ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१८ वाणिज्य बैंकको निष्कृय कर्जा बढ्यो

२०७७ मंसिर, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । कोरोना महामारीले व्यवसाय प्रभावित हुँदा अधिकांश वाणिज्य बैंकको निष्क्रिय कर्जा बढेको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये १८ ओटा बैंकको गत आवको तुलनामा चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा निष्क्रिय कर्जा (एनपीएल, नन परफर्मिङ लोन) बढेको छ ।

तर, बाँकी नौओटा वाणिज्य बैंकको यस्तो कर्जा नियन्त्रणमा आएको छ । अझै कोभिड प्रभावितले विस्तारै बाँकी ब्याज तथा किस्ता क्रमशः नतिरेपछि एकैपटक तिर्न नसक्ने अवस्था सृजना हुन सक्ने र एनपीएल अझै बढ्न सक्ने बैंकरहरू बताउँछन् ।

कोभिड प्रभावित ऋणीलाई साँवाब्याज तिर्न केही समय छूट दिए पनि पछि एकैपटक भार पर्न जाने भएकाले यस्तो व्यवस्था फोहोरहरूलाई कार्पेट मुनि लुकाएभैंm भएको बैंकरहरू टिप्पणी गर्छन् । मर्का नपरेका ऋणीहरूले पनि फाइदा उठाउने मौका पाएको एक बैंकरले बताए । ‘ढिलोचाँडो साँवा, ब्याज, किस्ता तिर्न परिहाल्छ । अहिले नतिरी थुपार्दै जाँदा पछि एकैचोटि यसको प्रभाव एनपीएलमा देखिन्छ,’ ती बैंकरले भने ।  

चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी निष्क्रिय कर्जा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको छ । गत आवको पहिलो त्रैमासमा ३ दशमलव ५० प्रतिशतमा रहेको एनपीएल बढेर चालू आवको पहिलो त्रैमासमा ४ दशमलव १० प्रतिशत पुगेको छ ।

व्यवसाय सहज रूपमा सुचारु नभएको र बैंकको ब्याज तथा किस्ता भुक्तानीमा प्रभाव परेकाले एनपीएल बढ्ने अनुमान यसअघि नै गरिएको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ बताउँछन् । अझै खराब कर्जा बढ्ने उनको अनुमान छ ।

‘कोभिड अतिप्रभावित क्षेत्रहरूबाट भुक्तानी भएको छैन । कोभिड प्रभावितलाई दिएको राहतलाई हामीले पनि मान्नुपर्ने हुन्छ । उनीहरूलाई भुक्तानी गर्न दबाब दिन पनि मिलेन । यसैले एनपीएल अझै बढ्छ भन्ने डर लागिरहेको छ,’ प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अभियानसँग भने ।

एनपीएल बढी भएको दोस्रोमा पनि सरकारी स्वामित्वकै नेपाल बैंक रहेको छ । यो बैंकको चालू आवको पहिलो त्रैमासमा ३ दशमलव शून्य २ प्रतिशत एनपीएल रहेको छ । गत असोजको उक्त अवधिमा एनपीएल २ दशमलव ७५ प्रतिशत थियो ।

यसैगरी चालू आवको पहिलो त्रैमासमा एनपीएल बढेर एनएमबीको २ दशमलव २६, बैंक अफ काठमाण्डूको २ दशमलव १८ प्रतिशत, ग्लोबल आईएमईको १ दशमलव ८३ प्रतिशत, सनराइजको १ दशमलव ५८ प्रतिशत, कुमारी र सेञ्चुरी बैंकको १ दशमलव ४३ प्रतिशत पुगेको छ ।

एनपीएल बढेका अन्य बैंकहरूको गत आवको पहिलो त्रैमासको तुलनामा करीब शून्य दशमलव २३ प्रतिशत विन्दुको हाराहारीमा बढेको वित्तीय विवरणमा उल्लेख छ । तर, बंगलादेश बैंंकको एनपीएल भने तटस्थ देखिन्छ । गत आवको पहिलो त्रैमास र चालू आवमा पनि यसको निष्क्रिय कर्जा १ दशमलव ९७ प्रतिशत रहेको छ ।

तर, नौओटा वाणिज्य बैंकले भने एनपीएल घटाउन सफल भएका छन् । कोभिड अवधिमा पनि एनआईसी एशिया बैंकले थोरै भए पनि एनपीएल घटाएर असोज पहिलो सातामा शून्य दशमलव ४० प्रतिशतमा सीमित राखेको छ । लक्ष्मी बैंकको शून्य दशमलव ९७, मेगाको १ दशमलव शून्य १, सिभिलको १ दशमलव ५०, सेञ्चुरीको २ दशमलव शून्य ८, कृषि विकासको २ दशमलव ३७, प्रभुको २ दशमलव ६७ र एनसीसीको २ दशमलव ८३ प्रतिशतमा सीमित छ ।

हिमालयन बैंकका महाप्रबन्धक सुशील जोशी अहिले राहत दिए पनि पछि एकैचोटि ग्राहकले भुक्तानी गर्न नसक्दा एनपीएल पक्कै बढ्ने ठहर गर्छन् । ‘पछि एकैपटक तिर्दा गाह्रो हुने देखिन्छ । कोभिडबाट उच्च प्रभावितलाई असारसम्म र मध्यम प्रभावित ऋणीलाई पुससम्मको अवधि दिएको छ । यस अवधिसम्म पनि नतिरे एनपीएलमा जोडिन्छ । राष्ट्र बैंकले पनि कति समय बढाउँदै जाने हो निश्चित छैन । यसरी साध्य पनि हुँदैन,’ उनले अभियानसँग भने । केन्द्रीय बैंकले कोभिड प्रभावितबाट नउठेको ऋणलाई एनपीएल देखाउन नपर्ने सुविधा दिएको थियो । एनपीएलमा देखाउन नपरे पनि बैंकहरूको ब्याज आम्दानीमा प्रहार गर्ने बैंकरहरूले गुनासो गर्दै आएका थिए । यसले गर्दा वितरणयोग्य मुनाफा रकममा समेत संकुचन आउने बैंकरहरूको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)