पर्वत । पर्वतको कुश्मामा पर्यटकीय आकर्षण बढाउन जिपलाइन निर्माण गरिने भएको छ । कुश्मा नगरपालिका ५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउनेबगरसम्म १४ सय मिटरको दूरीमा जिपलाइन बनाउन थालिएको हो । साहसिक पर्यटनको लागि जिल्लाका युवाहरूले झण्डै ११ करोड लगानी गरेर जिपलाइन निर्माणको थालनी गरेको बताएका छन् । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उक्त परियोजनाको शुक्रवार एक कार्यक्रमका बीच शिलान्यास गरे ।
कुश्मा नगरपालिकाका प्रमुख जोशीले पर्वत साहसिक पर्यटनको हब बन्न थालेको बताए । साहसिक पर्यटनमा भएको लगानी खेर नजाने बताउँदै जिल्लाको समृद्धि सम्भव रहेको धारणा उनले राखे । जिपलाइन निर्माणमा नगरप्रमुख जोशी सहित, नरेन्द्र केसी, राजकुमार बस्नेत, सागर जोशी, विदुर पौड्याल, सूर्यबहादुर क्षेत्री र सुनिल बानियाँले लगानी गरेका हुन् ।
चार महीनामा सबै संरचना निर्माण गरिसक्ने निर्माणको जिम्मा लिएको श्याम जिपलाइन कम्पनीले बताएको छ । कम्पनीका इन्जिनियर नवीन म्यासीले यो जिपलाइन सुपर म्यान शैलीमा निर्माण हुन थालेको बताएका छन् । पर्वतको जिपलाइनमा एकैपटकमा दुई जना सँगै झुन्डिन मिल्ने र ६० देखि ९० सेकेन्डको समयावधिमा यात्रा पूरा हुने इन्जिनियर म्यासीले बताए । जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा २ हजार किलो तौल धान्न सक्नेछ । साउनेबगरमा रिसोर्ट पनि सञ्चालन गर्ने योजना छ ।