ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४ महीनामा ४५ हजार नेपाली विदेशिए

२०७७ पौष, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । स्वदेशमा नै रोजगारीको अवसर नपाउँदा कोरोना संकटमा पनि नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । सरकारले कोरोनाका कारण विदेशबाट फर्केका नेपाली कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना गर्न नसक्दा कोरोना त्रासकै बीच पनि नेपाल फर्किएका र नेपालमै रहेका युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका हुन् ।

आर्थिक वर्षको पहिलो चौमासमा ४५ हजार १८२ जना कामदार विदेशिएका छन् । त्यसमा २५ हजार ९३१ जना कामदार पुनः श्रमस्वीकृति अर्थात् बिदामा आएर श्रमगन्तव्य मुलुकमा गएका हुन् । बाँकी १९ हजार २५१ जना कामदार भने नयाँ श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

वैदेशिक रोजगार विभागका प्रवक्ता टीकाराम नेउपानेले रोजगारका सम्बन्धमा सरकारबाट विशेष कार्यक्रम नआउँदा कोरोना संकटमा पनि नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएको बताए । ‘कोरोना विपद् शुरू हुँदा विदेशमा नेपालीहरूले रोजगार गुमाउन थालेपछि सरकारले नेपालमै रोजगारी दिने आश्वासन देखायो । तर, त्यसमा उपलब्धि केही भएन,’ उनले भने, ‘त्यसैले यस्तो विषम परिस्थितिमा पनि नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।’ नेपाल फर्किएका र यहाँ भएका कामदार पनि पूर्ण रूपमा विदेशिने उनको अनुमान छ ।

‘अहिले मुलुक राजनीतिक अस्थिरतामा छ । यो अवस्थामा सरकारबाट थप कार्यक्रम आउन सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यसैले अधिकांश युवा विदेशिन बाध्य हुने देखिन्छ । पछिल्लो ट्रेन्डले यही देखाएको छ ।’

यो संख्या गत आवको सोही अवधिको भन्दा कम हो । तर, कोरोना संकटमा पनि यतिका कामदार विदेशिनुलाई महत्त्वका साथ हेरिएको वैदेशिक रोजगार विभागको भनाइ छ ।

तथ्यांकअनुसार चालू आवको पहिलो चौमासमा गत आवको यही अवधिको दाँजोमा बैदेशिक रोजगारमा जाने कामदारको सख्या ७१ दशमलव ८६ प्रतिशतले घटेको छ ।

गत आवको कात्तिकसम्म नेपालबाट कुल १ लाख ६० हजार ५७० जना कामदार बैदेशिक रोजगारमा गएका थिए । समीक्षा अवधीमा भने ४५ हजार १८२ जना कामदार विदेशीएका छन् । त्यस्तै पुनः श्रम स्वीकृति लिएर जाने कामदारको सख्या ६७ दशमलव ९ प्रतिशतले घटेको छ । गत आवको समिक्षा अवधिमा ८० हजार ८९० जना कामदारहरू पुनः श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा गएका थिए । चालू आवको समिक्षा अवधिमा २५ हजार ९३१ जना कामदार पुनः श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा गएका छन् ।

विदेशीने नयाँ कामदारको संख्या ७५ दशमलव ८ प्रतिशतले घटेको छ । गत आवको कात्तिकसम्ममा ७९ हजार ६८० जना कामदार नयाँ श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा गएका थिए । यस बर्ष भने भने १९ हजार २५१ जना नयाँ कामदार बैदेशिक रोजगारमा गएका छन् ।

कोरोनाको प्रभावले विश्व अर्थतन्त्र र श्रमगन्तव्य मुलुकको अर्थतन्त्र पनि संकटमा जाने देखिएको थियो । त्यो अवस्थामा रोजगारदाता कम्पनीहरूले कामदार कटौती गरेका थिए । कामदारको माग पनि शुन्य थियो भने नेपाल सरकारले पनि श्रम स्वीकृति दिन स्थगन गरेको थियो । फलस्वरूप विदेशिक रोजगारीका जानेको संख्यामा कमी आएको हो ।

सरकारले कोरोना संक्रमणलाई दृष्टिगत गर्दै गत फागुन २८ गते वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति दिन बन्द गरेको थियो । असार १४ गते पुनः श्रमस्वीकृति दिन सुरू गरेको सरकारले भदौ १७ गते नयाँ श्रमस्वीकृतिसमेत खुला गरेको थियो । त्यसयता बैदेशिक रोजगारमा जाने कामदारको सख्या बढ्दो रहेको छ ।

सरकारले श्रमस्वीकृति दिन स्थगन गरेपछि ३ लाख २८ हजारभन्दा बढी बिदामा आएका नेपालीहरू नेपालमै रोकिएका थिए । साथै, नयाँ भिषा आएर पनि श्रमस्वीकति नपाउँदा १ लाख १५ हजार कामदार वैदेशिक रोजगारमा जान रोकिएका थिए । श्रमस्वीकृति दिन शुरू गरेपछि उनीहरू वैदेशिक रोजगारीमा जान लागेको व्यवसायीहरूको भनाइ छ ।

कतिपय मुलुकबाट नयाँ कामदारको माग पनि आउन थालेको छ । कतार, जापानलगायतको मुलुकबाट पनि कामदार माग आउने प्रक्रियामा छ । त्यसैले अबका दिनमा बैदेशिक रोजगारमा जाने कामदारको संख्या उच्च मात्रामा बढ्ने विभागको अनुमान छ ।

विभागले नयाँ कामदारहरूलाई ‘नो अब्जेक्शन सर्टिफिकेट’ (एनओसी) लिएर श्रमस्वीकृति दिने गरेको छ । छुट्टीमा आएका कामदारले पनि एनओसी माग्ने गरेको विभागका प्रवक्ता टीकामणि नेउपानेले बताए । ‘अहिले कोरोना भाइरसका कारण विदेशमा रहेका नेपालीको रोजगारी नै संकटमा छ । त्यो अवस्थामा यताबाट जाने कामदारहरूले समस्या भोग्नुपर्ने हुनसक्छ,’ उनले भने, ‘त्यसैले एनओसी ल्याउनेलाई मात्र श्रमस्वीकृति दिने गरेका छौं । पुनः श्रमस्वीकृतिमा यो अनिवार्य भने गरिएको छैन ।’ बिदामा आएको ६ महीनाभन्दा बढी भएका कामदारले भने एनओसी ल्याउनुपर्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)