मंसिर २७, पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्ड फराकिलो विस्तारका लागि दैनिक साढे ३ घण्टा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतको संयोजनमा शुक्रवार बसेको सर्वपक्षीय बैठकको निर्णय अनुसार मंसिर २१ गतेदेखि २ हप्ताका लागि सडक आंशिक बन्द गरिएको हो ।
लोकमार्गको पर्वत खण्डमा पर्ने कुश्मा नगरपालिका वडा नं ७ खरेहादेखि वडा नं ८ को दोबिल्लाबीचको भीरमा सडक फराकिलो बनाउने काम गरिँदै छ । पर्वतको सडक खण्डमा बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिए ।
मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा अहिले धमाधम काम भइरहेको छ । अहिलेसम्म लोकमार्गको झण्डै ७० प्रतिशत काम सम्पन्न भएको र खरेहा र चुवाको भीर तथा चुवादेखि दोबिल्लाबीच भीरमा कडा चट्टान फुटाउन बाँकी रहेकाले सडक बन्द नै गरेर निर्माण अघि बढाइएको हो । सडकमा सवारीसाधनको चाप बढ्दै गएकाले आवतजावत नै रोकेर निर्माण गर्न थालिएको सडक निर्माण कम्पनी लामा कन्स्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले बताए ।
आयोजना र ठेकेदार कम्पनीबीच ३६ महीनामा निर्माण सक्ने सम्झौता भए पनि गत भदौमा सम्झौता अवधि सकिइसकेको छ । कोभीड–१९ का कारण झण्डै ७ महीनादेखि रोकिएको काम गत असोजको दोस्रो सातादेखि शुरू भएको थियो । पर्वत खण्डमा सडक स्तरोन्नतिको क्रममा मोदीखेत क्षेत्रमा कालोपत्र गर्न पनि थालिएको छ । कम्पनीका प्रतिनिधि राजाराम आचार्यका अनुसार जाडो नबढेसम्म कम्तीमा ५ किलोमिटर कालोपत्र बिच्छ्याउने काम सकिनेछ ।