका नखुलेको र १० महीनादेखि रोकिएका २२ सय कन्टेनर सामान सीमा पारि नै रहेको हिमालय सीमापार व्यापार संघका सचिव लोप्साङ शेर्पाले बताए । हाल नाका बन्द भएकाले चीनबाट एकदमै कम मात्रामा बभए पनि सामान आयात गरिए पनि निर्यात भने पूर्णरूपमा बन्दप्रायः रहेको उनको भनाइ छ ।

भन्सार विभागका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष पहिलो ४ महीनामा चीनसँगको व्यापार रू. २० अर्बले घटेको देखाएको छ । चालू आर्थिक वर्षको पहिलो ४ महीनामा चीनसँग रू. ६० अर्ब ४१ करोडको व्यापार भएकोमा अघिल्लो वर्ष यही अवधिमा रू. ८० अर्ब ८१ करोडको व्यापार गरेको थियो । हिमालय सीमापार व्यापार संघका अध्यक्ष पौडेलेले नाकाकै कारण द्विदेशीय व्यापार घटेको बताए । उनका अनुसार चीनको विकल्पको रूपमा भारत, बंगलादेश र थाइल्याण्ड जस्ता देशसँगको कारोबार व्यापारीहरूले बढाएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)