पर्वत । पर्वतको फलेवास नगरपालिकाले बाँझो जमिन उपयोग गर्न किसानलाई प्रोत्साहन गर्न थालेको छ । चालू वर्षको नीति तथा कार्यक्रममा नगरपालिकाले प्रतिफलमा आधारित अनुदान दिने घोषणा गरेको थियो ।
कृषि उत्पादन बढाउन गत जेठमा घोषणा गरिएको कार्यक्रमका अभियानमा सहभागीलाई रकम दिइएको हो ।
दुई वर्षभन्दा धेरै समय बाँझो रहेको जमिनमा खेती लगाएका किसानलाई वडामै पुगेर जनप्रतिनिधि र कर्मचारीले अनुदान रकम वितरण गरे । नगरपालिकाले घोषणा गरेबमोजिमको प्रतिरोपनी २ हजार रुपैयाँका दरले नगरका सबै वडामा पुगेर अनुदान दिइएको नगरप्रमुख पदमपाणि शर्माले बताए । ‘स्थानीय सरकारले किसानलाई सम्मान गरेको हो,’ शर्माले भने, ‘प्रोत्साहनकै कारण यो वर्ष नगरमा खाद्यान्न आयात घट्ने विश्वास छ ।’
नगरभित्रका ९७ किसानले बाँझो जमिनमा खेती गरेको उनले बताए । नगरपालिकाले ५ सय २५.५ रोपनी जग्गामा विस्तार भएको खेतीबापत १० लाख ५१ हजार रुपैयाँ वितरण गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालका अनुसार ११ वडामा दुई वर्षभन्दा बढी समय बाँझो रहेको ५ सय २५ रोपनी जमिनमा धान तथा कोदो खेती विस्तार
भएको छ ।
यसबाट ८५ मेट्रिक टन धान र ५ मेट्रिक टन कोदो उत्पादन भएको उनले बताए । रिजालका अनुसार नगरमा यो वर्ष धान उत्पादन १२ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्ष ५ हजार ४ सय ३३ मेटन धान उत्पादन भएकामा यो वर्ष ६ हजार ९६ टन पुगेको रिजालले जानकारी दिए । फलेवास नगरपालिकाको वडा– ३ शंकरपोखरीमा सबैभन्दा बढी २ सय ५० रोपनी बाँझो जमिनमा उत्पादन बढेको छ ।
सोही वडाका वडाध्यक्ष अर्जुनबहादुर केसीले घरघरै पुगेर किसानलाई खेतीका लागि उत्साहित गरिएको बताए ।
नगरको कृषि शाखाका अनुसार वडा १ मा ११, २ मा १३, ३ मा २ सय ५० रोपनी बाँझो जमिनमा खेती विस्तार भएको छ । त्यस्तै, वडा– ४ मा ४८, ५ मा ५५, ६ मा ३, ७ मा ३६, ८ मा १७, ९ मा ११.५, १० मा ५० र ११ मा ३१ रोपनीमा खेती विस्तार भएको छ । बाँझो जमिन हराभरा बनाउन र बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न उत्पादनमुखी कार्यक्रम ल्याइने नगरप्रमुख शर्माले बताए ।
नगरपालिकाले पशु फर्म सञ्चालन गरेका किसानलाई दूध बिक्रीबापत प्रतिलिटर २ रुपैयाँका दरले अनुदान वितरण गरिसकिएको पशु प्राविधिक प्रताप पौडेलले जानकारी दिए ।