मंसिर २०, धनगढी । सुदूरपश्चिम प्रदेशभित्र पेट्रोलियम पदार्थको माग वर्षेनी बढ्दै गएको पाइएको छ ।
सवारी साधनको बढ्दो चाप, पेट्रोलियम पदार्थबाट चल्ने कृषि यन्त्र, ढुवानीका अन्य साधन र मेसिनरी औजारलगायतको खपत बढेसँगै हरेक वर्ष २० प्रतिशतले पेट्रोलियम पदार्थको मागमा वृद्धि हुने गरेको नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीले बताएको छ ।पेट्रोलिय पदार्थ भण्डारण गृह क्षमता अभावका कारण विभिन्न समयमा प्रदेशभित्र पेट्रोलियम पदार्थको अभाव हुने गरेको छ ।
प्रादेशिक कार्यालय धनगढीमा अहिले १ हजार ५९० किलोलिटर डिजेल र ७० किलोलिटर पेट्रोल क्षमताको भण्डार गृह मात्र भएकाले डिजेल बढिमा तीन दिन र पेट्रोल आधा दिनका लागि मात्र माग धान्न सकिने अवस्था छ, प्रादेशिक कार्यालय धनगढीका प्रमुख चितरंजन दासले भने । अन्य प्रदेशको तुलनामा पेट्रोलियम पदार्थको खपत सुदूरपश्चिममा सवैभन्दा कम देखिए पनि यहाँ वार्षिक २० प्रतिशतले मागमा वृद्धि भइरहेको उनले बताए ।
एक बिघा क्षेत्रफलमा आयल निगमको कार्यालय र पेट्रोलियम पदार्थ भण्डार गृह रहेकाले जमीन अभावका कारण भण्डारण र ट्याङ्कर पार्किङमा ठूलो समस्या देखा पर्दै आएको छ । पेट्रालियम पदार्थ ढुवानीका लागि हाल ८५ ओटा ट्याङ्कर प्रयोगमा रहेपनि ट्याङ्क पार्किङ्ग स्थान अभावका कारण सडकमै पार्किङ्ग गर्नुपरेको कार्यालयको गुनासो छ । भण्डार क्षमता तत्तकालै बढाउनुपर्ने देखिएको बताउँदै कार्यालय प्रमुख दासले ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण र ट्याङ्कर पार्किङ्गका लागि ३० विघा आवश्यक देखिएको जानकारी दिए ।
तीन महीनाका लागि इन्धन भण्डार गर्न सकिने गरी ३० बिघा क्षेत्रफलमा भण्डार केन्द्र निर्माणका लागि गोदावरी नगरपालिका–८ स्याउलेमा रहेको शिवशक्ती सामुदायिक वन उपयुक्त हुने भन्दै सो क्षेत्रको अनुगमन गरिएको छ । यसको आवश्यक प्रक्रियाका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट नेतृत्वको टोलीले एक साताअघि वन क्षेत्रको स्थलगत अनुगमन गरेको थियो ।
अनुगमन टोलीमा आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल, स्थानीय तहका जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी र आयल निगमका कर्मचारीहरूको सहभागिता थियो । हाल आयल निगमसँग पेट्रोलियम पदार्थ भण्डारका लागि न्यून मात्रामा क्षमता छ । गोदावरीको स्याउलेमा भण्डार केन्द्र सञ्चालनमा आए ९० दिनसम्म भण्डारण गर्न सकिने बताइएको छ ।
भण्डारण क्षमता बढाउन चालू आर्थिक वर्षदेखि नै काम शुरु गरिने आयल निगमले बताएको छ । पेट्रोलियम पदार्थको आयात र खपत वर्षेनी बढ्दै गएपनि भण्डारण क्षमता नहुँदा बेलाबेलामा पेट्रोलिय पदार्थको अभाव हुने गरेको छ ।
भण्डारण क्षेत्र बढाउनका लागि निगमले योजना बनाएपनि जग्गा प्राप्त नहुँदा समस्या देखिएको नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले बताएको छ । दैनिक खपत हुने पेट्रोलको तुलनामा भण्डारण क्षमता झन्डै १० हजार लिटर कम छ ।आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीमा स्थापनाकालमै निर्माण गरिएको पेट्रोल भण्डारण ट्यांकी ७० हजार लिटर क्षमताको छ । पछिल्लो एक वर्षयता दैनिक पेट्रोलको माग ८० हजार लिटर रहेको छ ।
प्रादेशिक कार्यालयको भण्डार क्षमता कम भएकै कारण भारतबाट आउने ट्यांकरलाई सोझै वितरक संस्थामा पठाउने गरिएको छ । एक दिनमात्र पेट्रोल आयात नभए वितरणमै समस्या हुने गरेको छ । भण्डारण क्षमता मात्र होइन भारतबाट पेट्रोलियम पदार्थ ओसार्ने ट्यांकरको समेत अभाव छ ।
हाल प्रदेशका नौ ओटै जिल्लाभित्र सञ्चालित ८५ पेट्रोल पम्पसम्म ८५ ओटा ट्यांकरले पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका छन् । पेट्रोलियम पदार्थ ढुवानीका लागि थप २० ओटा ट्यांकर आवश्यक देखिएको निगम प्रमुख दासले भने ।