ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एयर ट्रान्सपोर्ट बबल स्किममा नेपाल–भारत सहमति

९ महीनापछि नियमित हवाई उडान शुरू हुँदै

२०७७ मंसिर, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेपाल र भारतबीच ९ महीनापछि नियमित हवाई उडान शुरू हुने भएको छ । भारतले यसअघि नै प्रस्ताव गरेको एयर ट्रान्सपोर्ट बबल स्किममा नेपाल भारतबीच सहमति भएपछि उडान शुरू हुने भएको हो ।

कोरोना महामारी (कोभिड–१९) का कारण नेपाल र भारतबीच २०७६ चैत ११ गतेबाट हवाई उडान बन्द छ । भारतले गत कात्तिकमा नै विभिन्न मुलुकका नागरिकलाई फिर्ता लैजान सक्ने गरी नेपालसमक्ष ‘एयर ट्रान्सपोट बबल स्किम’ को प्रस्ताव गरे पनि नेपालले अस्वीकार गरेको थियो ।

सरकारले कोरोना संक्रमणका कारण बन्द गरेको अन्तरराष्ट्रिय उडान करीब ५ महीनापछि गत भदौ १६ गतेदेखि नियन्त्रित रूपमा खोलेको थियो भने असोज ५ गतेदेखि आन्तरिक हवाई उडान सुचारू गर्ने निर्णय गरेको थियो । त्यसपछि अन्तरराष्ट्रिय उडानहरू क्रमशः थपिँदै गए पनि भारतमा भने उडान शुरू भएको थिएन ।

एयर बबल स्किमअन्तर्गत हाल दुवै देशले एक एक वायुसेवा कम्पनीमार्पmत काठमाडौं– दिल्ली उडान गर्ने निर्णय भएको छ । यसअनुसार नेपालबाट नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं र एअर इन्डियाले दिल्ली–काठमाडौं–दिल्ली दैनिक एकएक उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

एक दुई दिन दुवै देशका उडानका लागि सहमति भएका वायुसेवा कम्पनीहरूले प्राधिकरणमा उडान तालिका पेश गर्ने र सो स्वीकृत हुनासाथ २/३ दिनभित्रै दुई देशबीच उडान शुरू हुने प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । ‘एयर ट्रान्सपोर्ट बबल स्किमअनुसार नेपाल भारतबीच छिट्टै उडान शुरू हुनेछ । यो उडानमा कूटनीतिक नियोगका व्यक्तिबाहेक नेपाली र भारतीय नागरिकले मात्र यात्रा गर्न पाउनेछन्,’ उनले भने । प्रवक्ता क्षत्रीका अनुसार एयर ट्रान्सपोर्ट बबल स्किमअनुसार तेस्रो देशका नागरिकले भने यात्रा गर्न पाउने छैनन् । एयर बबल अवधारणा भारतले कोरोना भाइरसको संक्रमणपछि मुलुकहरूले आफ्ना नागरिकलाई लैजान सक्ने गरी ल्याएको अवधारणा हो ।

यस स्किमअन्तर्गत नेपाल आउने यात्रुले यात्रा थाल्नुअगाडि नै अन्तरराष्ट्रिय ट्राभल अनलाइन फारम भर्नुपर्नेछ । विमान बोर्डिङ हुने समयभन्दा बढीमा ७२ घण्टा अघिको पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुहरूलाई मात्र नेपाल ल्याउन पाइने प्रवक्ता क्षत्रीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)