ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पेट्रोलमा इथानोल मिसाउने योजनाबाट पछि हट्यो निगम

व्यावहारिक रूपमा भनेजस्तो सस्तो नहुने देखिएपछि निगमले यस विषयलाई प्राथमिकतामा नराखेको हो : निगम

२०७७ मंसिर, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । पेट्रोलको मूल्य बढी हुँदा १० प्रतिशत इथानोल मिसाएर विक्रीवितरण गर्न सरकारले ल्याएको योजना अन्ततः तुहिएको छ । पेट्रोलमा हुने खर्च कम गर्ने उद्देश्यअनुरूप उक्त योजना ल्याए पनि अहिले मूल्य अत्यधिक उच्च नभएकाले सरकारले यस सम्बन्धमा कुनै काम अघि बढाएको पाइँदैन ।

सरकारले २०६० सालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउनुपर्ने निर्णय गरेको थियो । नेपाल आयल निगमले पनि २०७१ सालमा यसका लागि आवश्यक तयारी गरेको थियो । तर, कार्यान्वयनमा व्यावहारिक समस्या देखिएपछि अहिले यसलाई प्राथमिकतामा नराखिएको निगमको भनाइ छ ।

स्वदेशी उद्योगको प्रवर्द्धन, वातावरणमैत्री इन्धनको प्रयोग, आयात प्रतिस्थापन तथा पेट्रोलको घाटा कम गर्ने उद्देश्यअनुरूप निगमले यो योजना अगाडि बढाएको थियो । तर, अहिले यस सम्बन्धमा कुनै पनि काम नभएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।

‘अहिले हामी भण्डारण योजना, पाइपलाइनबाट तेल ल्याउने योजनालगायत कार्यमा लागेका छाैं । तर, अहिले तत्कालै पेट्रोलमा इथानोल मिसाउने योजनामा भने छैनौं,’ उनले भने, ‘व्यावहारिक रूपमा भने जस्तो सस्तो नहुने देखिएपछि निगमले यस विषयलाई प्राथमिकतामा नराखेको हो ।’

नेपालमा वार्षिक अर्बांै रुपैयाँ बराबरको पेट्रोल आयात हुन्छ । आयात घटाउने र सस्तोमा पेट्रोल विक्रीवितरण गर्ने उद्देश्यअनुरूप सरकारले यो योजना ल्याएको थियो । त्यस बेला चिनी मिलबाट उत्पादन हुने इथानोललाई मिसाउन यस्तो योजना बनाइएको थियो । तर, चिनी मिलबाट पर्याप्त मात्रामा इथानोल आउने सम्भावना नभएको र इथानोल आयात गर्दा उत्ति नै खर्च हुने भएपछि यस विषयलाई प्राथमिकतामा नराखिएको निगममा प्रवक्ता उपाध्यायको भनाइ छ ।

‘पेट्रोलमा इथालोन मिसाउन पहिला अमलेखगञ्जलगायत ठाउँमा भण्डारणका लागि पूर्वाधारको व्यवस्था पनि गरेका थियौं । तर, इथालोन मिसाउँदा त्यति सस्तो नहुने भएपछि अहिले यस विषयलाई प्राथमिकतामा नराखिएको हो,’ उनले भने, ‘यद्यपि, निकट भविष्यमा भने यो योजना नआउला भन्न सकिँदैन ।’

अहिले पेट्रोल प्रतिलिटर रू. ४५ देखि ५० रुपैयाँसम्ममा आयात हुँदै आएको छ । विभिन्न शीर्षकमा कर तिर्नुपर्ने हुँदा मात्र महँगो भएको हो । यस अवस्थामा इथानोल नै आयात गर्दा पनि खर्च लगभग उस्तै उस्तै हुने निगमको भनाइ छ ।

पेट्रोलमा इथानोल मिसाएर विक्री गर्ने प्रचलन भारत, क्यानडा, ब्राजिल, अमेरिका, अफ्रिका र एशियाका केही देशले प्रयोगमा ल्याइसकेका छन् । नेपालमा पनि यसको सम्भव भएको विज्ञहरू बताउँछन् । चिनी मिलहरूले पनि निश्चित मापदण्ड बनाए इथानोल उत्पादन गर्न सक्ने बताएका छन् । साथै, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी) र नवीकरणीय ऊर्जा केन्द्रले संयुक्त रूपमा गरेको अध्ययनले इथानोलको उत्पादन दैनिक उपभोगका लागि मात्र नभएर निर्यात गर्न सकिनेसमेत देखाएको छ । तर, सम्बद्ध निकायले भने यसलाई बेवास्ता गर्दै आएको छ ।

हाल चिनी मिलबाट कच्चा पदार्थका रूपमा न्यून मूल्यमा भारततर्फ ठूलो परिमाणमा निर्यात हुँदै आएको उखुको खुँदोलाई समेत राम्रोसँग उपयोग गर्न सकिने हुँदा इथानोल प्रयोगलाई ढिलो गरेर भए पनि निगमले प्राथमिकता दिनुपर्ने विज्ञहरूको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)