ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमाशुल्कभन्दा दाबी रकम बढी

रू. १ अर्बभन्दा बढी भुक्तानी, साढे ३ अर्ब दाबी बाँकी

२०७७ मंसिर, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना बीमा (कोभिड–१९ बीमालेख) मा बीमाशुल्कभन्दा दाबी भुक्तानी रकम बढी हुन पुगेको छ । पछिल्लो समय बीमा गर्ने व्यक्तिको संख्या कम हुँदै गएको छ भने दाबी गर्नेको संख्या निकै बढेको छ । निर्जीवन बीमा कम्पनीहरूले दाबी भुक्तानीलाई चुस्त रूपमा अगाडि बढाएका छन् । फलस्वरूप दाबी भुक्तानी रकम बढ्दै गएको हो ।

नेपाल बीमक संघबाट प्राप्त तथ्यांकअनुसार हालसम्म कोरोना बीमाबाट करीब ९९ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ । तर, रू. १ अर्ब २ करोड ९६ लाख दाबी भुक्तानी भइसकेको संघको भनाइ छ । १० हजार ५६३ जनालाई सो बराबरको दाबी रकम भुक्तानी गरिएको संघले बताएको छ ।

पछिल्लो समय कोरोना बीमा गर्ने व्यक्तिको सख्या घट्दै गएको छ । तर, दाबी आवेदन भने आइरहेका छन् । फलस्वरूप बीमाशुल्क भन्दा दाबी रकम बढी भएको संघका सचिव तथा प्रवक्ता चंकी क्षेत्रीले बताए । ‘दाबी भुक्तानीमा ढिलाइ भएको समाचारहरू आएपछि बीमाप्रति आकर्षण कम हुँदा बीमाशुल्क संकलनमा संकुचन आएको छ । तर, दाबी भने दिन प्रतिदिन बढ्दै गएको छ,’ उनले भने, ‘फलस्वरूप दाबी रकम बढी भएको हो ।’

संघको तथ्यांकअनुसार अझै अर्बाैं रुपैयाँ बराबरको दाबी रकम भुक्तानी हुन बाँकी छ । अझै ३१ हजार २६४ जनालाई रू. ३ अर्बभन्दा बढी बराबरको दाबी गर्न बाँकी रहेको संघको तथ्यांकले देखाएको छ । बाँकी भएको दाबी पनि भुक्तानी गरिने उनको भनाइ छ । ‘बीमा कम्पनीले कोरोना बीमाको दाबी गर्दैन भन्थे । तर, हामीले १ अर्बभन्दा बढी दाबी भुक्तानी गरिसकेका छौं,’ उनले भने, ‘पेडिङमा रहेको अर्बाैं बराबरको दाबी रकम पनि भुक्तानी गर्छाैं ।’

अर्थ मन्त्रालयले छिटो दाबी भुक्तानी गर्न निर्देशन दिएपछि दाबी भुक्तानीको काम चुस्त रूपमा अगाडि बढेको कम्पनीहरूको भनाइ छ । कात्तिक १८ गते अर्थमन्त्री विष्णु पौडेलले बीमा कम्पनी र बीमा समितिका प्रतिनिधिहरूलाई बोलाएर यस्तो निर्देशन दिएका थिए । त्यस बेला १ हजार ७९१ जनालाई मात्र दाबी भुक्तानी भएको थियो । तर, हालसम्म १० हजार ५६३ जनाले दाबी बुझिसकेको कम्पनीहरू बताउँछन् ।

बीमाशुल्क संकलनभन्दा दाबी रकम बढी भए पनि यसले कम्पनीहरूको व्यवसायमा त्यति ठूलो असर नगर्ने प्रवक्ता क्षेत्रीको भनाइ छ । यसमा सरकारले पनि दायित्व वहन गर्ने भएकाले कुनै समस्या नहुने उनले बताए । ‘हामीले नाफा कमाउने उद्देश्यभन्दा पनि सामाजिक उत्तरदायित्वलाई हेरेर यो कार्यक्रम शुरू गरेका हौं । यो विषम परिस्थितिमा बीमा गरेका जनताले दाबी रकम पाएका छन्, त्यही ठूलो कुरा हो,’ उनले भने, ‘त्यसैले यस व्यवसायमा हामीले नाफाघाटालाई प्राथमिकतामा राखेका छैनौं ।’

एनएलजी इन्स्योरेन्सा सीईओ सुनीलवल्लभ पन्तले दाबी भुक्तान बढी भए पनि कम्पनीहरूलाई कुनै असर नगर्ने बताए ।

मापदण्डअनुसार तोकिएका निकायहरूबाट दाबी भुक्तानीको रकम सेटलमेन्ट हुन्छ ।

कोरोना बीमा मापदण्डअनुसार रू. १ अर्बसम्मको दाबी भुक्तानी स्वयम् निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीले गर्नुपर्ने हुन्छ । त्यसअनुसार हालसम्मको दाबी रकम कम्पनीहरू आफैले गरेको हुन् । अबको रू. १ अर्बसम्मको दाबी भने नेपाल पुनर्बीमा कम्पनीले भुक्तानी गर्नेछ । त्यसपछिको रू. ५० करोड बीमा कम्पनीहरूको महाविपत्ति कोष र थप रू. १ अर्ब भने बीमा समितिबाट भुक्तानी गरिनेछ । त्यसभन्दा पनि बढी अर्थात् साढे ३ अर्ब रुपैयाँभन्दा बढीको दाबी परेमा सरकारले नै दायित्व वहन गर्नेछ । अब सोही मापदण्डअनुसार नै दाबी भुक्तानीको काम अगाडि बढाइने सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका क्षेत्रीले बताए ।

गत भदौ २९ गतेदेखि यता बीमा गर्ने व्यक्ति कोरोना संक्रमित भएमा रू. २५ हजार पाउने छन् । संक्रमित भएर अस्पताल भर्ना हुनुपर्ने भएमा अस्पतालको बिलको आधारमा रू. ७५ हजारसम्म भुक्तानी पाउँछन् । समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेर यस्तो व्यवस्था गरेको थियो । भदौ २९ गतेभन्दा अगाडिका बीमितले भने संक्रमण भएपछि बीमांक बराबरको रकम नै भुक्तानी पाउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)