पर्वत । पर्वतको महाशिलामा ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरू भएको छ । रोजगारीको खोजीमा वर्षेनि गाउँपालिकाबाट पलायन दर बढ्दै गएको र पछिल्लो समय कोभिड–१९ को प्रभावले गाउँ फर्केका युवा बेरोजगार बनेको अवस्थालाई ध्यानमा राख्दै गाउँपालिकाले यस्तो कार्यक्रम शुरू गरेको हो ।
गाउँमै स्वरोजगार सृजना गर्ने र सम्बन्धित पेशाबाट आत्मनिर्भर बनाउने उद्देश्यले चालू आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । ‘विदेशमा रहेका युवायुवतीलाई गाउँपालिकामा फर्काई स्थानीयस्तरमै स्वरोजगार उद्यमी बनाउन यो कार्यक्रम शुरू गरिएको हो,’ उनले भने । गाउँपालिकाले बनाएको कार्यविधिअनुसार पछिल्लो तीन वर्षमा विदेश बसेर फर्केर आएका युवायुवती समावेश हुन सक्नेछन् ।
यसले बढ्दो पलायन र बेरोजगारी कम गर्ने र गाउँपालिकामा रहेको गरीबीको दर घट्दै जाने गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले बताए । कार्यक्रममा सहभागी हुन चाहने युवायुवतीले पछिल्लो तीन वर्षभित्र विदेशमा बसेको प्रमाण खुल्ने कागजातको प्रतिलिपि, आफूले गर्न चाहेको व्यवसायको प्रस्तावना, ऋण लिने वित्तीय संस्थाको सहमतिपत्र गाउँपालिकामा पेश गर्नुपर्ने बताइएको छ ।
त्यसैगरी गाई, भैंसी न्यूनतम तीन वा सोभन्दा माथि, कुखुरा ५०० वा सोभन्दा माथि, बंगुर ३० वा सोभन्दा माथि, फलफूल तथा तरकारी खेती तीन रोपनी क्षेत्रफल वा माथि हुनुपर्नेछ । पालिकाले अधिकतम रू. ३ लाखको १२ प्रतिशतको दरले अधिकतम २ वर्षको अवधिका लागि ब्याज रकम अनुदान भुक्तानी दिने भएको छ । उक्त कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रू. १० लाख विनियोजन भएको गाउँपालिकाका प्रवक्ता उच्चैले जानकारी दिए । यस वर्ष ३० देखि ५० युवायुवतीलाई यो कार्यक्रममा समावेश गर्नेगरी आवेदन माग गरिएको समेत उनले बताए ।
यसैबीच गाउँपालिकाले गत बिहीवार एक सूचना जारी गर्दै पेशा व्यवसाय गर्न इच्छुक युवायुवतीलाई आवेदन दिन माग गरेको छ । विशेषगरी कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती यो कार्यक्रमबाट लाभान्वित हुने पालिकाको विश्वास छ । विदेश गएका तर गतिलो कमाइ गर्न नसकेकाहरू समेत यो कार्यक्रमपछि गाउँ फर्कने अपेक्षा गरिएको छ ।
गाउँपालिकाले यसअघि ‘एक घर एक रोजगार’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोअन्तर्गत ६०० भन्दा बढीले रोजगारीसमेत पाइसकेका छन् । स्वयंसेवकको रूपमा रहेका उनीहरूले गाउँपालिकाभित्र सडक, साना सिँचाइ, स्वास्थ्य, शिक्षा, खानेपानी लगायत क्षेत्रमा काम गर्दै आएका छन् । उक्त कार्यक्रम पनि रोजगारविहीन विपन्न नागरिकको जीवनस्तर सुधारमा महŒवपूर्ण बनेको गाउँपालिकाका अध्यक्ष पौडेलले बताए ।