धनगढी । धनगढीमा सुदूरपश्चिम प्रदेशकै ठूलो सिटी हल निर्माण अन्तिम चरणमा पुगेको छ । २५ करोड २६ लाख रुपैयाँ लगानीमा निर्माणाधीन ‘धनगढी सिटी हल’ करीब ८० प्रतिशत सम्पन्न भएको संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीका प्रमुख एवं इन्जिनीयर महेशबहादुर सिंहले जानकारी दिए ।
कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा निर्माणाधीन उक्त सिटी हलको कामले पछिल्लो समय अपेक्षाकृत गति लिएको हो । ‘कोरोना कहरले विकासका काम प्रभावित भएका बेला संघीय सरकारको लगानीमा बन्दै गरेको सिटी हलको भौतिक प्रगति सन्तोषजनक रहेको छ,’ उनले भने ।
सिटी हल निर्माण सम्पन्न भएपछि प्रदेशभित्र आयोजना गरिने ठूला सभा÷समारोहका लागि सहज हुने अपेक्षा गरिएको छ । सोहीअनुरूप निर्माणलाई गति दिइएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । सिटी हल निर्माणका लागि बिकेवाई एमके रोयल जेभीसँग २०७६ माघ २ गते सम्झौता भएको थियो । सम्झौता अनुसार २०७८ असार ९ गते अर्थात् ३० महीना अवधिमा निर्माण सम्पन्न गर्नुपर्नेछ । लकडाउनका कारण सिटी हल निर्माण करीब ३ महीना रोकिए पनि निर्धारित समयअगावै सम्पन्न हुनेगरी काम भइरहेको निर्माण व्यवसायी प्रकाश सेठीले बताए । एक बिगाहा क्षेत्रफलमा बन्दै गरेको सिटी हल १ हजार जना अटाउने क्षमताको हुनेछ । अपांगतामैत्री रहने सिटी हलको अन्डरग्राउण्ड तथा हलको बेसमेन्टमा पार्किङको व्यवस्था हुनेछ ।
सिटी हलमा छुट्टाछुट्टै दुईओटा हल निर्माण गरिनेछ । सिटी हलभित्रै प्रशासनिक कक्ष, चेन्जिङ रूम, अति विशिष्ट कक्षको व्यवस्थाका साथै खानेपानी, शौचालय लगायत सुविधा रहनेछ । निर्माण सम्पन्न भएसँगै सिटी हलको स्वामित्व धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिनेछ । यसपछि सिटी हलको सम्पूर्ण व्यवस्थापन धनगढी उपमहानगरपालिकाले
नै गर्नेछ ।