ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उत्तरी नाकाबन्दको असर : वर्ष दिनदेखि निर्यात ठप्प

२०७७ मंसिर, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । चीनले गतवर्षदेखि उत्तरी नाका बन्द गरेका कारण १ वर्षदेखि नेपाली सामानको निर्यात ठप्प भएको छ । चार्टर्ड विमान र भारतीय नाका हुँदै केही सामान गइरहे पनि नाकाबाट हुने निर्यात पूर्णरूपमा बन्द भएको व्यवसायीहरूले बताएका छन् ।

नेपालबाट चीनतर्फ हस्तकला, गलैंचा, कार्पेटलगायत सामग्रीको राम्रो निर्यात हुने गरेको छ । अघिल्लो वर्ष चीनमा कोभिडको लहर देखिएपछि नेपाली पक्षले नै नाकाबाट हुने कारोबार बन्द गरेको थियो ।

कोरोना विश्वव्यापी बन्दै गएपछि भने चीनले नै नाका बन्द गरेको थियो । त्यसयता व्यवसायीहरूले बारम्बार नाका खुलाउन सरकालाई पहल गर्न आग्रह गरे पनि नाका खुल्न सकेको छैन । गत जेठमा नेपाल–चीन वाणिज्य सचिवहरूबीच भएको सहमतिअनुसार नाका खुलेर आयात आंशिक रूपमा भए पनि निर्यात भने ठप्पै छ । हाल चिनियाँ पक्षले सीमावारिसम्म दैनिक बढीमा ५ कन्टेनर सामान पु¥याइदिने गरेका छन् भने नेपाली कन्टेनरहरू सीमापारि जान पूर्णरूपमा निषेध गरिएको छ । नाका बन्द हुँदा नेपाली उत्पादनले बजार नपाएको र कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले बताए ।

उनले संघबाट धेरैपटक नाका खुलाउन पहल गरिदिन सरकारलाई आग्रह गरे पनि नतीजा देखिने गरी काम नभएको बताए । उनले भने, ‘दैनिक सय कन्टेनर सामान आयात हुने नाकाबाट हाल मुश्किलले ५ कन्टेनर आइरहेका छन्, निर्यात त ठप्प नै छ ।’ संघका सचिव तथा नेपाल चीन द्विदेशीय व्यापार गरिरहेका लेप्साङ शेर्पाले चिनियाँ बजारको विकल्प खोजिरहेको बताए । उनले सामान्य अवस्थामा पनि चीनतर्फ सामान निर्यात गर्दा विभिन्न समस्या रहेको बताए । उनका अनुसार चिनियाँ व्यापारीहरूको एकाधिकारका कारण निर्यातमा समस्या रहेको छ । चिनियाँ लाइसेन्स लिएका व्यापारीहरूले मात्र सामान आपूर्ति गर्न पाउने भएपछि बजार हुँदाहुँदै पनि मागअनुसार निर्यात गर्न नसकिएको उनको भनाइ छ ।

नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका महासचिव बलराम गुरुङ चीनतर्फको नाका बन्द भएपछि चीनको विकल्प खोजेको बताउँछन् । पछिल्लो समय यूरोप, अमेरिकातिर निर्यात बढेको उनले बताए । उनकाअनुसार पछिल्लो ३ महीनामा चीनतर्फ निकासी नहुँदा पनि गलैंचाको व्यापार राम्रो भएको छ । ‘धेरै व्यवसायीले व्यवसाय नै छाडेर पलायन पनि भएका छन्, तर तेस्रो मुलुकसँग बजार बढेकाले व्यापार बढ्न थालेको छ,’ उनले भने ।

सरकारी तथ्यांकअनुसार नै चीनसँगको व्यापार घटेको छ । चालू आर्थिक वर्षको पहिलो ४ महीनामा नेपाल–चीनबीच रू. ६० अर्बको मात्र द्विदेशीय व्यापार भएको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २० अर्बले कम हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)