ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निक्षेप र कर्जामा थप सुधार : एकै महीनामा निक्षेप ४६ अर्ब र कर्जा ४९ अर्ब बढ्यो

२०७७ पौष, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । गत कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेप संकलन ऋणात्मक भए पनि मङ्सिरमा भने सुधार आएको छ । निक्षेपसँगै कर्जा प्रवाहमा समेत वृद्धि भएको छ ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार मङ्सिरसम्ममा २७ ओटा वाणिज्य बैंकको निक्षेप संकलन ४६ अर्ब रुपैयाँले वृद्धि भएको छ । मङ्सिरसम्ममा कुल निक्षेप संकलन रू ३६ खर्ब ९४ अर्ब पुगेको छ ।

गत कात्तिकमा यस्तो निक्षेप ६ अर्बले ऋणात्मक थियो भने कुल निक्षेप रू. ३६ खर्ब ४८ अर्ब रुपैयाँमा सीमित थियो । असोजमा १ खर्ब ५९ अर्ब रुपैयाँले निक्षेप संकलन वृद्धि भएर ३६ खर्ब ५४ अर्ब पुगेको थियो । कर्जाको ब्याजदर घटेपछि पछिल्लो समय बैंकहरूले क्रमशः निक्षेपको ब्याजदरसमेत घटाएका थिए ।

निक्षेपको ब्याजदरमा संकुचन आएसँगै निक्षेप संकलनसमेत ऋणात्मक हुन पुगेको हुनसक्ने आकलन गरिन्छ । तर, नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल भने निक्षेपको ब्याजदर घटेर संकलन घटेको नभई विप्रेषण कम आएको र आयात बढेकाले निक्षेप घटेको बताउँछन् । ‘अहिले पनि मूल्य वृद्धि (मुद्रास्फीति) को दर ४ प्रतिशतको हाराहारीमा छ । बैंकहरूले प्रदान गर्ने साधारण बचतको ब्याजदर मूल्य वृद्धिकै हाराहारीमा हुनुपर्ने भनिएको छ । अधिकांश बैंकहरूको साधारण बचतको ब्याजदर ४ प्रतिशतभन्दा बढी छ । सानीमा बैंककै साढे ४ प्रतिशत छ । कतिपयले ५ प्रतिशतसम्म दिएका छन्,’ उनले भने ।

मङ्सिरसम्म आइपुग्दा निक्षेपसँगै कर्जामा पनि क्रमशः सुधार भएको संघले बताएको छ । संघका अनुसार मङ्सिरमा कर्जा प्रवाह ४९ अर्ब रुपैयाँ वृद्धि हुँदा कुल ३१ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ । यो वृद्धिदर कात्तिकको तुलनामा बढी हो । गत कात्तिकमा रू. १७ अर्बले कर्जा प्रवाह बढेको थियो । यस अवधिसम्म कुल कर्जा रू. ३० खर्ब ५२ अर्ब रुपैयाँमा सीमित रहेको नेपाल बैंकर्स संघले बताएको छ ।

संघका अध्यक्ष दाहाल तिहारपछि आर्थिक गतिविधिहरू एकदमै बढेको बताउँछन् ।

उनका अनुसार अहिले प्रतीतपत्र (एलसी)हरू पनि धमाधम खुलिरहेका छन् र बैंकहरूमा कारोबार पनि क्रमशः बढिरहेको छ ।
 
चालू आवको शुरूदेखि नै विगतका वर्षहरूको जस्तो नयाँ कर्जा प्रवाह उत्साहजनक रूपमा हुन सकेको छैन । कोभिडले अस्तव्यस्त भएको होटेल, उद्योग व्यवसायलगायतबाट कर्जाको माग नहुँदा बजारमा २ खर्बभन्दा बढी तरलता रहेको छ ।

बजारमा अधिक तरलताका कारण कर्जा पूँजी निक्षेप अनुपात (सीसीडी) खुकुलो छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आइतवारसम्म बैंकहरूको सीसीडी ७२ दशमलव १७ प्रतिशतसम्म रहेको छ । जबकी बैंकहरूले कुल निक्षेपको ८५ प्रतिशतसम्मको कर्जा लगानी गर्न पाउने व्यवस्था छ ।

बजारमा अधिक तरलता भएकै कारण बैंकहरूबीच हुने अन्तरबैंक कर्जाको ब्याजदर धेरै न्यून छ । पछिल्लो समय अन्तरबैंक भारित औसत ब्याजदर शून्य दशमलव १० प्रतिशत रहेको केन्द्रीय बैंकले बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)