ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लघुवित्तका ग्राहकलाई ब्याज अनुदान सुविधा उपयोगको व्यवस्था गरिँदै

सहुलियत कर्जा व्यावहारिक बनाउन अर्थ मन्त्रालयले पठायो राष्ट्र बैंकलाई पत्र

२०७७ मंसिर, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्न नपाएका लघुवित्त वित्तीय संस्थाको व्यावहारिक कठिनाइ सरकारले सहज बनाइदिएको छ । लघुवित्त संस्थाका ग्राहकलाई पनि ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा उपयोगको सुविधा दिलाउन सरकारले व्यावहारिक कठिनाइको गाँठो फुकाइदिएको हो । सोही अनुसार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यविधि र नेपाल राष्ट्र बैंकको नियमअनुसार बाझिएको व्यवस्था व्यावहारिक बनाउन अर्थ मन्त्रालयले केन्द्रीय बैंकलाई पत्र पठाएको छ ।

नेपाल राष्ट्र बैंकले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५’ को तेस्रो संशोधन, २०७७ गत असोज २७ गते कार्यान्वयनमा ल्याए पनि यसबाट लघुवित्त संस्थाहरू वञ्चित थिए । कार्यविधिले उक्त कर्जा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थामार्फत प्रवाह गर्न सकिने व्यवस्था गरे पनि आधारदर कायम गर्नुपर्ने व्यवस्थाले लघुवित्तका ग्राहक सदस्यले सो सुविधा लिन सकेका थिएनन् । कार्यविधि अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो आधारदरमा २ प्रतिशत मात्र थप गरेर यस्तो कर्जाको ब्याजदर निर्धारण गर्नुपर्ने हुन्छ । सोही ब्याजमा सरकारले कृषिअन्तर्गत ५ प्रतिशत र महिला उद्यमी कर्जा अन्तर्गत ६ प्रतिशत ब्याज अनुदान दिन्छ ।

यसअघि लघुवित्त बैंकर्स संघले ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा प्रवाह गर्न सहज वातावरण मिलाइदिन अर्थ मन्त्रालयमा निवेदन दिएको थियो । उक्त निवेदनमाथि अर्थमन्त्री विष्णु पौडेलले तोक लगाएपछि अर्थ मन्त्रालयको वित्त महाशाखाले आइतवार नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको महाशाखाका सहसचिव झक्कप्रसाद आचार्यले जानकारी दिए । ‘यस्तो ब्याज अनुदानको कर्जा आधारदरमा २ प्रतिशत थपेर दिनुपर्ने व्यवस्था छ । तर लघुवित्तहरूको आधारदर छैन । यसैले कानूनतः कसरी मिलाउन सकिन्छ भनेर आवश्यक प्रक्रिया मिलाउन लिखित रूपमा भनेका छौं । अब प्राविधिक रूपमा के कसरी मिलाउन सकिन्छ, राष्ट्र बैंकले हेर्छ,’ उनले भने ।

यद्यपि पछिल्लो समय लघुवित्त वित्तीय संस्थाको कर्जाको ब्याजदर अधिकतम १५ प्रतिशतभन्दा माथि हुन नपाइने सीमा तोकिएको छ । त्यसैले लघुवित्तहरूको आधारदर कायम नभए पनि अब अधिकतम सीमालाई आधार मानेर सहुलियत दिने व्यवस्था गरिएको अर्थमन्त्रीका सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार शुरूमा मन्त्रिपरिषद्बाट कार्यविधि पास भएर आउँदा नै लघुवित्तलाई पनि समेटिएको थियो, तर लघुवित्तको आधारदरको प्रचलन नभएर कार्यान्वयनमा व्यावहारिक कठिनाइ थियो । ‘यसैले क, ख र ग वर्गलाई आधारदरमा २ प्रतिशत तोकेर सहुलियतपूर्ण कर्जाको ब्याजदर निर्धारण हुन्छ भने घ वर्गलाई १५ प्रतिशत सम्मको ब्याजमा रहेर कर्जा दिन सकिनेछ,’ उनले भने, ‘अब यही दरलाई आधार मानेर अनुदान दिन सकिने भनेर अर्थ मन्त्रालयले भनेको छ ।’

अहिले ब्याज अनुदानमा पाइने सहुलियतपूर्ण कर्जा १० शीर्षकमा प्रवाह गर्ने व्यवस्था छ । तर लघुवित्तका लागि सबै शीर्षकमा अनुकूल नहुने उनको भनाइ छ । ‘सबै १० शीर्षक लघुवित्तलाई उपयुक्त हुँदैन । यसैले विशेषगरी कृषि कर्जा, महिला उद्यमशीलता कर्जा जस्ता मिल्ने कर्जा मात्र प्रयोगमा ल्याउन दिने भनिएको छ,’ उनले भने । यसबाहेक यस्तो ब्याज अनुदान  लघुवित्तबाट प्रवाह गर्न राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका अनुसार पनि मिल्नुपर्छ ।

लघुवित्तका लागि अर्को व्यावहारिक कठिनाइ पनि छ, जसमा सहुलियतपूर्ण कर्जामा एउटै व्यक्तिलाई विनाधितो शैक्षिक प्रमाणपत्रको आधारमा रू. ७ लाखसम्म दिन पाउने भनिएको छ । तर लघुवित्तले विनाधितो ५ लाखभन्दा बढी कर्जा दिन नपाउने प्रावधान छ । त्यसैले अर्थ मन्त्रालयले यस्ता सबै खाले अव्यावहारिक पक्षलाई मिलाएर लघुवित्तमार्फत ब्याज अनुदानको व्यवस्था गर्न भनेको छ ।

यसअघि सहुलियतपूर्ण कर्जा सुविधा लघुवित्तका ग्राहकले पनि पाउनुपर्ने भन्दै नेपाल लघुवित्त बैंकर्स संघले पटक पटक अर्थ मन्त्रालयमा मौखिक तथा लिखित प्रस्ताव समेत गरेको थियो । अहिले अर्थ मन्त्रालयले व्यावहारिक कठिनाइको गाँठो फुकाउने काम गरेकाले अब राष्ट्र बैंकबाट यसबारे व्यवस्था हुने संघका  अध्यक्ष वसन्तराज लम्सालको अपेक्षा छ । यो व्यवस्था कार्यान्वयनमा आएपछि लघुवित्तका ग्राहकलाई धेरै राहत मिल्ने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)