ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मङ्सिरमा ६०० केजी सुन खपत

२०७७ पौष, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । मूल्य उच्च हुँदा पनि मङ्सिर महीनामा नेपाली बजारमा ६०० केजी नयाँ सुन खपत भएको छ । मूल्य बढ्दा र कोरोना भाइरसको महामारीका कारण पछिल्लो १० महीनासम्म नेपाली सुनचाँदी बजार नराम्रोसँग प्रभावित भएको थियो । तर, विवाहको सिजनका कारण मङ्सिरमा भने सुनको खपत उच्च रहेको पाइएको छ ।

नेपाल बैंकर्स संघका अनुसार मङ्सिरमा ६०० केजी सुन व्यवसायीहरूले उठाएका छन् । साथै, बैंकबाट लिएको उक्त परिमाणको सुन शतप्रतिशत नै खपत भएको व्यवसायीहरूले बताएका छन् ।

नेपालमा सुन आयात गरेर बजारमा आपूर्ति गर्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्रा छ । त्यसमा नेपाल सुनचाँदी व्यवसायी महासंघले पनि आवश्यक समन्वय गर्छ । मङ्सिरलाई नै लक्षित गरेर ५०० केजी सुन आयात गरिएको बैंकर्स संघको प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए । साथै, गत कात्तिकमा पनि ४६५ केजी सुन खपत भएको उनको भनाइ छ ।

‘कोरोना महामारी र मूल्य बढ्दा व्यवसायमा कमी आएपछि सुनको मागमा कमी रहेको थियो । तर, कात्तिक र मङ्सिरमा भने सुनको माग उच्च देखिएको छ,’ उनले भने, ‘अभैm पनि हामीसँग १७१ केजी सुन स्टक छ । साथै, थप ३०० केजी सुन आयात गर्ने तयारी गरेका छौं ।’ त्यसपछि भने बजारको अवस्था हेरेर सुनको आयात गरिने उनको भनाइ छ ।

विवाहमा सुनका गरगहना लगाउने, सुनका गरगहना आदानप्रदान गर्ने प्रचलन छ, फलस्वरूप मङ्सिर, माघ, वैशाखजस्ता विवाहको सिजनका महीनामा सुनचाँदीको कारोबार उच्च हुने गर्छ ।

यसपटक मङ्सिरमा भएको सुनको खपत भने अघिल्लो वर्षभन्दा कम हो । सामान्यतया पहिला मङ्सिरमा १२०० केजीभन्दा बढी सुन खपत हुने गथ्र्याे । त्यसको तुलनामा अहिले ५० प्रतिशत मात्रा खपत भएको पाइन्छ । विषम परिस्थितिमा भएको सुनको खपतलाई सकारात्मक रूपमा लिनुपर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

‘मूल्य पनि बढेको थियो । त्यसमाथि विवाहको लगन पनि कम थियो,’ उनले भने, ‘यस अवस्थामा भएको व्यवसायलाई हामीले एकदम सकारात्मक रूपमा लिएका छौं ।’
पहिला मङ्सिरमा दैनिक ४० केजीभन्दा बढी सुन खपत हुन्थ्यो । अहिले भने २० देखि २५ केजीसम्म सुन खपत भएको शाक्यको भनाइ छ ।

मूल्य बढेका कारण गतवर्षदेखि नै सुनचाँदीको व्यवसाय नराम्रोसँग प्रभावित भएको थियो । यद्यपि, गतवर्षको मङ्सिर र माघमा भने सुनको कारोबार राम्रो भएको थियो । त्यसपछि कोरोना भाइरसको महामारीका कारण सुनचाँदी बजार ठप्प थियो । तीज, दशैं, तिहारजस्ता चाडपर्वमा पनि सुनचाँदीको व्यवसाय अत्यन्त न्यून रहेको थियो । तर, मङ्सिर महीनामा भने सुनचाँदी बजार चलायमान भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।

अबका दिनमा भने सुनचाँदीको कारोबार कस्तो हुन्छ भनेर यकिन गर्न नसकिने शाक्यको भनाइ छ । ‘सुनको मूल्यमा पनि स्थिरता देखिएको छैन । त्यसमाथि विवाहको लगन पनि छैन,’ उनले भने, ‘अब आगामी वैशाखमा मात्र सुनचाँदी व्यवसाय राम्रो हुन सक्ने देखिन्छ ।’

चीन र अमेरिकाबीचको व्यापार युद्धका मूल्य बढ्दा गतवर्षको साउनदेखि नै व्यवसाय ठप्प थियो । त्यसमाथि कोरोना भाइरसको महामारी शुरू भएपछि सुनको कारोबार थप प्रभावित भएको थियो ।

नेपालमा सुनचाँदीको मूल्य अन्तरराष्ट्रिय बजारअनुसार नै निर्धारण हुन्छ । गतवर्षको असारसम्म नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६० हजार रुपैयाँ थियो । तर, अमेरिका र चीनको व्यापार युद्धका कारण अन्तरराष्ट्रिय बजारमा नै मूल्य बढेपछि त्यो ८५ हजारसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको सुनको मूल्य कोरोनाको महामारी शुरू भएपछि पुनः बढेको थियो ।

नेपालमा सुनको मूल्य प्रतितोला १ लाखभन्दा माथि गएको थियो । यसरी मूल्य बढेपछि यसको कारोबार घटेको थियो । हाल नेपाली बजारमा सुनको मूल्य प्रतितोला रू. ९३ हजारको हाराहारी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)