ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेती लोकमार्ग निर्माणका लागि साढे ९ हजार रूख काट्न आदेश

२०७७ मंसिर, १९  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन सेती लोकमार्गको कैलाली खण्डमा पर्ने साढे ९ हजारभन्दा बढी रूख काट्न संघीय वन तथा भूसंरक्षण मन्त्रालयले आदेश दिएको छ । मन्त्रिपरिषद्को स्वीकृतमा सो खण्डको सडक क्षेत्रमा पर्ने ९ हजार ६८६ रूख कटानीका लागि मन्त्रालयले मङ्सिर १० गते सडक निर्माण कम्पनीलाई आदेश दिएको हो ।

दक्षिणमा भारत र उत्तरमा चीनको सीमानासँग जोड्नेगरी निर्माण थालिएको सेती लोकमार्ग अन्तर्गत कैलाली खण्डभित्र पर्ने रूख कटानीका लागि संघीय वन मन्त्रालयले आदेश दिए पनि आधिकारिक रूपमा पत्र प्राप्त नभएकाले काम अघि बढाउन समस्या भएको निर्माणको ठेक्का पाएको स्वच्छन्द–नागार्जुन–बौनिया जेभीले बताएको छ । वनले आधिकारिक रूपमा पत्र पठाएपछि मात्र प्रक्रिया अघि बढाउन सकिने निर्माण कम्पनीका सञ्चालक दीपक सिंहले बताए ।

सेती लोकमार्गको दक्षिणी खण्ड २४२ किलोमिटर र उत्तरी खण्ड ११७ गरी कुल ३५९ किलोमिटर सडक निर्माण विविध कारण लामो समयदेखि अलपत्र पर्दै आएको छ । कैलालीको बौनियादेखि ४० किलोमिटर उत्तर ठूलीगाडसम्मको सडक निर्माणका लागि ४२ महीनाअघि निर्माण सम्झौता गरिएकोमा ३४ महीनादेखि काम हुन सकेको छैन । ३६ महीनामा ४० किलोमिटर सडकको ट्र्याक खोल्न सम्झौता गरिएको थियो । सम्झौताको समय सकिएको ६ महीना भएको छ । तर सडक निर्माण ३० प्रतिशत मात्र पूरा भएको योजना कार्यालय अछामका प्रमुख ललित खनालले बताए ।

रूख कटानको आदेश आएपछि निर्माणले अपेक्षित गति लिने अपेक्षा स्थानीयले गरेका छन् । बहुप्रतीक्षित लोकमार्गको जीरो प्वान्ट टीकापुर हो । तर टीकापुरदेखि बौनियासम्मको १९ किलोमिटर सडक निर्माणको ठेक्का भने अझै गरिएको छैन । सो खण्डमा २ लेन सडक कालोपत्रका लागि तयारी थालिएको योजना कार्यालयले बताएको छ । बौनियादेखि उत्तर ठूलीगाडसम्ममा ४० किलोमिटर क्षेत्रको सडक निर्माणका लागि ३३ करोडमा ठेक्का सम्झौता गरिएको छ । कुल ३५९ किलोमिटर टीकापुर–बौनिया–ठूलीकाड–लोडेगाड–बेरासेन–रानागाउँ–तमैल–चैनपुर–धुली–ताक्लाकोट लोकमार्ग निर्माणको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ ।

आयोजनाको उत्तरी खण्ड निर्माणका लागि बझाङको चैनपुर र लक्षिणी खण्ड निर्माणका लागि अछामको साँफेबगरमा आयोजना कार्यालय राखिएको छ । दक्षिणी खण्ड निर्माण सम्पन्न गर्न ७ अर्ब तथा उत्तरी खण्ड निर्माणका लागि ८ अर्व २ करोड १२ लाख लगानी आवश्यक पर्ने डीपीआरले देखाएको छ । करीब एक दशकदेखि निर्माणको चर्चा चलेको यो सडकको ट्र्याक खोल्नै ढिलाइ भएको सेती लोकमार्ग दक्षिणी खण्ड टीकापुर–लोडे–चैनपुर सडक योजना कार्यालय साँफेबगरले बताएको छ । यो लोकमार्गलाई दक्षिणी र उत्तरी खण्ड भनेर दुई भागमा विभाजन गरिएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)