मंसिर २८, पर्वत । पर्वतको फलेवास नगरपालिकाका सबै वडामा घरेलु औजार उद्योग स्थापना गरिने भएको छ । ग्रामीण क्षेत्रमा आवश्यक घरेलु उपयोगका औजारहरू निर्माण गर्ने र विपन्न नागरिकहरूको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले फलेवासका ११ ओटै वडामा औजार उद्योग स्थापना गर्न थालिएको हो । गत आर्थिक वर्षदेखि बजेट विनियोजन गरेर उद्योग स्थापना गर्ने अभियान थालिएको छ ।
यस वर्ष तीनओटा वडामा उद्योग स्थापना हुनेछन् भने बाँकी चालू आर्थिक वर्षको अन्त्यतिरदेखि निरन्तर स्थापना गरिँदै लैजाने फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए । उनका अनुसार यस वर्ष वडा नं. ८ ठानामौला, वडा नं. १ कार्किनेटा र वडा नं ४ चुरीमा उद्योग स्थापना भइसकेका छन् । प्रत्येक उद्योगका लागि आवश्यक सामग्रीहरू नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख शर्माले जानकारी दिए ।
घरेलु औजार उद्यागमा ग्रामीण क्षेत्रमा आवश्यक पर्ने हँसिया, बाउसा, कोदाली, बन्चरो, आरा, करौती, खुकरी, फलामका विभिन्न भाँडाकुडा, हलो, तथा तामाका भाँडाकुडाहरू निर्माण हुनेछन्, जसले आयातित वस्तुहरूलाई विस्थापन गरी विपन्न नागरिकको आयआर्जनमा सुधार हुने विश्वास लिइएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए ।
फलेवास नगरपालिकामा १०९ ओटा आरन व्यावसाय छन् । तिनीहरूलाई गत वर्षदेखि नै आरन सुधार अभियान अन्तर्गत आधुनिक सामग्रीहरू नगरपालिकाले वितरण गरिसकेको छ । नगरपालिकाले रू. ३६ लाख रुपैयाँ विनियोजन परेर परम्परागत घरेलु औजार उद्योगलाई प्रवद्र्धनको काम अघि बढाएको नगरप्रमुख शर्माले बताए ।
विपन्न नागरिकहरूले निर्वाहमुखी रूपमा सञ्चालन गर्दै आएको आरन पेशालाई आधुनिकीकरण गर्दै नगरपालिका भित्र चाहिने फलाम र तामाका सामान उत्पादन गर्ने अभियान प्रभावकारी हुने नगर उपप्रमुख मन्जु अधिकारीले जानकारी दिइन् । उनका अनुसार वडा नं. ८ ठानामौलाको नमूना एकीकृत बस्तीबाट उद्योग स्थापनाको अभियान थालिएको हो ।
अभियान थालनी गर्दै नगरप्रमुख शर्माले हरेक ठाउँको विकासका लागि सोही ठाउँका निश्चित वर्गले नेतृत्व लिनुपर्नेमा जोड दिँदै असंगठित वर्गका श्रमिकको जीवनस्तर उकास्न नगरपालिकाले नयाँ र नमुना कार्यक्रम अघि सारेको बताए ।
दलित समुदाय रहेका बस्तीलाई लक्षित गरी यो कार्यक्रम अघि सारिएको हो । यो कार्यक्रमका लागि आगामी वर्षदेखि निरन्तर बजेट विनियोजन गरेर उद्योगहरू थप गर्दै लैजाने फलेवासका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताए ।