ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उकालो लाग्दै गएको नेप्सेमा नकारात्मक सर्किट

२०७७ मंसिर, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । आइतवार शेयरबजार ६ प्रतिशतले घटेर निर्धारित अवधिभन्दा ४७ मिनेटअगावै बन्द भयो । यो दिन १२३ दशमलव ३४ अंकले बजार घट्यो जुन हालसम्मकै धेरै अंकको दैनिक कमी हो

बिहीवार १५ दशमलव ५७ अंक घटेर बन्द भएको बजारमा आइतवार भने २ बजेर १३ मिनेटसम्म मात्र कारोबार भयो र नकारात्मक सर्किट ब्रेक लाग्यो । गत फागुनदेखि उकालो लागेको बजारले गत बुधवार २ हजार ७१ विन्दु पार गरेको थियोे ।

यसअघि कोरोनाको प्रभाव विश्वव्यापी रूपमा शुरू भएको बेला गत फागुन १९ गते र फागुन २७ गते बजारले ६ प्रतिशतको नकारात्मक सर्किटको सामना गरेको थियो । फागुन १९ गतेको बजार ९६ दशमलव शून्य ६ अंक र फागुन २७ गतेको बजार ८६ दशमलव ३९ अंकले घटेको थियो ।

तर, आइतवारको बजार भने हल्लाको भरमा हल्लिएको लगानीकर्ताहरूको भनाइ छ । नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले भन्छन्, ‘हल्लाले पात हल्लिन्छ भन्ने सुनेको थिएँ, आइतवारको बजारमा त रूख नै हल्लियो ।’

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा मार्जिन कर्जाको व्यवस्थालाई पुनरवलोकन गर्ने भनेसँगै लगानीकर्ताहरू हल्लाको पछि दौडिएको रौनियार बताउँछन् । उक्त समीक्षाको विषयमा लगानीकर्ता संघहरूको टोली आइतवार नै राष्ट्र बैंक पुगी स्पष्ट भएर आएको बताउँदै उनले पूँजीबजारको अहितमा राष्ट्र बैंकले काम नगर्ने प्रतिक्रिया दिए ।

‘पछिल्लो समय बजारमा नयाँ लगानीकर्ताहरूको प्रवेश बढेको छ,’ उनले भने, ‘नव प्रवेशी लगानीकर्ताहरू आत्तिएका कारण बजारले नकारात्मक प्रभावको सामना गर्नुपर्‍यो ।’

शेयरबजारले दुई कारोबार दिनअघिसम्म कारोबार रकम र परिसूचकमा रेकर्ड कायम गरिरहँदा यो विचमा बजार नकारात्मक प्रभावको शिकार बन्नुपर्ने कुनै कारण नदेखिएको स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सन्तोष मैनाली बताउँछन् । विगत केही समयदेखि बजार बढिरहेका कारण अधिकांश लगानीकर्ता नाफामै रहेको अवस्थामा राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षालाई सही तरीकाले नबुझ्दा आइतवार उच्च अंकले बजार घट्न पुगेको अनुमान मैनालीको छ ।

‘बजार करेक्शन हुन आवश्यक थियो राष्ट्र बैंकको समीक्षाको विषय बहाना बन्यो,’ उनले भने, ‘तर बजारले गति लिने आधारहरू कायम नै छन् । पर्याप्त तरलता र कारोबार रकमले साथ दिएका कारण आइतवारको बजारलाई हेरेर आत्तिनुपर्ने अवस्था छैन ।’

शेयरबजारका प्राविधिक विश्लेषक सन्तोष सिं लिङ्देनले प्राविधिक रूपमा नै बजार सच्चिनुपर्ने बेला भइसकेकाले आइतवार बजार सच्चिएको बताए । बजारको अबको मुख्य टेवा क्षेत्र १ हजार ८५० देखि १ हजार ९०० को विन्दुलाई लिन सकिने लिङ्देनको विश्लेषण छ । यो विन्दुमा खरीदकर्ता आउने सम्भावना बलियो रहेको समेत उनले औंल्याएका छन् । यो विन्दुभन्दा मुनि बजार गएमा अझै केही थप सच्चिन सक्ने विश्लेषण लिङ्देनले गरेका छन् ।

आइतवार नकारात्मक प्रभावबाट प्रभावित बनेको बजारमा रू. ७ अर्ब २० करोड ९१ लाख ८० हजार बराबरको शेयर कारोबार भएको छ । उक्त रकम बराबरको १ करोड ५४ लाख ९० हजार ७८ कित्ता शेयर यो दिन कारोबार भएको हो । उच्च अंकले बजार घट्दा एकै दिन लगानीकर्ताहरूले रू. १ खर्ब ६५ अर्ब ३२ करोड २० लाख बराबरको सम्पत्ति गुमाएका छन् । गत बिहीवार रू. २७ खर्ब ५५ अर्ब ६३ करोड रहेको कुल बजार पूँजीकरण आइतवार रू. २५ खर्ब ८९ अर्ब ७४ करोडमा झरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)