ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिममा पेट्रोलियम पदार्थको माग वार्षिक २० प्रतिशतले बढ्दै

२०७७ मंसिर, २२  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशभित्र पेट्रोलियम पदार्थको माग बर्सेनि बढ्दै गएको पाइएको छ । सवारी साधनको बढ्दो चाप, पेट्रोलियम पदार्थबाट चल्ने कृषि यन्त्र, ढुवानीका अन्य साधन र मेसिनरी औजारलगायतको खपत बढेसँगै हरेक वर्ष २० प्रतिशतले पेट्रोलियम पदार्थको मागमा वृद्धि भएको नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीले जनाएको हो ।

पेट्रोलिय पदार्थ भण्डारण क्षमता अभावका कारण विभिन्न समयमा प्रदेशभित्र पेट्रोलियम पदार्थको अभाव हुने गरेको छ । ‘प्रादेशिक कार्यालय धनगढीमा अहिले १ हजार ५ सय ९० किलोलिटर डिजेल र ७० किलोलिटर पेट्रोल क्षमताको भण्डारणगृह मात्र भएकाले डिजेल बढीमा तीन दिन र पेट्रोल आधा दिनका लागि मात्र माग धान्न सकिने अवस्था छ’, प्रादेशिक कार्यालय धनगढीका प्रमुख चितरञ्जन दासले भने । अन्य प्रदेशको तुलनामा पेट्रोलियम पदार्थको खपत सुदूरपश्चिममा सबैभन्दा कम देखिए पनि यहाँ वार्षिक २० प्रतिशतले मागमा वृद्धि भइरहेको उनले बताए ।

एक बिघा क्षेत्रफलमा आयल निगमको कार्यालय र पेट्रोलियम पदार्थ भण्डारगृह रहेकाले जमिन अभावका कारण भण्डारण र ट्यांकर पार्किङमा समस्या देखा पर्दै आएको छ ।

पेट्रालियम पदार्थ ढुवानीका लागि हाल ८५ वटा ट्यांकर प्रयोगमा रहे पनि पार्किङ स्थल अभावका कारण सडकमै पार्किङ गर्नु परेको कार्यालयको गुनासो छ । भण्डार क्षमता तत्कालै बढाउनुपर्ने देखिएको बताउँदै कार्यालय प्रमुख दासले ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण र ट्यांकर पार्किङका लागि ३० बिघा आवश्यक पर्ने जानकारी दिए ।

तीन महिनाका लागि इन्धन भण्डार गर्न सकिने गरी ३० बिघा क्षेत्रफलमा भण्डार केन्द्र निर्माणका लागि गोदावरी नगरपालिका–८ स्याउलेमा रहेको शिवशक्ति सामुदायिक वन उपयुक्त देखिएपछि सो क्षेत्रको अनुगमन गरिएको छ । यसको आवश्यक प्रक्रियाका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट नेतृत्वको टोलीले एक साताअघि वन क्षेत्रको स्थलगत अनुगमन गरेको थियो ।

अनुगमन टोलीमा आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल, स्थानीय तहका जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी र आयल निगमका कर्मचारी सहभागी थिए ।

हाल आयल निगमसँग पेट्रोलियम पदार्थ भण्डारणका लागि न्यून मात्रामा क्षमता छ । गोदावरीको स्याउलेमा भण्डारण केन्द्र सञ्चालनमा आए ९० दिनसम्म भण्डारण गर्न सकिने जनाइएको छ । भण्डारण क्षमता बढाउन चालू आर्थिक वर्षदेखि नै काम सुरु गरिने निगमको काठमाडौंस्थित केन्द्रीय बताएको छ । पेट्रोलियम पदार्थको आयात र खपत बर्सेनि बढ्दै गए पनि भण्डारण क्षमता नहुँदा बेलाबेलामा अभाव हुने गरेको छ ।

भण्डारण क्षेत्र बढाउनका लागि निगमले योजना बनाए पनि जग्गा प्राप्त नहुँदा समस्या देखिएको आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले जनाएको छ । दैनिक खपत हुने पेट्रोलको तुलनामा भण्डारण क्षमता झन्डै १० हजार लिटर कम छ । आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीमा स्थापनाकालमै निर्माण गरिएको पेट्रोल भण्डारण ट्यांकी ७० हजार लिटर क्षमताको छ । पछिल्लो एक वर्षयता दैनिक पेट्रोलको माग ८० हजार लिटर रहेको छ ।

प्रादेशिक कार्यालयको भण्डार क्षमता कम भएकै कारण भारतबाट आउने ट्यांकरलाई सोझै वितरक संस्थामा पठाउने गरिएको छ । एक दिन मात्र पेट्रोल आयात नभए वितरणमै समस्या हुने गरेको छ ।

भण्डारण क्षमता मात्र होइन, भारतबाट पेट्रोलियम पदार्थ ओसार्ने ट्यांकरको समेत अभाव छ ।

हाल प्रदेशका ९ वटै जिल्लाभित्र सञ्चालित ८५ पेट्रोल पम्पसम्म ८५ वटै ट्यांकरले पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका छन् । पेट्रोलियम पदार्थ ढुवानीका लागि थप २० वटा ट्यांकर आवश्यक देखिएको निगम प्रमुख दासले बताए ।

बस्तीभन्दा निगम भण्डारण स्थल कम्तीमा १० किलोमिटर टाढा हुनुपर्ने प्रावधान भए पनि सुदूरपश्चिमको हकमा त्यो कार्यान्वयनमा देखिँदैन ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)