काठमाडौं । तपाईंले कोइला, काठको धूलो आदिबाट बनेको ब्रिकेटको आगो ताप्नुभएको होला अथवा यसरी बनेको ब्रिकेट देख्नुभएको होला । तर, अब तपाईं बैंकनोटबाट बनेको ब्रिकेटको आगो चाँडै ताप्न पाउनुहुनेछ ।
नेपाल राष्ट्र बैंकले काम नलाग्ने बैंकनोटलाई भट्टीमा नष्ट गर्दै आएकोमा अब धुल्याएर ब्रिकेट बनाउने भएको छ ।
केन्द्रीय बैंकले वातावरणमैत्री अत्याधुनिक मेशिन बैंकनोट स्रेडिङ एन्ड ब्रिकेटिङ सिस्टममार्फत बैंकनोटलाई धुल्याई ब्रिकेट बनाउने भएको हो ।
राष्ट्र बैंकले उक्त मेशिन राख्न केन्द्र तथा प्रादेशिक कार्यालयमा छुट्टै भवनसमेत बनाउन लागेको छ । यसैक्रममा कास्कीको पोखरामा रहेको कार्यालयमा उक्त मेशिन राख्ने भवनको जग शिलान्यास गत शुक्रवार गरेको छ ।
राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलका अनुसार नोट जलाउनु वातावरणमैत्री नभएकाले अब यस्ता नोटलाई रिसाइकल गर्न सकिने गरी कटिङ गरेर ब्रिकेट बनाउने मेशिन ल्याउन लागिएको हो । ‘यसअघि काम नलाग्ने नोटलाई जलाउने चलन थियो । अब यसबाट बनाइने ब्रिकेट बजारमा पाइनेछ । यसअघि धूलो बनाएर नाश गरिन्थ्यो भने अब ब्रिकेट बनाइनेछ,’ उनले थप्दै अभियानसँग भने, ‘यस्तो मेशिन छुट्टै राख्न भवनको शिलान्यास थालिएको छ । केन्द्रका लागि थापाथलीस्थित कार्यालयमा यस्तो मेशिनका लागि भवन बनाइन्छ भने मोफसलमा सुर्खेतबाहेकका नेपालगञ्ज, विराटनगर, धनगढी, पोखरा, वीरगञ्ज, पर्सालगायत कार्यालयमा पनि काम नलाग्ने नोटलाई ब्रिकेट बनाउन मेशिन राखिनेछ ।’
राष्ट्र बैंकले उक्त मेशिन भने ल्याइसकेको छैन । तर, यसका लागि पूर्वतयारी गरेको बताएको छ । सहप्रवक्ता पोखरेलले उक्त मेशिनका लागि अनुमानित रू. ६० करोड पर्ने जानकारी दिए । भवन बनाएपछि मात्र मेशिन ल्याउन टेन्डर आह्वान गर्ने उनले बताए ।
हालसम्म पुरानै शैलीमा नोट नष्ट गर्दै आएको नेपाल राष्ट्र बैंकले आधुनिक ‘डिस्ट्रक्शन’ मेशिन आवश्यक भएको औंल्याएको थियो । नोटलाई जलाउँदा वातावरण प्रदूषण हुने भएकाले यस्तो वातावरणमैत्री आधुनिक मेशिन ल्याउन लागेको हो । लामो समयदेखि नै जोखिम कम र सहज हुने यस्तो मेशिन ल्याउने भनिँदै आएकोमा अहिले सफल भएको राष्ट्र बैंकको भनाइ छ ।
पछिल्लो समय काम नलाग्ने नोट बढी संकलन हुन थालेको केन्द्रीय बैंकले बताएको छ । नोट नष्ट गर्ने व्यवस्था संशोधन भएकाले पनि यस्ता नोट बढेको हो । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले आर्थिक वर्ष (आव) २०७४/७५ मा ६५ अर्ब ४० करोड ५७ लाख रुपैयाँ बराबरको संकलित पुरानो नोट जलाई नष्ट गरेको थियो । सबै दरका नोट गरेर २८ करोड १२ लाख २५ हजार थान जलाइएको थियो ।
आव २०७३/७४ मा २५ अर्ब ७५ करोड रुपैयाँ र आव २०७२/७३ मा २६ अर्ब २७ करोड रुपैयाँ बराबरका झुत्रा नोट नष्ट गरिएको थियो ।
राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक नोट धुल्याउने नियमावली, २०७४’ मा पुराना र झुत्रा नोट धुल्याउने (नष्ट) व्यवस्थामा थप परिमार्जन गरेको छ । परिमार्जित व्यवस्थाअनुसार नोट धुल्याउने क्रममा ५ सय र १ हजार दरका नोटका सबै बन्डल पुनः गन्ती गरेर दुवैतर्फको नम्बरमा पर्ने गरी पन्चिङ मेशिनले चारओटा प्वाल पार्नुपर्छ । केन्द्रीय बैंकले डिजाइन मेटिएको, च्यातिएको, विकृत वा ५० प्रतिशतभन्दा बढी भाग नभएको नोटलाई चलनचल्तीका लागि अयोग्य ठहर्याई त्यस्ता नोट नष्ट गर्ने अधिकार मुद्रा व्यवस्थापन विभागलाई
दिएको छ ।
नोट छापिएर बैंकिङलगायत माध्यमबाट बजारमा गएपछि फेरि त्यो नोट राष्ट्र बैंकमै फर्कन्छ । राष्ट्र बैंकले केरमेट भएका, च्यातिएका, आगोले खाएका आदि पुराना नोटहरूको तथ्यांक राख्ने (खिच्ने) गर्छ । त्यस्तो नोटको सट्टामा नयाँ नोट बजारमा पठाउँछ । कतिपय च्यातिएर वा आगलागी भएर वा पूर्णरूपमा काम नलाग्ने भएका नोटहरू राष्ट्र बैंकमा फर्किंदैनन् । बैंकमा नफर्केका यस्ता नोटहरू नेपाली बजारमा चलायमान भइरहेको मान्ने गरिन्छ । पुराना काम नलाग्ने नोटहरू नष्ट गरेपछि प्रिफेक्स नम्बरको आधारमा पुनः सोही नम्बरको नोट निष्कासन गर्ने गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसरी पाइन्छ च्यातिएको नोटको सट्टामा नयाँ नोट
हरेक नोट सफा राख्न, नच्यात्न, केरमेट नगर्न राष्ट्र बैंकले पटकपटक अनुरोध गर्दै आएको छ । च्यातिएका नोटहरूलाई सर्वसाधारणले बेवारिसेझैं फालेका हुनसक्छन् । तर, राष्ट्र बैंकले कतिपय अवस्थामा डढेको वा च्यातिएको नोट भए पनि नम्बरसहित त्यसको २ तिहाइ भाग भएको खण्डमा राष्ट्र बैंकबाट सो बराबर सफा नोट भुक्तानी पाउन सकिने व्यवस्था छ ।