ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना बीमा भुक्तानी प्रमाणीकरण भएका सबैले पाए : अर्थ

ठूलो संख्यामा प्रमाणीकरण नै हुन सकेन

२०७७ मंसिर, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । कोरोना बीमा भुक्तानीमा ढिलाइ नगर्न पटकपटक निर्देशन दिँदै आएको अर्थ मन्त्रालयले प्रमाणीकरण भएका सबैले कोरोना बीमा पाएको दाबी गरेको छ ।

अर्थ मन्त्रालयको वित्तक्षेत्र तथा संस्थान समन्वय महाशाखा प्रमुख एवम् सहसचिव झक्कप्रसाद आचार्यले कोरोना बीमाका लागि परेका दाबीमध्ये प्रमाणीकरण भएका कुनै बीमितको भुक्तानी नरोकिएको बताएका छन् ।

उनले प्रमाणीकरण भएका कसैको पनि बीमा भुक्तानी नरोक्न अर्थले निर्देशन दिएपछि सोमवारसम्म ७ हजार ३ सय ६८ ले प्रमाणीकरणपश्चात् भुक्तानी पाएको बताए । ४ हजार दाबीहरू प्रामाणीकरणको चरणमा रहेको र प्रमाणीकरण भएपछि उनीहरूले भुक्तानी पाउने आचार्यको भनाइ छ ।

आचार्यका अनुसार एकैफेर ठूलो संख्यामा दाबी पर्दा प्रमाणीकरणमा ढिलाइ हुन पुगेको हो । ‘बीमा भुक्तानीको पनि प्रक्रिया हुन्छ, प्रक्रिया नाघेर भुक्तानी दिन मिल्दैन, प्रक्रिया मिलाउँदा ढिला भएको हो,’ उनले भने ।

कतिपय दाबीहरूको प्रमाणीकरण स्वास्थ्य संस्थाबाटै गर्नुपर्ने भएकाले दाबी गरेका सबै बीमितले एकैफेर भुक्तानी पाउन नसकेको अर्थका अधिकारीहरूको भनाइ छ ।

अहिले दैनिकजसो भुक्तानीको विवरण बीमा समितिले अर्थलाई जानकारी दिने गरेको छ । अर्थका अनुसार नियामक निकायको रिपोर्टिङअनुसार दैनिक भुक्तानीको संख्या बढ्दो छ ।

बीमा भुक्तानीलाई ३ दिनभित्र सक्न पछिल्लो समय अर्थले गत बिहीवार निर्देशन दिएको थियो । यस्तै, प्रमाणीकरणसमेत सक्दो चाँडो टुंग्याउन पनि भनेको थियो । तर, मन्त्रालयको निर्देशनअनुसार प्रमाणीकरणको काम द्रुत गतिमा भएको छैन ।

बीमा कम्पनीहरूले बीमितहरूलाई प्रमाणीकरण नभएको कारण देखाउँदै भुक्तानीमा आनाकानी गरिरहेका छन् । कोरोना संक्रमित भएपछि सुनसरी घर भई हाल काठमाडौंमा बस्दै आएका वीरेन्द्रकुमार मेहताले कोरोना बीमाका लागि डेढ महीनाअघि बीमा कम्पनीमा भुक्तानीका लागि दाबी गरे पनि अहिलेसम्म पाएका छैनन् ।

पटकपटक बीमा कम्पनीमा धाए पनि उनले प्रमाणीकरणको क्रममा रहेको भन्दै जवाफ पाउने गरेको तर भुक्तानी भने लामो समयदेखि पाउन नसकेको बताए । उनीजस्तै अहिलेसम्म ३३ हजारले बीमाका लागि दाबी गरे पनि ७ हजारले मात्रै भुक्तानी पाएका छन् । तर, अर्थ मन्त्रालयका अधिकारीहरू भने सन्तोषजनक प्रगति भएको बताउँछन् ।
दैनिक २ सयदेखि ३ सय निवेदन मात्र प्रमाणीकरण हुने गरेको बीमा समितिलाई जानकारी आउने गरेको छ । यसले अभैm पनि ठूलो संख्यामा प्रमाणीकरण नभएकै कारण बीमितले कोरोना बीमाको भुक्तानी पाउन अभैm लामो समय कुर्नुपर्ने देखाएको छ ।

कोरोना बीमा मापदण्डमा आवश्यक कागजात पेश गरेको ७ दिनमै भुक्तानी दिनुपर्ने व्यवस्था छ । बीमा कम्पनीले भने त्यो मापदण्डको शुरूदेखि नै पालना गरेका छैनन् । अर्थ मन्त्रालयले यसअघि कात्तिक १८ मा पनि बीमा कम्पनीहरूलाई ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएको थियो । त्यसयताको १ महीनामा करीब १७ सयले मात्र भुक्तानी पाएको बीमा समिति स्रोतले बतायो । बीमा कम्पनीले कोरोना बीमालेख विक्रीबापत ९८ करोड ६० लाख प्रिमियम संकलन गरेका थिए । तर, ३ अर्ब ४० करोड भुक्तानीका लागि दाबी परिसकेको बीमा समितिका अधिकारीहरूको भनाइ छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)