ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल रेलवे कम्पनी लिमिटेड : जग्गा व्यवस्थापनको गुरुयोजना बनाउने तयारी

२०७७ मंसिर, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । ६ वर्षपछि पुनःसञ्चालनमा आएको नेपाल रेलवे कम्पनी लिमिटेडले जनकपुरलगायत रेल स्टेशनहरूमा रहेको जग्गाको व्यावसायिक उपयोग गर्नतिर ध्यान दिन थालेको छ ।

जनकपुर–जयनगरमा रेल सञ्चालन गर्न ब्यूँत्याइएको कम्पनीले आफ्नो स्वामित्वमा रहेका जग्गाको व्यावासायिक लाभ लिन योजना बनाउन लागेको हो ।

कम्पनीको सम्पत्तिको खोजबिन गरी अभिलेख गर्ने र त्यस्ता सम्पत्तिलाई व्यावसायिक रूपमा कसरी प्रयोग गर्ने भन्ने विषय यकिन गरिने कम्पनीको भनाइ छ ।

कम्पनीले चालू आर्थिक वर्ष २०७७/७८ को कार्ययोजना अमलेखगञ्ज–रक्सौल रेलमार्गको साबिकको सम्पत्ति उपयुक्त व्यावसायिक प्रयोगका लागि उपयोग गरिने जानकारी दिएको छ । चालू आवको पहिलो चौमासिक प्रगति प्रतिवेदनअनुसार कम्पनीले रेलवेसँग रहेका ऐतिहासिक स्टिम इन्जिन तथा भौतिक संरचनाको संरक्षण गरिने उल्लेख गरेको छ ।

कम्पनी सञ्चालनमा आएसँगै विभिन्न मन्त्रालय तथा अन्य सार्वजनिक निकायले प्रयोगमा ल्याएका जग्गाहरूलाई कम्पनीको नाममा ल्याउने तयारी गरिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । कम्पनीका नाममा अर्बाैंको सम्पत्ति रहेको भए पनि त्यसबाट पर्याप्त लाभ लिन नसकेकाले अहिले कम्पनीले ती सबै सम्पत्ति एकीकृत गरी कम्पनीको नाममा ल्याउने गरी गुरुयोजना बनाउने कम्पनीको तयारी छ ।

कम्पनीको नाममा अर्बाैंको सम्पत्ति रहेकाले त्यसको उपयोग, संरक्षण गरी आम्दानी गर्दै यात्रुलाई सस्तो दरमा रेल चढ्न सक्ने अवस्था ल्याउने र कम्पनीको सञ्चालन खर्च पनि त्यसबाट पूर्ति हुने अवस्था सृजना गर्ने तयारी पनि कम्पनीको छ ।

रेल सञ्चालनका लागि स्थापित कम्पनी नै बन्द हुँदा विभिन्न रेलवे स्टेशनका साथै रक्सौल–अमलेखगञ्जमा १९ बिगाहा जग्गाको कतिपय स्थानमा भारतीय सुकुमबासीहरूको बस्ती पनि बसिसकेको छ । कम्पनीको जग्गा वीरगञ्ज, जनकपुर, सिमरा, जितपुर र भारतको रेल स्टेशन जयनगरमा समेत रहेको छ ।

चालू आवमा कम्पनीको कुल बजेट रू. २९ करोड २२ लाख रहेको छ भने पहिलो चौमासिकमा कम्पनीले रू. ६९ लाख ९४ हजार खर्च गरेको छ । यसमध्ये रू. ५७ लाख ६९ हजार चालू र रू. १२ लाख २५ हजार खर्च भएको छ । जनकपुर–जयनगर रेल सञ्चालन नभए पनि कम्पनीको चालू खर्च पूँजीगत खर्चको तुलनामा अधिक देखिएको छ । उक्त रेलमार्गमा कम्पनीले रेल सञ्चालन भने पुससम्ममा गर्ने तयारी गरेको छ । अहिले भारतबाट ल्याइएका दुईओटा रेल भने पार्किङ गरेर राखिएको छ । ती रेल असोजको पहिलो साता नेपाल ल्याइएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)