ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक उत्पादन शिथिल वैदेशिक व्यापारमा सुधार

२०७७ मंसिर, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । सरकारले आयात घटेको तथ्यांक देखाएर वैदेशिक व्यापार सुधारोन्मुख भएको दाबी गरिरहेको अवस्थामा आन्तरिक उत्पादन भने शिथिल देखिएको छ । स्वदेशी उत्पादनबाट आयात प्रतिस्थापन हुनुलाई सकारात्मक मानिन्छ । तर, अहिले उत्पादन र माग खुम्चिएर घटेको व्यापारलाई स्वास्थ्य सुधार मान्न नसकिने उद्यमी व्यवसायी बताउँछन् । पछिल्लो समय औद्योगिक कच्चा पदार्थको आयात घटेको सरकारी तथ्यांकले नै देखाएको छ । कोरोना महामारीको असर र कच्चा पदार्थमा मूल्यवृद्धिले गर्दा यस्ता वस्तुको आयात घटेको निजीक्षेत्रले बताएको छ ।

वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ४ महीनामा मुख्य औद्योगिक कच्चा पदार्थहरूको आयात घटेको छ । वीरगञ्ज मुख्य नाकामात्र नभएर प्रमुख उत्पादन केन्द्र पनि हो । यो कोरिडोरका निर्माण सामग्री र खाद्य प्रशोधन उद्योगले यहीँबाट कच्चा पदार्थ भित्र्याउँछन् ।

फलाम घट्यो
चालू आर्थिक वर्ष २०७७/७८ को साउनदेखि कात्तिकसम्मको ४ महीनामा वीरगञ्ज सुक्खा बन्दरगाहबाट भित्रिने फलाम करीब आधामा झरेको छ ।

गतवर्ष २०७६/७७ को पहिलो चौमासिक अवधिमा सुक्खा बन्दरगाहबाट ३ लाख ५९ हजार मेट्रिकटन (मेट) फलाम भित्रिएको थियो । चालू वर्षको समीक्षा अवधिमा यो परिमाण १ लाख ८५ हजार मेटमा सीमित भएको बन्दरगाह भन्सारका अधिकृत जगदीश पुर्वेले जानकारी दिए ।

वीरगञ्ज आईसीपी भन्सारबाट पनि कच्चा पदार्थको आयात खस्किएको छ । अघिल्लो वर्षको पहिलो चौमासमा उद्योगीहरूले ४८ हजार ४९५ मेट बिलेट ल्याएका थिए । यो वर्ष २८ प्रतिशतले घटेको भन्सार अधिकृत रमेश सुकमनीले जानकारी दिए । यो अवधिमा ३४ हजार ६८२ मेट बिलेट आयात भएको आईसीपी भन्सारको तथ्यांकले देखाउँछ ।

खानी उत्खननमा आएको समस्याका कारण भारतमा मूल्य बढेपछि उत्पादकले बिलेट कम मागाउन थालेका छन् । डन्डीको मूल्य भने आकाशिएको छ । ३ महीनायता डन्डीको मूल्य १५ देखि २० रुपैयाँसम्म बढेको उद्यमी बताउँछन् ।

मूल्य बढे पनि डन्डीको बजार भने घटेको उद्योगी राजेश क्यालले बताए । ‘कच्चा पदार्थको लागत नै बढी भएपछि डन्डीको मूल्य बढी परेको छ । तर, मूल्य बढे पनि माग भने घटेको छ,’ क्यालले आर्थिक अभियानसँग भने ।

सिमेन्ट पनि सकसमा
डन्डीको मूल्य बढेपछि डन्डीसँगै सिमेन्टको माग पनि खस्किएको इन्टरनेशनल सिमेन्टका सञ्चालक सन्दीप अग्रवालले बताए । माग घटेपछि सिमेन्टको मूल्य र उत्पादन दुवै घटेको अग्रवालको भनाइ छ । सिमेन्टको अहिले मूल्य प्रतिबोरा १८० देखि २३० रुपैयाँसम्म घटेको उत्पादकहरू बताउँछन् ।

केही समयअघिसम्म आयातित वस्तुको मुख्य सूचीमा पर्ने क्लिंकरको आयात स्वात्तै घटेको छ । क्लिंकर यो वर्ष बढी आयात हुने २० वस्तुको सूचीमा नपरेको आईसीपी भन्सारले बताएको छ ।

आन्तरिक उत्पादन बढेर क्लिंकरको आयात घटेको बताइए पनि स्वदेशी उद्योगहरू क्षमताको आधाभन्दा पनि तल झरिसकेको उद्योगी बताउँछन् । प्रतिमेट १० हजार रुपैयाँसम्म पुगेको क्लिंकरको भाउ अहिले ६ हजार ५ सय रुपैयाँसम्म झरेको नारायणी सिमेन्ट उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुरले बताए ।

खाद्य प्रशोधन प्रभावित
खाद्य प्रशोधन उद्योगहरूको कच्चा पदार्थको आयात घटेको सरोकारका उद्योगीले बताएका छन् । खाने तेल उत्पादक ओसीबी फुडका सञ्चालक सुरेश रुंगटाका अनुसार भटमासको आयात घटेको छ । यो उद्योगले ४ महीनायता भटमास पेल्ने प्लान्ट बन्द गरेर कच्चा तेल नै मगाएको रुंगटाले बताए ।

तेस्रो मुलुकबाट भटमास भित्र्याएर तेल उत्पादन गर्नुभन्दा अर्ध प्रशोधित तेल सस्तो पर्ने भनाइ उनको छ । कच्चा पदार्थको लागत बढेकाले आयात प्रभावित भएको उद्यमीहरू बताउँछन् । दाना उद्योगको कच्चा पदार्थ मकै र पिनाको आयात पनि कटौती गरिएको रुंगटाले आर्थिक अभियानलाई बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)