ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३ महीनामा जीवन बीमाको रू. १२ अर्बभन्दा बढी दाबी भुक्तानी

२०७७ पौष, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना महामारीका बीच पनि चालू आर्थिक वर्षको प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरूले बीमितलाई रू. १२ अर्ब ३० करोड १६ लाख दाबी भुक्तानी दिएका छन् । बीमा अवधि सकिएको, मृत्यु दाबी र बीमा पोलिसीको सुविधाबापत उक्त रकम दाबी भुक्तानी भएको सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीको प्रथम त्रैमासिक वित्तीय विवरणले देखाएको हो ।

हाल कोरोनाको त्रासका कारण अधिकांश क्षेत्रका सेवा अवरुद्ध भएका छन् । तर, जीवन बीमा कम्पनीले भने कठिन परिस्थितिमा पनि आफ्नो सेवा चुस्त रूपमा प्रवाह गरेका छन् ।

जीवन बीमामा विशेषगरी बीमा अवधि सकिएको र मृत्यु दाबी बापतको भुक्तानी बढी हुन्छ । यस्तै, कतिपय बीमा पोलिसीमा अवधि नसकिँदै पनि २–३ वर्षको अन्तरमा निश्चत दाबी रकम भुक्तानीको सुविधा हुन्छ ।

प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले कोरोना त्रासका बीच पनि दाबी भुक्तानीमा कुनै समस्या आउन नदिइएको बताए । पूर्णरूपमा बन्दाबन्दी हुँदा समेत प्रविधिको प्रयोग गरेर दाबी भुक्तानी दिइएको उनको भनाइ छ । ‘बीमा अवधि सकिएको र प्रडक्ट अनुसार हुने भुक्तानी सिस्टमले नै गर्छ । त्यसमा कागजपत्र जुटाउनु पर्दैन । कागजपत्र आवश्यक हुनाले मृत्यु दाबी भने केही झन्झटिलो हुन्छ,’ उनले भने, ‘हामीले मृत्यु दाबी भुक्तानी पनि सहज ढंगले गर्दै आएका छौं । समग्रमा कोरोनाको त्रासका बीच पनि दाबी भुक्तानीमा समस्या हुन दिएका छैनौं ।’

विशेषगरी यो अवधिमा कम्पनीहरूले अनलाइन माध्यमबाट दाबी भुक्तानी दिने गरेका छन् । ई–सेवा, फोनपे जस्ता विद्युतीय भुक्तानी प्रदायकको माध्यमबाट दाबी भुक्तानी गरिएको भट्टराईले बताए । ‘कोरोना महामारीका कारण बीमितलाई पनि आर्थिक समस्या परेको हुन सक्छ । त्यसले हामीले दावी भुक्तानीमा ढिलाइ गरेका छैनौं,’ उनले भने ।

युनियन लाइफ इन्स्योरेन्का सीईओ मनोजकुमार लालकर्णले पनि कोरोना महामारीकै कारण दाबी भुक्तानीमा कुनै समस्या नआएको बताए । कतिपय अवस्थामा बीमितको घरमै गएर दाबी भुक्तानी दिने गरिएको उनको भनाइ छ । दाबी भुक्तानी गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ । उक्त अवधिमा कम्पनीले रू. ३ अर्ब ६९ करोड १९ लाख दाबी भुक्तानी गरेको छ । नेपाल लाइफ सबैभन्दा बढी जीवन बीमा व्यवसाय गर्ने कम्पनी समेत हो । कम्पनीमा बीमा गर्नेको संख्या अन्यको तुलनामा धेरै भएकाले पनि दाबी रकम बढी भएको हो ।

यस्तै, बढी भुक्तानी गर्ने दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपाल रहेको छ । सो अवधिमा कम्पनीले २ अर्ब ७५ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । त्यस्तै तेस्रोमा रहेको एशियन लाइफ इन्स्योरेन्ले १ अर्ब ६७ करोड १ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अन्य सबै कम्पनीको दाबी भुक्तानी १ अर्ब रुपैयाँभन्दा कम रहेको सम्बन्धित कम्पनीहरूको वित्तीय विवरणमा उल्लेख छ । नयाँ जीवन बीमा कम्पनीतर्फ भने युनियन लाइफ अगाडि छ । कम्पनीले रू. ३८ करोड ४६ लाख दाबी भुक्तानी गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)