ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक्सपान्सन ज्वाइन र डिस्मेटेबल बक्स आइपुगेन

माथिल्लो तामाकोशी आयोजनाको परीक्षण उत्पादन मिति अनिश्चित

२०७७ मंसिर, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । बहुचर्चित ४५६ मेगावाटको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकोे एक्सपान्सन ज्वाइन र डिस्मेन्टेबल बक्स भारतबाट आउन नसक्दा आयोजना निर्माणको गति सुस्त हुनुका साथै परीक्षण र उत्पादन गर्ने मिति अनिश्चित भएको छ ।

भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेलवे इन्जिनीयरिङले कोलकाताबाट पेनस्टकको एक्सपान्सन ज्वाइन तथा डिस्मेन्टेबल बक्स ढुवानी समयमै गर्न नसक्दा आयोजना निर्माणको गति सुस्त हुनुका साथै उत्पादन मितिसमेत अनिश्चित भएको हो ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट कहिले विद्युत्को परीक्षण उत्पादन हुन्छ भन्ने बारेमा मिति तोक्न सकिने अवस्था अहिले नरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । आयोजनाले कोलकाताबाट एक्सपान्सन ज्वाइन तथा डिस्मेन्टेबल बक्स ल्याउन सप्लायर्सलाई ताकेता गरिरहेको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेको भनाइ छ ।

एक्सपान्सन ज्वाइन तथा डिस्मेन्टेबल बक्सलगायत सामान तथा अन्य केही आवश्यक उपकरणको ढुवानी भएमा आयोजनाको डिसेन्डर, टनेललगायत संरचनाहरूको परीक्षण फागुनबाट गर्न सकिने न्यौपानेले बताए । आयोजनाको सुरुङ, पेनस्टकलगायत परीक्षणपश्चात् मात्र विद्युत् उत्पादन परीक्षणको मिति तोक्न सम्भव हुने उनको भनाइ छ ।

भाँचिएको टावरको प्राविधिक परीक्षण हुँदै
आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि निर्माण भएको प्रसारणलाइनको कालिञ्चोक गाउँपालिकाको पुटुङमा रहेको टावर भाँचिएको छ । जमीनको संरचना नै कच्चा भएको कारण टावर भाँचिएको आयोजनाको दाबी छ । सो टावर अब कहाँ पुनर्निर्माण गर्ने भन्नेबारेमा विज्ञहरूद्वारा अध्ययन गराउने काम भइरहेको आयोजनाले बताएको छ । विज्ञहरूको सुझाव आएपछि टावर निर्माण कार्यअघि बढाइने प्रवक्ता न्यौपानेले बताए ।

जग्गा विवादका कारण मल्टिसर्किट टावर अझै बनेन
तामाकोशी गाउँपालिकाको शहरेमा निर्माण गरिने मल्टी सर्किट टावर जग्गा विवादका कारण अभैm निर्माण हुन सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणले हालसम्म पनि मुआब्जा उपलब्ध नगराएका कारण स्थानीयहरूले सो टावर निर्माणमा अवरोध गरिरहेको कारण टावर निर्माण हुन नसकेको आयोजनाले बताएको छ । तर, सो टावर निर्माण नभए पनि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली प्रसारणका लागि अल्पकालीन वैकल्पिक उपायको खोजी भइसकेको न्यौपानेको दाबी छ ।

आयोजनाको हेडबक्स तथा पावर हाउसको काम करीब सम्पन्न भइसकेको छ भने रामेछापको फुलासीमा निर्माणाधीन सबस्टेशनको सिभिल संरचनाको निर्माण सम्पन्न भई उपकरण जडानको काम भइरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ ।

हालसम्म ब्याजबाहेक आयोजना निर्माणमा करीब ५२ अर्बभन्दा बढी खर्च भइसकेको आयोजनाको अनुमान छ । आयोजना सम्पन्न हुने मिति लम्बिँदै जाँदा आयोजनाको लागत बढ्दै गएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)