ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुस १५ देखि १७ सम्म‘पोखरा सडक महोत्सव’ हुने

२०७७ पौष, ५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि पौड्याल

कास्की । कोभिड १९ का कारण संकटमा परेको पर्यटन व्यवसायलाई चलायमान बनाउन अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा पुस १५ देखि सडक महोत्सव हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराको आयोजनामा पुस १५ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा २२औं पोखरा सडक महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइने पोखरामा हालै पत्रकार सम्मेलन गरेर आयोजकले बताएको छ ।

कोभिड–१९ का कारण बन्द रहेका होटल, रेष्टुरेन्ट लगायत सम्बद्ध क्षेत्रलाई गतिशील बनाउन ३ दिनका लागि महोत्सव गर्न लागिएको रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । ‘स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउनुको विकल्प छैन,’ अध्यक्ष बरालले भने, ‘महोत्सवको आयोजनाबाट पोखरा र यस आसपासको पर्यटन व्यवसाय खुला गर्न योगदान हुनेछ ।’

विगतका वर्षहरूमा महोत्सव ५ दिनसम्म आयोजना गरिँदै आएको भए पनि यस वर्ष विभिन्न पक्षसँगको सल्लाह र सुझाव अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै छोटो समय तय भएको उनको भनाइ छ ।

विगत ९ महीनादेखि पर्यटनसम्बन्धी कुनै पनि गतिविधि नभएको, कतिपय व्यवसायी विस्थापित समेत भइरहेको अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी ‘पोखरा खुला छ’ भन्ने सन्देश दिन स्थानीय प्रशासनको स्वीकृतिमा महोत्सव गर्न लागिएको महोत्सव संयोजक वसन्त गौतमले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले एक हप्ताभित्र पोखराका प्रमुख पर्यटकीय क्षेत्रहरू खुल्ने जानकारी दिए । बिहीवारदेखि पोखराको फेवातालमा रहेको प्रसिद्ध तालवाराही मन्दिर खुलेको र अन्य मन्दिर, गुफा, भ्यू टावर लगायत पर्यटकीय स्थालहरू समेत क्रमशः खुलाउन सरोकारवाला सकारात्मक भएको उनको भनाइ छ ।

विगतमा २१ वर्षदेखि निरन्तर पुस १३ देखि १७ सम्म ५ दिनका लागि सञ्चालन गरिँदै आएको महोत्सव यसपालि छोट्याएर ३ दिनमात्र गर्न लागिएको हो । महोत्सव विगतमा झैं शहीदचोकदेखि हल्लनचोकसम्मको करीब ३ किमी क्षेत्रफलमा हुनेछ । यस वर्षको महोत्सवमा कोमागाने पार्कमा कुनै पनि कार्यक्रम आयोजना नगरिने र दिउँसो ३ बजेदेखि राति १० बजेसम्म सडकमा यातायातका साधन नचलाई सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । त्यसैगरी लाइभ ब्याण्डको कार्यक्रम यस वर्ष हुनेछैन । विभिन्न खेलकुदका कार्यक्रमलाई भने निरन्तरता दिने आयोजकले जानकारी दिएको छ ।

यसैबीच, पश्चिमाञ्चल होटल संघले आगन्तुकलाई होटलका कोठामा ५० प्रतिशत छूट दिने घोषणा महोत्सव अवधिसम्म पनि कायम राख्ने जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)