पुस १, पर्वत । पर्वतको जलजला गाउँपालिकाले औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । संघीय सरकारले जलजला गाउँपालिकामा औद्योगिक ग्राम स्थापना गर्न अनुमति दिएपछि गाउँपालिकाले तयारी थालेको हो । गाउँपालिकाका अनुसार माझफाँटमा औद्योगिक ग्राम स्थापनाका लागि जग्गा व्यवस्थापन गरी बोलपत्र आह्वान भइसकेको छ ।
माझफाँटमा २५० रोपनी सार्वजनिक जग्गा व्यवस्थापन गरी औद्योगिक ग्राम बनाउन बोलपत्र आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । शर्माका अनुसार चालू आर्थिक वर्षमा संघीय सरकारले औद्योगिक ग्राम स्थापनाका लागि ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उक्त बजेटबाट चालू आर्थिक वर्षमा कम्पाउण्ड वाल, गेट र समथर जग्गा निर्माणका लागि बोलपत्र आह्वान गरिएको होे । पुस मसान्तसम्ममा ठेक्का सम्झौता गरी निर्माण थालिने जानकारी उनले दिए ।
गाउँपालिका भित्र रहेका साना तथा घरेलु उद्योग स्थापनाका लागि सहज वातावरण बनाउन संघीय सरकारले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने योजना अगाडि सारेको हो ।
स्थापना हुन लागेको औद्योगिक ग्राममा हेल्थपोष्ट, चमेना गृह, कार्यालय भवन, प्रदर्शनी हल, सुरक्षा गार्डको भवन, अग्नि नियन्त्रण, बैंक लगायतको व्यवस्था गरिनेछ । साथै १७ ओटा प्लट निर्माण गरिनेछ । सडक, पेटी क्षेत्र, शौचालय, फोहोर पानीको शुद्धीकरण क्षेत्र र पानी ट्याङ्की लगायत पूर्वाधार निर्माण हुनेछ । यस्तै औद्योगिक ग्रामभित्र लोडिङ अनलोडिङ क्षेत्र, पार्किङ र हरियाली क्षेत्रको समेत निर्माण गरिने बताइएको छ ।
‘औद्योगिक ग्राम स्थापना भएसँगै साना तथा घरेलु उद्योग स्थापना गर्न चाहने व्यक्ति जग्गाको कारण खुम्चिनुपर्ने छैन,’ प्रमुख प्रशासकीय अधिकृत शर्माले भने, ‘औद्योगिक ग्राम स्थापना गर्ने सरकारको राम्रो कार्यक्रम हो । यसले गाउँपालिकाभित्र साना तथा घरेलु उद्योग सञ्चालन गर्ने वातावरण तयार गर्दछ ।’ स्थानीय खाद्य, वन तथा कृषिजन्य उत्पादनमा औद्योगिक ग्रामले जोड दिने शर्माले बताएका छन् ।