ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध संयुक्त प्रतिवाद गर्ने तीन दलको निर्णय

२०७७ पौष, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । प्रतिपक्ष दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टीको बैठकले प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको तीन दलको बैठकले प्रतिनिधिसभा विघटनको निर्णय अलोकतान्त्रिक र असंवैधानिक भएको ठहर गर्दै त्यसको संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।

सरकारको कदम असंवैधानिक रहेकाले कानूनी र राजनीतिक दुवै हिसाबले सरकारविरुद्ध संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, रामचन्द्र पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्कालगायत सहभागी थिए । त्यस्तै जसपा अध्यक्ष महन्थ ठाकुर, शरतसिंह भण्डारी र जितेन्द्र सोनल पनि बैठकमा उपस्थित थिए ।

यसैबीच, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा जीवितै रहेको बताएका छन् । सोमवार बानेश्वरमा आफू पक्षका सांसदहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गर्दैमा प्रतिनिधिसभा नमर्ने दाबी गरे ।

घेराबन्दीमा पारेपछि प्रतिनिधिसभा विघटन गर्न बाध्य : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई पार्टीभित्रैबाट घेराबन्दीमा पारेपछि प्रतिनिधिसभा विघटन गर्न आफू बाध्य भएको बताउनुभएको छ । देशवासीमा नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार घेराबन्दीमा परेपछि बाध्यतावश प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्नुपरेको जिकिर गर्नु भयो ।

संसद् विघटनको घटना अप्रत्यासित र आकस्मिक समेत नभएको बताउँदै प्रधानमन्त्री ओलीले यसको कारण नेकपाकै आफूविरोधी नेताहरू भएको आरोप समेत लगाउनु भयो । ओलीले मंगलवार केन्द्रीय कमिटीको बैठक आह्वान गर्नु भएको छ । उहाँले मंगलवार बिहान ९ बजे बालुवाटारमा बस्नेगरी केन्द्रीय कमिटीको बैठक आह्वान गर्नु भएको हो । यसअघि आइतवार बसेको नेकपाको स्थायी कमिटीको बैठकले मंगलवार दिउँसो १ बजे बैठक बस्ने निर्णय गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)