ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना बीमा दाबी भुक्तानीको ढिलाइमा चार कारण : समिति

२०७७ मंसिर, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । आवेदनमा पूरा कागजपत्र समावेश नभएको र लामो प्रक्रियाका कारण कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको पाइएको छ । बीमा समितिले कोरोना बीमासम्बन्धी गरेको अनुगमनले विभिन्न चार कारणले दाबी भुक्तानीमा ढिलाइ भएको देखाएको हो ।

समितिको अनुगमनले कागजपत्र पूरा नआउँदा नै दाबी भुक्तानीमा ढिलाइ भएको देखाएको छ । बीमितले बीमा दाबी गर्दा कोरोना बीमादण्डअनुसार तोकिएको कागजपत्र बीमा कम्पनीहरूमा पेश गर्नुपर्ने हुन्छ । कम्पनीहरूले कागजपत्र पूरा भए÷नभएको यकिन गरी पुल व्यवस्थापक शिखर इन्स्योरेन्समा पठाउनुपर्ने हुन्छ । तर, कम्पनीहरूले प्राप्त केही आवेदनमा पूरा कागजपत्र पूरा भए÷नभएको यकिन नै नगरी पुलमा पठाएको समितिको अनुमगनले देखाएको छ । फलस्वरूप दाबी भुक्तानीमा ढिलाइ भएको समितिको भनाइ छ । अब समितिले कागजपत्र पूरा÷नभएको रुजू गरेर मात्र पुलमा पठाउन निर्देशन दिएको छ ।

यस्तो समस्या सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीमा देखिएको अनुगमनमा रहेका समितिका उच्च अधिकारी बताए । ‘अन्य कम्पनीमा त्यस्तो खास समस्या देखिएको छैन । तर, राष्ट्रिय बीमा कम्पनीमा भने समस्या देखिएको छ,’ उनले भने ।

कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएपछि अर्थ मन्त्रालय नै दुई पटकसम्म समयमा भुक्तानी दिन निर्देशन दिएको थियो । तर, पनि दाबी भुक्तानी समयमा नभएपछि समितिले बुधवार पुल व्यवस्थापक शिखर इन्स्योरेन्समा अनुगमन गरेको हो ।

अनुगमनले दाबीको लामो प्रक्रियाका कारण पनि दाबी भुक्तानीमा ढिलाइ भएको देखाएको छ । कोरोना बीमाको दायित्व बीमा समिति र नेपाल सरकारको पनि हुने भएकाले त्यसको लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुनेछ । त्यसका लागि मापदण्डअनुसार स्पष्ट नभएका पीसीआर रिपोर्ट स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्रमाणीकरण गर्नुपर्ने हुन्छ । त्यसभन्दा पहिला सम्बद्ध बीमा कम्पनीले पनि आवश्यक कागजपत्र रुजू गरेर पुलमा पठाउनुपर्ने हुन्छ । यसरी दाबीको प्रक्रिया नै लामो भएका कारण १ हप्तामा नै दाबी भुक्तानी गर्न समस्या देखिएको समितिको भनाइ छ ।

बीमा कम्पनीका कर्मचारीहरू संक्रमित हुँदा पनि दाबी भुक्तानीमा ढिलाइ भएको छ । बीमा सर्वमान्य सिद्धान्तअनुसार एउटै दाबी विभिन्न बीमा कम्पनीबाट छुट्टाछुट्टै किसिमले भुक्तानी गर्न मिल्दैन । तर, कतिपयले दुईभन्दा बढी बीमा कम्पनीबाट पनि यस्तो बीमा गरेको अवस्थामा दाबी दोहोरो पर्ने सम्भावना पनि छ । त्यसकारण दाबी आवेदनहरू प्रमाणीकरण गरेर दोहोरो भुक्तानीलाई नियन्त्रण गर्दा पनि दाबी भुक्तानीमा समय लागेको समितिको अनुगमनले देखाएको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाचाईंले लामो समयसम्म नै दाबी भुक्तानीमा ढिलाइ भएको देखिएपछि आवश्यक अनुगमन गरिएको बताए । ‘अनुगमनपछि विभिन्न चार कारणले दाबी भुक्तानीमा ढिलाइ भएको देखिएको छ । त्यस्ता समस्यालाई छिट्टै समाधान गरेर दाबी भुक्तानी समयमा नै गर्न कम्पनीलाई निर्देशन पनि दिइसकेका छौं,’ उनले भने ।

अबको १५ दिनपछि भने दाबी भुक्तानीको काम चुस्त रूपमा अगाडि बढ्ने पनि उनले बताए । ‘पेन्डिङमा रहेको दाबी तत्काल गर्ने गरी तयारी अगाडि बढिसकेको छ । त्यसका लागि पुलमा ४५ जना कर्मचारी खटाइएको पनि छ,’ उनले भने, ‘त्यसअनुसार अबको १५ दिनमा पेन्डिङमा रहेका आवेदनको काम सकिन्छ । त्यसपछि दाबी भुक्तानी चुस्त रूपमा नै अगाडि बढ्नेछ ।’

समितिका अनुसार हालसम्म कागजपत्र पूरा भएको दाबी आवेदनको संख्या १७ हजार १५२ रहेको छ । त्यसमा स्वास्थ्य मन्त्रालयमा प्रमाणीकरणका लागि ४ हजार १५२ ओटा आवेदन पठाइएको छ । तीमध्ये पनि २ हजार ४९३ ओटा आवेदन प्रमाणीकरण भएर फिर्ता आइसकेको छ ।

यस्तै, ८ हजार १४५ जनालाई दाबी भुक्तानी पनि गरिसकिएको छ । अब कागजपत्र पूरा भएर दाबी भुक्तानी दिन बाँकी आवेदन ९ हजार ९० ओटा रहेको छ र १ हजार १३६ ओटा आवेदन भने अपुग कागजपत्र थपेर पठाउनसम्बन्धी निर्र्जीवन बीमा कम्पनीमा पठाइएको समितिको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)