ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौं–तराई द्रुतमार्ग : सुरुङमार्ग र जटिल खाले पुल निर्माणको भाखा सर्‍यो

२०७७ मंसिर, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) का मुख्य संरचना सुरुङमार्ग र जटिल खालका पुल बनाउने भाखा सरेको छ । सुरुङमार्ग र पुलका आवश्यक प्रक्रिया पूरा गर्दा केही समय पर धकेलिएको भन्दै नेपाली सेनाले आगामी वैशाख वा यही चालू आर्थिक वर्ष (आव) २०७७/७८ को अन्तिमसम्ममा शुरू गरिने जानकारी दिएको छ । सेनाले तयार पारेको होलेस्टिक योजनाअनुसार पुसदेखि यी संरचना निर्माण अघि बढाउने तयारी थियो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण नेपालमा समेत बन्दाबन्दी भएपछि सुरुङ निर्माणका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय परामर्शदाता छनोटमा ढिलासुस्ती हुँदा कार्ययोजना पनि प्रभावित भएको सेनाको दाबी छ । यद्यपि अहिले जियोफिजिकल अनुसन्धानको स्थलगत काम सम्पन्न भइसकेको भन्दै सेनाले सुरुङमार्ग बनाउन अन्तरराष्ट्रिय निर्माण व्यवसायी छनोट गर्न मूल्याङ्कनको कार्य भइरहेको जानकारी दिएको छ ।

यो काम पुस १५ गतेसम्म सम्पन्न गरिने नयाँ कार्यतालिका तोकिएको छ । सोहीअनुसार चैत महीनासम्ममा सम्झौता सम्पन्न गरिने सेनाको भनाइ छ । कुल ७२ दशमलव ५ किलोमीटर (किमी) दूरीको उक्त द्रुतमार्गमा हाल माटो काट्ने÷पुर्ने काम ८८ प्रतिशत सम्पन्न भए पनि मुख्य काम तीनओटा सुरुङमार्ग र जटिल खाले १६ पुलसहितका अन्य पुल निर्माण शुरू नहुँदा आयोजनाको समग्र खर्चस्थिति नै प्रभावित बन्न पुगेको छ ।

आयोजनाको कुल खण्डमध्ये १७ किमी सुरुङमार्ग र पुलको भाग रहेको छ । आयोजनाको सबैभन्दा बढी खर्च हुने भाग भनेकै यी संरचनामै हो । धेरै खर्च हुने संरचना नै बन्न बाँकी रहेकाले खर्च कम हुँदा हालसम्म उक्त आयोजनामा जम्मा रू. १६ अर्ब ६६ करोड खर्च भएको छ ।

काठमाडौं–तराईलाई छोटो दूरीमा जोड्ने द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार रू. १ खर्ब ७५ अर्ब कुल लगानी रहने सो आयोजनामा खर्चस्थिति भने निकै कमजोर देखिएको छ ।

मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयअनुसार आव २०७४/७५ देखि नेपाली सेनाले निर्माण व्यवस्थापनको जिम्मेवारी लिएको थियो । त्यसयता औपचारिक रूपमा सेनाले निर्माणको अघि बढाए पनि डीपीआर बनाउन र स्वीकृतिमा नै झन्डै २ वर्ष खर्च भयो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण आयोजनाले गति लिन नसकेको दाबी सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलको छ ।

लामो समयसम्म डीपीआर उपलब्ध नहुनु र उपलब्ध भइसकेपछि पनि स्वीकृति हुन नसक्नु तथा अन्तरराष्ट्रिय परामर्शदाताको छनोटमा हुन गएको ढिलाइ तथा कोभिड–१९ को कारण आशातीत गतिमा काम अघि बढ्न नसके सेनाको भनाइ छ । अन्तरराष्ट्रिय परामर्शदाता र सम्बद्ध टीमको आगमनका साथै जटिल मानिएका सुरुङमार्गका लागि कम्पनीहरूको सर्टलिस्टका लागि मूल्याङ्कन शुरू भएकाले आयोजनाको कामले गति लिने पौडेलको दाबी छ ।

आयोजनाको म्याद थपका लागि कुनै प्रक्रिया शुरू नगरिएको उनको भनाइ छ । उनले भने, ‘कोरोनाका कारण ६/७ महीना काममा ढिलाइ भएकाले त्यत्ति नै समय थप हुनसक्छ, तोकिएकै समयमा काम सम्पन्न गर्ने लक्ष्यमा भने यथावत् नै छौं ।’ सेनाका अनुसार चालू आवको हालसम्म ५ दशमलव १० प्रतिशत काम सम्पन्न भएको छ ।

सुरुङमार्ग निर्माणका लागि अन्तरराष्ट्रिय परामर्शदाताको परामर्शअनुसार थप ड्रिलिङ तथा परीक्षण गर्ने कार्य भइरहेको छ । यसको मूल्याङ्कन केही दिनमै सम्पन्न भई कम्पनीहरूको सर्टलिस्ट गरिने सेनाको भनाइ छ ।

पुल निर्माणका लागि पनि राष्ट्रिय परामर्शदाता छनोट मूल्याङ्कनको क्रममा रहेको छ । बेलिब्रिज निर्माणका लागि तीनओटै सुरुङखण्ड दुवैतर्पm जोड्ने गरी एप्रोच सडक निर्माण अगाडि बढाइएको सेनाले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

sushil

[Dec 17, 2020 06:56am]

जुन जोगी आहे पनि कान्नै चिरेको भन्थिए हो रहेछ हामीले सेना सेना भनेको उस्को काम पनि देखियो हे पशुपतिनाथ चाडहै सकिएको हेर्न पाहु



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)