धनगढी । एशियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण लगानीमा कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाभित्र साढे २४ किलोमिटर सडक निर्माण अघि बढाइएको छ । क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढीमा पहिलो चरणअन्तर्गत साढे १० र भीमदत्तमा १४ किलोमिटर सडक निर्माण शुरू गरिएको हो । बिहीवारदेखि धनगढीमा शुरू भएको परियोजनाको उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले क्याम्पस गेट–चटकपुर सडकको शिलान्यास गरेका छन् । धनगढीलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने कार्यक्रमको रूपमा यो परियोजनालाई लिइएको छ ।
एडीबीको सहयोगमा सञ्चालन भइरहेको क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढी उपमहानगरपालिकाभित्र ४२ किलोमिटर सडक विस्तारका लागि २०१५ मा सम्झौता भएको थियो । ‘सम्झौता भएको लामो समय बितिसक्दा पनि सडक निर्माणले गति लिन सकेको थिएन,’ नगरप्रमुख वडले भने, ‘ढिलै भए पनि परियोजनाको काम शुरू भएको छ ।’ सन् २०१५ मा छुट्ट्याइएको १ अर्ब ३५ करोड बजेट अपुग भएको भन्दै सडक निर्माण चरणबद्ध रूपमा हुने नगरप्रमुख वडले बताए । पहिलो चरणमा साढे १० किलोमिटर सडक निर्माण शुरू भएको उनले जानकारी दिए । पहिलो चरणमा ६८ करोड ५ लाख ९८ हजार ७०४ रुपैयाँमा कालिका कन्स्ट्रक्सनले ठेक्का पाएको छ । कम्पनीले ७ ओटा सडक निर्माण गर्दै छ ।
क्षेत्रीय सहरी विकास आयोजना उप–व्यवस्थापक श्यामचन्द्र बुढाथोकीले समयमै काम सम्पन्न हुने अपेक्षा गरे । शुरूमा ठेक्का प्रक्रियामा केही समस्या भएर काममा ढिलाइ भएको उनको भनाइ छ । धनगढी उप–महानगरपालिकाका डिभिजन इन्जिनियर डिजराज भट्टले सडक विस्तारका लागि स्थानीयले पनि सहयोग गर्न थालेको बताए । उनले भने, ‘सडक क्षेत्राधिकारभित्र पर्ने संरचना भत्काउने घरधनीलाई सम्मान गर्ने, करमा छूट गर्ने, भत्काइएको घर नक्सामा छूट दिने, रंगरोगनमा सहयोग गर्ने जस्ता कार्यक्रम ल्याएका छौं ।’
त्यस्तै कञ्चनपुरको महेन्द्रनगरमा आधुनिक सडक निर्माणका लागि प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्टले शिलान्यास गरेका छन् । एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सरकारले सुदूरपश्चिम प्रदेशका चार स्थानीय तहका मुख्य शहरमा आधुनिक सडक निर्माणका लागि छनौट गरेको थियो । कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा सडक स्तरोन्नति र ढल व्यवस्थापनका साथै फोहोरमैला प्रशोधन केन्द्रको निर्माणको प्रक्रिया थालनी गरेको थियो ।