ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय : अढाई वर्षपछि आठौं सिनेट सम्पन्न

२०७७ पौष, ५  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आठौं सभा (सिनेट बैठक) सम्पन्न भएको छ । करीब अढाई वर्षपछि विश्वविद्यालयको सिनेट बैठक शुक्रवार काठमाडौंमा सम्पन्न भएको हो ।

विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा सम्पन्न सिनेटले चालू आर्थिक वर्षको बजेट पारित गर्नुका साथै महŒवपूर्ण निर्णय गरेको विश्वविद्यालयका प्रवक्ता गोविन्द वल्लभ पन्तले बताए । उनका अनुसार आर्थिक वर्ष २०७७÷७८ का लागि १ अर्ब ३ करोड रुपैयाँको बजेट सिनेटबाट स्वीकृत भएको छ, जसमा पूँजीगत खर्च ३५ करोड र चालू खर्च ६८ करोड रहेको छ । साथै सभाले आर्थिक वर्ष २०७४÷७५ देखि गत आर्थिक वर्षसम्मको बजेट र खर्च समेत पारित गरेको छ ।

विगतमा विश्वविद्यालय पदाधिकारी विहीन हुनुका साथै आन्तरिक समस्याका सिनेट बस्न ढिलाइ भएको थियो । विश्वविद्यालयको सातौं सिनेट २०७५ भदौ ३१ गते बसेको थियो  ।
शुक्रवारको सभाले विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन र इन्जिनियरिङ भवनको तला थप गर्ने, विश्वविद्यालयका पदाधिकारी एवं कर्मचारीका लागि आवासगृह र विद्यार्थीका लागि छात्रावास निर्माण गर्ने निर्णय समेत गरेको छ । साथै मास्टर अफ इन्जिनियरिङ इन कन्स्ट्रक्सन प्रोजेक्ट म्यानेजमेन्ट, बीई कम्प्युटर इन्जिनियरिङ र जटीबुटी सम्बन्धी अध्ययन कार्यक्रम सभाले स्वीकृत गरेको छ ।

सिनेटपछि विश्वविद्यालयले गति लिने अपेक्षा गरिएको छ । ‘लामो समयपछि विश्वविद्यालयको सभा सम्पन्न भएको छ,’ सिनेटमा सहभागी विश्वविद्यालय सभा सदस्य एवं मानविकी तथा समाजशास्त्रका डीन मुकुन्द कलौनीले भने, ‘सभा नबस्दा धेरै काम गर्न पाएको थिएनौं, अब कार्यालयका गतिविधिले तीव्रता पाउनेछन् ।’

सिनेटले सुदूरपश्चिमाञ्चलमा विद्यावारिधि (पीएचडी)को कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार गोविन्द विष्टले हिउँदे सिजनबाटै एमफिल र पीएचडीको कक्षा शुरू गरिने बताए । उनका अनुसार पीएचडीको अध्ययन व्यवस्थापन, शिक्षा र मानविकी संकायमा सञ्चालन गरिनेछ । सिनेटका निर्णयको ड्राफ्ट तयार भइरहेकाले कुलपतिको हस्ताक्षरपछि सार्वजनिक गरिने उनले जानकारी दिए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)