ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कैलालीमा १० हजार उद्योग दर्ता

१४ अर्ब ७२ करोड लगानी प्रस्ताव

२०७७ मंसिर, २८  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

मंसिर २८, धनगढी । कैलालीमा १० हजार उद्योग दर्ता भएको पाइएको छ । जिल्लामा हरेक वर्ष उद्योग दर्ता क्रम बढ्दो छ । अधिकृत पूँजी रू. ५ करोडसम्म लगानी प्रस्ताव गरेर अहिलेसम्म विभिन्न प्रकृतिका गरी १० हजार उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय धनगढीको तथ्यांकले देखाएको छ । 

दर्ता भएको उद्योगको लगानी प्रस्ताव रू. १४ अर्ब ७२ करोड रहेको कार्यालयका उद्योग अधिकृत नवराज भट्टले जानकारी गराए ।

जिल्लामा आर्थिक वर्ष (आव) २०७५÷७६ मा १ हजार ८३४, २०७६÷७७ मा १ हजार १७४ र चालू आवको मङ्सिर तेस्रो सातासम्ममा २ हजार उद्योग दर्ता भएका छन् । जिल्लाभित्र दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता ६५ अर्ब २९ करोड रहेको उद्योग अधिकृत भट्टले जानकारी दिए । दर्ता भएका उद्योगमध्ये ९० प्रतिशत सञ्चालनमा रहेको पाइएको छ । ‘यी उद्योगहरूले नियमित नवीकरण र आन्तरिक राजस्व कार्यालयमा कर विवरण बुझाएको आधारमा ९० प्रतिशत उद्योग सञ्चालनमा रहेको बुझ्न सकिन्छ,’ उद्योग अधिकृत भट्टले भने ।

६३ हजार ३४३ रोजगारी प्रस्ताव गरी कार्यालयमा उक्त संख्यामा उद्योग दर्ता भएको अभिलेख छ । दर्ता भएका उद्योगको ९५ प्रतिशत स्वामित्व पुरुषको देखिन्छ भने महिलाको स्वामित्वमा ५ प्रतिशत उद्योग मात्र दर्ता भएको पाइएको छ । एकल वा साझेदारी विभिन्न प्रकृतिका उद्योगमा गरी २२ प्रतिशत महिला उद्योगका मालिक रहेको पाइएको उद्योग अधिकृत भट्टले बताए । गत आवमा ७६ ओटा उद्योगको दर्ता खारेजी गरिएको छ भने चालू आवको हालसम्म ५० ओटा उद्योगको दर्ता खारेजी गरिएको छ । स्वैच्छिक रूपमा आफ्नो उद्योगको दर्ता खारेजीको निवेदन दिएपछि कार्यालयले ती उद्योगको दर्ता खारेजी गर्दै आएको बताएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयको पछिल्लो तथ्यांक अनुसार जिल्लाभित्र कृषि वन पैदावारमा आधारित ४ हजार २२०, उत्पादनमूलक ३५८, पर्यटनसम्बन्धी २ हजार ५७८ र उद्योग निर्माण उद्योग ६२ ओटा दर्ता भएका छन् । क्रसर उद्योग दर्ता, नवीकरण, खारेजी लगायत विषयमा भने औद्योगिक ऐन २०७६ ले घरेलु कार्यालयबाट अनुमति लिन नपर्ने व्यवस्थाले जिल्लाभित्र सञ्चालित क्रसर उद्योगले अपनाउने मापदण्डलगायत विषयमा अन्योल बढाएको उद्योग अधिकृत भट्टले बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)