ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेकपा स्थायी समिति बैठक एक साताका लागि स्थगित

२०७७ मंसिर, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठक मंसिर २८ गतेसम्मका लागि स्थगित भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव पेस भएको थियो । उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गतेसम्मलाई स्थगित भएको हो ।

आइतबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली सहभागी हुनु भएन । ओलीले बैठकलाई सम्बोधन गर्दै आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्‍याएको संगीन आरोपपत्रबारे हुने छलफलमा सहभागी हुन असमर्थ रहेको बेहोराको पत्र पठाउनुभएको थियो । उक्त पत्रलाई सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाएका थिए ।

आइतबारको बैठकमा अध्यक्ष ओली अनुपस्थित रहनुभएको र पत्रमा प्रधानमन्त्रीले आफ्नो पूर्वमान्यताअनुरुप अर्का अध्यक्ष प्रचण्डको प्रस्तावलाई औपचारिक रूपमा बैठकमा छलफल गर्न नसकिने धारणा रहकाले अनुपस्थित रहेको जानकारी दिनुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओलीको अनुपस्थिति रहे पनि अर्का अध्यक्ष दाहाल अध्यक्षताको बैठकले पार्टी एकतालाई केन्द्रमा राख्दै छलफल चलाउने तथा दुवै अध्यक्षबाट प्रस्तुत भएका प्रतिवेदनको अध्ययन गरी मंसिर २८ गते स्थायी समिति र मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय समितिको बैठक पुस ५ लाई सारिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

ओलीले पठाएको पत्रमा गत कात्तिक २८ गते अध्यक्ष प्रचण्डले ‘प्रस्ताव’ का नाममा पठाएको प्रस्तावले असामान्य अवस्था सिर्जना भएको दाबी गरिएको छ । ‘पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तर्विरोधमा रुपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यको संविधान र कानुनसमेत आकर्षित हुने प्रकृतिका संगीन फौजदारी आक्षेप लगाइएको उक्त अभियोगपत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालय बैठकमा राखिसकेको छु । पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निःसर्त फिर्ता हुनुपर्ने मेरो मान्यता यथावत छ,’ प्रधानमन्त्री ओलीले स्थायी समितिलाई लेखेको पत्रमा उल्लेख छ ।

एकता महाधिवेशनपछि पार्टी नेतृत्व र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गरिसकेपछि पनि नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण पार्टीभित्र यस्ता खाले समस्या सिर्जना भएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)