ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२९ मेवा विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

लक्ष्य भेट्न मुश्किल

२०७७ मंसिर, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडाैं । चालू आर्थिक वर्षमा २९ दशमलव ३७ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । गत साउनदेखि हालसम्म निजीक्षेत्रका पाँच आयोजनाले सो बराबरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडेका हुन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार चार जलविद्युत् आयोजना र एक सोलार प्लान्टले चालू आवदेखि विद्युत् उत्पादन शुरू गरेका हुन् । रूपन्देहीस्थित साढे ८ मेगावाटको बुटवल सोलार प्लान्टले गत कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन शुरू गरेको हो । त्यसभन्दा अघि उक्त आयोजनाले २ हप्ता परीक्षण उत्पादन पनि गरेको थियो ।

जलविद्युत् आयोजनातर्फ भने हाँडीखोला जलविद्युत् आयोजना, नामार्जुन मादी जलविद्युत् आयोेजना, घट्टेखोला जलविद्युत् आयोजना र माथिल्लो रावाखोलाल जलविद्युत् आयोजनाले उत्पादन शुरू गरेका हुन् । सिन्धुपाल्चोकमा रहेको १ मेगावाटको हाँडीखोला जलविद्युत् आयोजनाले गत भदौ १२ गतेदेखि उत्पादन शुरू गरेको हो । कास्कीमा रहेको ११ दशमलव ८७ मेगावाटको नामार्जुन मादी जलविद्युत् आयोजनाले पनि असोज १२ गतेदेखि व्यापारिक उत्पादन शुरू गरेको प्राधिकरणले बताएको छ ।

प्राधिकरणका अनुसार खोटाङस्थित ३ मेवाको माथिल्लो रावाखोलाले पनि चालू आवदेखि नै व्यापारिक उत्पादन शुरू गरेको हो । उक्त आयोजनाले असोज ४ गतेबाट विद्युत् उत्पादन शुरू गरेको हो । यसैगरी दोलखास्थित ५ मेगावाटको घट्टेखोला जलविद्युत् आयोजनाले पनि यसै आवदेखि उत्पादन शुरू गरेको हो । प्राधिकरणका अनुसार उक्त आयोजनाले गत कात्तिक २३ गतेबाट व्यापारिक उत्पादन शुरू गरेको हो ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले यी पाँच आयोजनाबाट कुल २९ दशमलव ३७ मेगावाट विद्युत् प्रसारण लाइनमा जोडिएको जानकारी दिए । ‘प्राधिकरणका आयोजनाबाट यो वर्ष थप विद्युत् जोडिएको छैन । अहिले निजीक्षेत्रका आयोजनाबाट नै विद्युत् प्रसारण लाइनमा जोडिएको हो,’ उनले भने, ‘साथै, चालू आवमा थप आयोजनाबाट पनि विद्युत् प्रसारण लाइनमा जोडिन सक्छ ।’

प्राधिकरणले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेवा) सहित चालू आवमा १३०० मेवा विद्युत् प्रसारण लाइनमा जोड्ने लक्ष्य राखेको थियो । तर, चालू आवमा त्यो बराबरको विद्युत् प्रसारण लाइनमा जोडिने सम्भावना नरहेको प्रवक्ता तिम्सिनाले बताए । ‘कोरोना भाइरसका कारण आयोजनाहरूको निर्माण कार्य रोकिँदा यो वर्ष लक्ष्यअनुसार विद्युत् उत्पादन हुने सम्भावना अत्यन्त न्यून छ । त्यही पनि ६०० देखि ७०० मेगावाटसम्म थप विद्युत् प्रसारण लाइनमा जोडिने आशा भने छ,’ उनले भने ।

उनका अनुसार माथिल्लो तामाकोशीले आगामी माघदेखि उत्पादन शुरू गर्ने तयारी गरेको छ । उक्त आयोजनासहित निजीक्षेत्रका अन्य आयोजनाबाट चालू आवमा विद्युत् उत्पादन शुरू हुन सक्ने उनको भनाइ छ ।

विशेषगरी कोरोना नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीका कारण निर्माण सामग्री आयात हुन नसक्दा, कामदारको अभावलगायत समस्याका कारण अधिकांश आयोजनाको निर्माण पछाडि धकेलिएको छ । फलस्वरूप चालू आवमा तोकिएअनुसार विद्युत् उत्पादन नहुने प्राधिकरणको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)