ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इजरायलमा रोजगारी : ‘प्रोटोकल’मा हस्ताक्षर पुसको दोस्रो साताभित्रै

२०७७ मंसिर, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे

काठमाडौं । गत असोजमा इजरायलसँग भएको श्रम सम्झौताअनुसार नेपाली कामदार त्यहाँ पठाउन तयार पारिएको ‘प्रोटोकल’मा पुसको दोस्रो साताभित्रै दुई देशका अधिकारीहरूबीच हस्ताक्षर हुने भएको छ । गत असोजमा इजरायलका लागि नेपालकी राजदूत अञ्जना शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता भएको थियो । यही सम्झौतालाई आधार मान्दै तयार गरिएको उक्त प्रोटोकलमा इजरायल र नेपाल सरकारका अधिकारीहरूबीच सो समयावधिभित्रै हस्ताक्षर गर्नेगरी दुई देशबीच सहमति जुटेको छ । त्यसैको गृहकार्यमा वैदेशिक रोजगार विभाग लागिपरेको छ ।

विभागका महानिर्देशक कुमार दाहालले प्रोटोकलको मस्यौदा दुई देशबीच रुजू भइसकेकाले हस्ताक्षर गर्न मात्रै बाँकी रहेको बताए । उनका अनुसार केही आन्तरिक गृहकार्य गर्नुपरेकाले प्रोटोकलमा हस्ताक्षर गर्न केही समय लागे पनि पुसको दोस्रो साताभित्रै हस्ताक्षर गरिनेछ ।

विभागका अनुसार इजरायलले नर्सिङ क्षेत्र, अस्पताल, दिवा सेवा केन्द्रलगायतमा नेपाली श्रमिक आपूर्ति गर्नेछ । श्रम सम्झौताका आधारमा सन् २०२१ को जनवरीदेखि नेपालबाट श्रमिक छनोट गरेर पठाउने गरी प्रक्रिया अगाडि बढ्ने दाहालले बताए ।

इजरायलमा कामदार पठाउन गत असोजमा भएको श्रम सम्झौतालाई केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । अनुमोदनसँगै कामदार पठाउन थप बाटो खुला भएको विभागका अधिकारीहरूको भनाइ छ ।

महानिर्देशक दाहालका अनुसार श्रम सम्झौतामा उल्लेख भएअनुसार पहिलो चरणमा ५ सय कामदार रोजगारीका लागि इजरायल जाँदै छन् । श्रम सम्झौताका आधारमा हिब्रु भाषा, अंग्रेजी र तालीम लिएका कामदारलाई परीक्षण प्रणालीबाट छनोट गरिनेछ । श्रम सम्झौताअनुसार सरकारी तवरबाट नेपाली श्रमिक रोजगारीका लागि इजरायल जाने उनको भनाइ छ । इजरायल रोजगारीमा जानका लागि तालीम, इजरायली भाषा र अंग्रेजीसमेत जानेको हुनुपर्ने प्रोटोकलमा स्पष्ट पारिएको छ ।

सन् २०१५ मा सरकारीस्तरमा नै कामदार आपूर्ति गर्ने विषयमा नेपाल सरकारसँग इजरायलले ‘पाइलट प्रोजेक्ट’का रूपमा श्रम सम्झौता गरेको थियो । तर, श्रम सम्झौता भएको ३ वर्षको अवधिमा नै नेपालीका लागि इजरायलको श्रम बजार बन्द भएको थियो ।

सम्झौता भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ३ वर्षमा ३ सय कामदार आपूर्ति गर्ने समझदारी भए पनि यो अवधिमा १ सय ६ जना मात्र इजरायल पुगेको विभागको तथ्यांक छ । सम्झौतामा भनिए जति कामदार पनि इजरायल आपूर्ति हुन सकेको थिएन । इजरायल जानका लागि विभागले पहिलो चरणमा गरेको आवेदनमा ८ सय १८ जनाले दरखास्त दिएका थिए । अन्तिम भाषा परीक्षामा १ सय सहभागी भएकोमा ५९ जना मात्रै छनोट भएर इजरायल पुगेका थिए ।

दोस्रो वर्ष करीब १ हजार जनाले आवेदन दिएका थिए । यसमा ६० जना अन्तिम छनोटमा परे पनि अन्त्यमा ४७ जना मात्र इजरायल पुगेको विभागको तथ्यांकमा उल्लेख छ । तेस्रो वर्ष इजरायलले कामदारको माग नै गर्न छाडेको थियो । इजरायल सरकारले ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष हुनुपर्ने शर्त राखेकाले नेपाली महिलाको आकर्षक गन्तव्य देशभित्र इजरायल परेको थियो । इजरायल जाने नेपाली कामदारले महीनाको १ लाख २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । श्रम सम्झौतामै केयर गिभरका लागि इजरायल जाने कामदारले न्यूनतम ९० हजार रुपैयाँ पारिश्रमिक तोकिएको हुन्छ । इजरायल जाने कामदारलाई स्वास्थ्य परीक्षण, बीमा हवाई खर्चसहित लगभग ९ सय ५० डलर खर्च लाग्ने गरेको छ । उनीहरूले ५ वर्षसम्म इजरायलमा रोजगारी पाउने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । हाल इजरायलमा ७ हजारभन्दा नेपाली महिला रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ । अहिले इजरायलमा जाने नेपाली श्रमिकले इजरायली नागरिकसरहको सेवासुविधा र संरक्षणसमेत पाउने प्रावधान प्रोटोकलमा राखिएको विभागका अधिकारीहरूको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)