ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रपतिबाट अध्यादेश जारी : सत्तारूढ दलभित्रै आलोचना, प्रतिपक्षको आपत्ति

२०७७ पौष, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सत्तारूढ दल नेकपाभित्र जारी विवादले नयाँ रूप लिएको छ । पार्टी र मन्त्रिपरिषद्का सदस्यहरूसँग सल्लाह नै नगरी सरकारले संवैधानिक परिषद्को बैठकसम्बन्धी अध्यादेश ल्याएपछि विवाद झनै चर्केको हो । मंगलवार विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्न ल्याइएको अध्यादेश जारी गर्नुभएको हो ।

अध्यादेशमा परिषद्को बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साविकको व्यवस्थालाई संशोधन गर्दै तत्काल बहाल रहेका बहुमत सदस्यलाई गणपूरकको संख्या मान्ने गरी अध्यादेश ल्याइएको छ । यसअनुसार प्रधानमन्त्रीसहित तीन जनाको उपस्थितिमा संवैधानिक परिषद्को बैठक सम्पन्न भएको छ । बैठकमा संवैधानिक आयोगहरूमा नियुक्तिबारे छलफल भए पनि कुनै निर्णय नभएको बताइएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख विपक्षी दलका नेता, प्रधान न्यायाधीश र उपसभामुख सदस्य रहने व्यवस्था छ । हाल उपसभामुख पद रिक्त छ । प्रधानमन्त्री ओलीको कार्यशैलीविरुद्ध सचिवालयदेखि स्थायी समितिसम्म विवाद भइरहँदा अध्यादेश ल्याएपछि पार्टीभित्रको संकट थप गहिरिएको विश्लेषण गर्न थालिएको छ ।

मंगलवार जारी अध्यादेशअनुसार परिषद्ले प्रधानमन्त्रीसहित तीन जना सहमत भएमा निर्णय गर्न सक्नेछ । यसअघि परिषद्सम्बन्धी ऐनमा पेश भएका प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुनुपर्ने व्यवस्था थियो भने सर्वसम्मति कायम हुन नसकेमा सो विषयमा निर्णय गर्न अध्यक्षले पुनः अर्को बैठक बोलाउनुपर्ने व्यवस्था थियो । दोस्रो बैठकबाट पनि निर्णय हुन नसकेमा बहुमतीय प्रक्रियाबाट निर्णय गर्न सक्ने प्रावधान थियो ।

सरकारले ल्याएको अध्यादेशका विरुद्ध सत्तारूढ पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेताहरूले विरोध गरेका छन् । अध्यक्ष दाहालले सरकारले ल्याएको अध्यादेशबारे असन्तुष्टि व्यक्त गर्दै अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् । उनले राजनीतिक दलहरूले संसद् अधिवेशन बोलाउन माग गरिरहेका बेला सरकारले बदनियतपूर्ण तरीकाले अध्यादेश ल्याएकाले तत्काल फिर्ता गर्नुको विकल्प नरहेको प्रतिक्रिया दिएका छन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत पार्टीहरूले विरोध गरेका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारद्वारा ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेको छ ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले तत्काल अध्यादेश ल्याउनैपर्ने अवस्था नरहेको अवस्थामा संसद् बैठक बोलाउन छाडेर सरकारले अध्यादेश ल्याउनु गलत भएको बताए । उनले जुनसुकै उद्देश्यका लागि अध्यादेश ल्याइएको भए पनि सरकारको नियतमा आशंका गर्ने ठाउँ रहेकाले कांग्रेसले अध्यादेशको विरोध गर्ने बताए । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले अध्यादेशमार्फत गणतन्त्रको चीरहरण गर्न लागेको टिप्पणी गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले मुलुकलाई स्वेच्छचारितातर्फ धकेल्ने बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)